News 24 Television
सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्यो : एमाले सांसद गिरी

काठमाडौँ । नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन्। उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समिक्षा गर्नुपर्ने बेला भएको बताए । 

उनले सशुासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौति दिन थालेकोतर्फ सचेत गराएका छन् ।

गिरीले भने, ‘हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपथ्र्यो हामीले त्यस्तो काम गर्न सकेका छैनौं । यो सत्य हो । यसमा सिंगो सदनले आत्मसमिक्षा गरौं । देशमा विद्यमान राजनीतिक दलहरु पनि यसमा समिक्षा गरौं । हामीले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्यायौं । सकरार परिवर्तनहरु गर्यौं । तर हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ । हामीले ल्याएका परिवर्तनहरुलाई पनि चुनौती दिने अवस्थाहरु सिर्जना भएका छन् । यसबारे सरकार र सबै पार्टीहरुले जिम्मेवारपूर्वक सोच्नुपर्छ भन्ने म ठान्दछु ।’    

जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update