News 24 Television
सत्ताको मोलले थिचिदै देउवा ! एमालेमा घुस ! कांग्रेसीमा उकुसमुकुस ! 

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसलाई एमालेसँगको सत्ता सहकार्य कठिन बनिरहेको छ । ठूला प्रतिस्पर्धी दलको सरकारमा सहकार्य विरलै हुने घटना भएपनि उनीहरुले भनिरहेको विशेष परिस्थितिलाई सामान्य गर्ने सपना साकार हुन सकेन । सरकार निर्माणको मुख्य बुँदामा चलिरहेको विलम्वदेखि सरकारको कार्यशैलीका कारण पनि कांग्रेसलाई तनाव देखिन थालेको छ । 

नेपाली कांग्रेसलाई सभापति शेरबहादुर देउवाले एक्लैको निर्णयले एमालेसंगको सत्ता सहकार्यमा त लगे तर, यसको समाधान भने कठिन बन्ने देखिन्छ । सरकारमा गइसकेपछि कांग्रेस नेताहरुले धेरै अपेक्षा गरिरहेका थिए । तर, अहिले नेताहरुमा निराशा समेत छाउने खतरा बढेको देखिन्छ । सरकारमाथिका पेचिला प्रश्नकै कारण अहिले कांग्रेसमा उकुसमुकुस पनि देखिन्छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भनिरहेका छन, सरकारका राम्रा–नराम्रा कामको जिम्मेवारी दुबै पार्टीले लिनुपर्छ । 

कांग्रेसले यस्तो दाबी गरिरहेपनि सत्ता सहकार्य लामो समय जाला ? धेरैले शंका भने गरिरहेका छन् । यस्तोमा एमालेले मन्त्री फेर्ने गरि कांग्रेससंग प्रस्ताव गरिरहेको बताइन्छ । तर, कांग्रेसले एकाधबाहेकका मन्त्रीलाई फिर्ता बोलाउन नसकिने गरि जवाफ दिएको बताइन्छ । मन्त्रीहरु अत्यन्तै विवादीत बन्दा समेत बोकेर हिड्नुपर्ने बाध्यताकाबीच सरकारका प्रवक्ताले पनि मन्त्री फेर्ने प्रधानमन्त्री केपी ओलीको चाहनालाई सांकेतिक रुपमा खुलाएका छन् । 

मन्त्री फेर्न चाहने प्रधानमन्त्री केपी ओलीको चाहनामा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत होलान ? कठिन देखिन्छ । कांग्रेसको आन्तरिक राजनीतिमा आएको बदलाव र शक्ति सन्तुलन नै बिग्रिने खतराका बाबजूत देउवाले मन्त्रीलाई यथावत राखेर शक्ति सञ्चय गर्नतर्फ लाग्ने कतिपयको शंका छ । यद्यपी सरकारको एक वर्षे कार्यकालमा भने कांग्रेस सन्तुष्ट हुन सकेको छैन् । कांग्रेसले सत्ता समिकरणको बचाउ पनि मन नलगाएरै गरिरहेको छ । कांग्रेसले सरकारको एक वर्षलाई मिश्रित भनिरहेको छ । 

बाइटः डा. प्रकाशशरण महत, प्रवक्ता, नेपाली कांग्रेससरकार निर्माण गर्ने, सत्ता सञ्चालन गर्ने र सेवा प्रवाहमा देखाउने व्यवहारमा जनताले प्रत्यक्ष हेरिरहेको भन्दै कांग्रेस सहमहामन्त्री जीवन परियार पनि सरकारको काममा सन्तुष्ट देखिन्नन् । 

कांग्रेसमा सत्ता सहकार्यलाई लिएर चर्को असन्तुष्टी र मतभेद चलिरहेकै बेला देउवाले भने मौनता साँध्दै आएका छन् । पार्टी अनुशासन पालना नगरिएको भन्दै चित्त समेत दुखाउने गरेका देउवाले ओली नेतृत्वको सरकारलाई दिएको साथ टिकाई राख्न सक्लान ? 

चासो भने देखिन्छ । अझं, कांग्रेस नेताहरुले कहिलेसम्म कांग्रेस सत्ता निर्माणको सहयोगी बन्ने हो भन्दै प्रश्न समेत गरिरहेका छन् । यस्तोमा सरकारका मन्त्रीहरुको पनि एकपछि अर्को गर्दै ठूला घोटाला प्रकरण सार्वजनिक भइरहनु र घुस लिएको आरोप चर्को बन्दै जानुलाई पनि कांग्रेसको सत्ता सहकार्यको जोडलाई थप जटिलतातर्फ लिएको देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update