
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति देखिएको बताए । उनले घुस डिल काण्डमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्र नपुग्ने बताए ।
उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ । यतिले मात्र हुदैन । अरु मन्त्री पनि पोलिएका छन् । यो विषयमा निष्पक्ष छानविन होस् । र दोषिउपर शक्त कारबाही यथाशिघ्र होस् । तर अझैपनि एउटा गम्भिर प्रश्न अनुत्तरित नै छ सभामुख महोदय अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको यत्रो लोभ किन हो ? छानविन समिति कहिले बन्ने हो ?’
सांसद नेपालीले गृहमन्त्रीमाथि निरन्तर प्रश्न उठिरहेको भए पनि नैतिकता नदेखाएको टिप्पणी गरे ।