News 24 Television
ईमेज टेलिभिजनमा व्यवस्थापन परिवर्तन, कार्यकारी अध्यक्षमा श्रेष्ठ र प्रबन्ध निर्देशकमा अग्रवाल

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन भएको छ ।

विगत २७ वर्षदेखि आर.के. मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन आगामी २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आउने भएको हो । सो च्यानलसँगै ईमेज एफएम ९७.९ मेघाहर्ज र अनलाइन प्लेटफर्म ईमेजखबरडट कम पनि नयाँ व्यवस्थापनको अधीनमा रहनेछन् ।

नयाँ व्यवस्थापनमा सञ्चार उद्यमी तथा कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् भने अर्का सञ्चार उद्यमी चेङ अग्रवाल प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनेछन् । साथै, ईमेज च्यानलको सुरुवाती चरणदेखि आबद्ध जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोमबार लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आयोजित विशेष समारोहका बीच अध्यक्ष आर.के. मानन्धरले नयाँ व्यवस्थापनलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले युवा सञ्चार उद्यमीहरूको काँधमा जिम्मेवारी सुम्पन पाएकोमा सन्तोष व्यक्त गरे ।

कार्यकारी अध्यक्ष श्रेष्ठले ईमेज च्यानलको स्थापित छवि र गरिमालाई संरक्षण गर्दै संस्थालाई अझ मजबुत र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरे । पत्रकारिताको प्रारम्भिक शिक्षा नेपालको पुरानो संस्थागत प्रकाशन गृह ‘कामना पब्लिकेसन’बाट प्राप्त गरेको उल्लेख गर्दै उनले डेढ दशकभन्दा बढीको छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गौरवमय इतिहासलाई समेटेर संस्थालाई नयाँ उचाइमा पु¥याउने अठोट व्यक्त गरे ।

नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनको दर्शक घटेको नभई हेर्ने माध्यम मात्र परिवर्तन भएको धारणा राखे । समाचार र समाचारजन्य सामग्री सशक्त बनाउनु पर्नेमा जोड दिँदै उनले प्रविधिसँग टेलिभिजनलाई अझ मजबुत ढंगले जोड्नुपर्ने आवश्यकता औंल्याए ।

व्यवस्थापनको यो परिवर्तनसँगै अब ईमेज समूह अन्तर्गत छापा माध्यम पनि समावेश हुने भएको छ । २०४१ साल मंसिर १५ गतेदेखि निरन्तर प्रकाशनमा रहेको नेपालको पहिलो संस्थागत प्रकाशन गृह ‘कामना प्रकाशन गृह’ ईमेज समूहको भगिनी संस्थाको रूपमा आबद्ध भएको छ ।

टेलिभिजन, रेडियो, अनलाइन र छापा माध्यममार्फत समग्र सञ्चार क्षेत्रमा अझ सशक्त र प्रभावकारी उपस्थिति जनाउने प्रतिबद्धता नयाँ व्यवस्थापनले व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update