
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा सक्रिय भएसँगै एमालेमा केपी ओलीको एकलौटी तोडिएको छ । विद्याको सक्रियतासँगै एमाले भित्र ओलीको दबदबा कमजोर बन्दै छ भने ११ औँ महाधिवेशनबाट पनि अध्यक्षमा नै दोहोरिने चाहना धक्का लाग्ने सम्भावना पनि बढ्दो छ । अहिले ओलीको बाटोमा विद्या चुनौतीको रुपमा उभिएकी छन् । पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने उनको आकांक्षा प्रकट भएसँगै ओली माथि दबाब बढ्दो छ ।
दबाब बढाउँदै विद्या !
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले असार १४ गते जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको दिन, एमाले सदस्यता नविकरण गरेको जनकारी गराइन् । उनले त्यसै दिन अब सक्रिय राजनीतिमा फर्किएको पनि घोषणा गरिन् ।
उनको यही घोषणासँगै एमाले भित्र उनलाई दिइने जिम्मेवारीबारे बहस जारी छ । हुन त त्यसैबेला एमाले उपाध्यक्ष इश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपयुक्त जिम्मेवारी दिइने बताएका थिए । तर, अहिलेसम्म उनको जिम्मेवारीलाई लिएर एमाले भित्र औपचारिक छलफलसम्म भएको देखिदैन । उल्टो ओली पक्षीय एमाले नेता पूर्व राष्ट्रपतिको राजनीतिक सक्रियतालाई न्यूनीकरणको मनस्थितिमा देखिन्छन् । विधान महाधिवेशन नजिकिएसँगै विद्या भण्डारीको जिम्मेवारीबारे भने जिज्ञासा सर्वत्र छ । यही जिज्ञासाको जवाफमा भण्डारीले आफ्नो जिम्मेवारीको जिम्मा पार्टी नेतृत्वलाई छाडिन् ।
अहिले पनि उनको जिम्मेवारी अनिश्चित नै छ । उनी कुन जिम्मेवारीसहित सक्रिय हुन्छन् अहिले नै यकिन भइसकेको छैन । तर, विद्याले आफ्नो सक्रियतालाई भने थप बढाउँदै लगेकी छन् । उनको सक्रियता अब मदन भण्डारी फाउण्डेशनबाटै हुने देखिन्छ । फाउण्डेशनबाटै विचार विर्मश गर्दै आफ्नो प्रभावलाई विस्तारको संकेत उनले गरेकी छन् । यद्यपि, तत्कालको लागि भने विधान महाधिवेशन मै धेरैको नजर छ ।
नजरमा विधान महाधिवेशन !
अहिले धेरैको नजर एमालेको आगामी विधान महाधिवेशनमा छ । भन्न त एमालेले नेतृत्वको लागि राष्ट्रिय महाधिवेशन र नीतिको लागि विधान महाधिवेशन भन्ने गरेको छ । तर, अहिले विधान नै शक्ति परिक्षणको थालो हुने धेरैको आकलन छ । ओली फेरि अध्यक्षमा दोहोरिनको लागि ७० वर्षीय उमेरहद र २ कार्यकालको व्यवस्था हट्नु पर्ने देखिन्छ । तर, विद्या पक्षीय नेता कार्यकर्ता उक्त प्रावधानको पक्षमा देखिएका छन् । जबकी ओलीको निष्कर्ष ७० वर्षीय उमेर हद फेल भइसकेको भन्ने छ ।
ओलीलाई नै सहयोग पुग्ने विचार एमाले महासचिव शंकर पोखरेलले पनि व्यक्त गरिरहेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले फेसबुक स्टाटस मार्फत् दुई कार्यकालको व्यवस्था नेकपा एमालेको महाधिवेशनबाट र ७० वर्षे उमेरहद सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटीबाट हटाइएको दाबी गरेका छन् । राष्ट्रिय महाधिवेशन अघि वसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनवाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको र उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गरिएको उनको दाबी छ । त्यसमा केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रुपमा रहेको भन्दै सोही संशोधित विधानको व्यवस्था अनुरुप डा.पुष्प कंडेल तेश्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको पनि उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् ।
त्यस्तै, ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीवाट हटाइएको उनले उल्लेख गरेका छन् ।
तर, विद्याको पक्षमा देखिने गरि वकालत गरिरहेका कर्णबहादुर थापा भने महासचिव शंकर पोखरेलको बुझाइसँग सहमत छैनन् । साथै, एमाले कै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि उमेर हद हटाउन नहुने पक्षमा देखिएका छन् ।
विधान महाधिवेशनले के निर्णय गर्छ, त्यसले आगामी नेतृत्व कस्तो आउँछ भन्ने पनि संकेत गर्ने छ । साथै, ओली विधान महाधिवेशन मार्फन् निषेध रोज्छन् वा निकास दिन्छन्, त्यो प्रतिक्षा कै विषय छ ।