
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लिएर राजनीतिक वातावरण गर्माएको छ । उपनिर्वाचन नजिकिँदै गर्दा यो क्षेत्र चुनावी प्रतिस्पर्धाको ‘हट स्पट’ बनेको छ । उम्मेदवारहरू घरदैलोमा पुग्नेदेखि राजनीतिक दलहरू उम्मेदवारको कानुनी र सामाजिक प्रमाणसहितको फाइल मागिरहेका छन् ।
रुपन्देही –३ फेरि एकपटक देशकै राजनीतिक केन्द्रबिन्दु बनेको छ । आउँदो कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा यहाँको चुनावी तापक्रम तीव्र बन्दै गएको छ ।
सत्ता गठबन्धन, प्रमुख विपक्षी दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मैदान तताइरहेका छन् । जुनसुकै दल होस्, जितको समीकरण बनाउन मतदाताको ढोका ढकढक्याउने होड सुरु भइसकेको छ ।
खासगरी मुलधारका पुराना राजनीतिक दलहरुमा भने केन्द्रसँगको पहुँच तथा आन्तरिक भागबण्डा र खर्चको आधारमा टिकट सुनिश्चित हुने गरेको छ । तर नयाँ उदाएका दलहरु फरक तरिकाले उम्मेदवार छनोट प्रक्रिया अपनाउन थालेका छन् । त्यस मध्येको एक दल हो रास्वपा, जसले उम्मेदवार छनोटमै अनौठो शैली अपनाएको छ । उसले नैतिकता र स्वच्छ छविको दुहाइ दिँदै कानुनी र सामाजिक प्रमाणसहितको फाइल माग्दैछ ।
रास्वपाका उम्मेदवार मापदण्डमा के छ त ?
– गम्भीर आपराधिक वा नैतिक पतन हुने मुद्दामा दोषी ठहर नभएको,
– फौजदारी मुद्दामा सजाय भोगेको भए एक वर्षको ‘पवित्र’ अवधी बिताइसकेको,
– अन्य दलसँग आबद्ध नभएको,
– पार्टी मूल्यप्रति प्रतिबद्ध र पारदर्शी व्यक्ति भएको,
तर, यी मापदण्डले राजनीति सफा गर्छन् कि पात्र फाल्ने बहाना बन्दछ भन्ने प्रश्न उक्त पार्टी भित्रै उठ्न थालेको छ ।
स्वतन्त्र उम्मेदवारको नयाँ स्वर !
३३ वर्षीय सन्तोष गिरी, तिलोत्तमा नगरपालिका–६ निवासी, बालेन साहको शैलीबाट प्रेरित हुँदै चुनावी मैदानमा छन् । विगत सात दिनदेखि उनी स्थानीयहरूसँग घुलमिल हुँदै ‘नयाँ विकल्प’ को सन्देश बाँड्दैछन् ।
भैरहवाका उद्योगी अजयकुमार गुप्ता र बुटवल मोतिपुरका सामाजिक अभियन्ता लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यदि दलहरूले आफ्ना पुराना अनुहारहरूमात्र दोहो¥याए भने यी नयाँ अनुहारहरूले युवापुस्ताको समर्थन बटुल्ने सम्भावना बलियो देखिन्छ ।
दलहरूको आन्तरिक होड : अनुहारभन्दा ठूलो दबाव
भुटानी शरणार्थी प्रकरणमा मुछिएका काँग्रेसबाट पूर्वमन्त्री बालकृष्ण खाँणको नाम पुनः चर्चामा छ । तर, मुद्दा काठमाडौं अदालतमा विचाराधीन हुँदा उनी आफैं अघि सर्न सक्ने सम्भावना कमजोर छ । विकल्पका रूपमा भरतकुमार शाह वा प्रमोदकुमार यादवको चर्चा भए पनि अन्तिम निर्णय खाँणको इशारामै हुने आँकलन गरिएको छ ।
त्यस्तै एमालेका पूर्वसांसद तथा केन्द्रीय सदस्य खिमलाल भट्टराई उम्मेदवारीका लागि लगभग निश्चित देखिन्छन् । ओलीको आशीर्वाद, क्षेत्रीय सक्रियता र पार्टीको संगठनमा पकडले उनलाई बलियो दाबेदार बनाएको छ । यता, राप्रपाले गौरव बोहरा, प्रज्वल बोहरा, स्वाती थापा, सागर प्रताप राणा, सन्त विक्रम शाही, दिलीप कुमार मल्लिकाको नाम सिफारिस गरेको छ ।
गौरव, प्रज्वल र स्वाती दिवंगत नेता दीपक बोहोरा परिवारकै सदस्य हुन् । परिवारकै सदस्यलाई अघि सार्ने तयारी भएको चर्चा चलिरहेको छ । तर परिवारकै ३ जना नै आकांक्षी हुँदा एक जनालाई छनोट गर्न पनि सकस पर्ने देखिएको छ ।
मत गणित र विगतको परिणाम
२०७९ को निर्वाचनमा क्षेत्र नं. ३ मा मत परिणाम यस्तो थियोः
– नेपाली कांग्रेसः २० हजार २ सय ७८
– एमालेः १६ हजार ९ सय ८६
– रास्वपाः १४ हजा १ सय ५४
– राप्रपाः ९ हजार १ सय ८३
– नागरिक उन्मुक्ति पार्टीः ६ हजार
– बाँकी दलहरू (माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नेकपा एस, जनमुक्ति, हाम्रो नेपाली पार्टी आदि)ः झण्डै २० हजार मत
– क्षेत्रमा कुल मतदाता संख्याः १ लाख ३९ हजार ७ सय ६४
– सक्रिय मतदाताः झण्डै ९० हजार
यो तथ्यांकले कुनै पनि एक दलको स्पष्ट बहुमत नरहेको देखाउँछ । मत विभाजन र गठबन्धनको स्वरूपले जित हारको अन्तर निर्धारण गर्नेछ ।
विगतका विजेता
– २०४८ः कांग्रेसका रामकृष्ण ताम्राकार
– २०५१ः एमालेका धनपति उपाध्याय
– २०५२ (उपनिर्वाचन)ः एमालेका घनश्याम भुसाल
– २०५६ः पुनः कांग्रेसका ताम्राकार
– २०६४ः कांग्रेसका बालकृष्ण खाँण
– २०७०ः राप्रपाका दीपक बोहरा
– २०७४ः एमालेका घनश्याम भुसाल
– २०७९ः राप्रपाका दीपक बोहरा (एमाले समर्थनमा)
को बलियो ?
हालको राजनीतिक समीकरणले एमालेका खिमलाल भट्टराईलाई अग्रपंक्तिमा देखाउँछ । पार्टीको संगठनात्मक शक्ति, क्षेत्रीय सक्रियता र स्पष्ट नेतृत्वले उनलाई अन्य उम्मेदवारभन्दा केही अगाडि देखाएको छ ।
– यदि राप्रपा र रास्वपाबीच गठबन्धन भयो भने प्रज्वल बोहराको उम्मेदवारी बलियो बन्नेछ । यो चर्चामा पनि छ ।
– कांग्रेसले नयाँ र स्वच्छ छवि भएको उम्मेदवार अघि सार्न सकेन भने आन्तरिक विवादले गम्भीर असर पार्न सक्छ ।
– एमालेको उम्मेदवारले संगठन र भोट बैंकको बलमा अग्रता लिने सम्भावना देखिन्छ ।
– मधेश केन्द्रित सात दलहरूले साझा उम्मेदवार ल्याए भने झण्डै २० हजार मत एकीकृत हुनेछ, जसले सम्पूर्ण समीकरण उल्ट्याउन सक्छ ।
– नयाँ अनुहारले चर्चा कमाउने देखिन्छ ।
अंकगणित र मनोविज्ञानको संघर्ष
राजनीति केवल मतको अंकगणित होइन, जनभावनाको मनोविज्ञान पनि हो । उम्मेदवारको व्यक्तिगत छवि, दलको संगठनात्मक हैसियत र जनतासँगको सम्बन्धले अन्तिम परिणाम निर्धारण गर्नेछ । रुपन्देही–३ को उपनिर्वाचन अब त्रिकोणात्मक भिडन्त त बन्ने नै भयो एमाले, कांग्रेस र राप्रपाबीच । तर, स्वच्छ छवि बोकेका स्वतन्त्र उम्मेदवार, युवा मन जित्ने रास्वपाको प्रस्तुति, र मधेशवादी दलहरूको रणनीति निर्णायक बन्न सक्छ ।