News 24 Television
यति ‘ठग’ साम्राज्यमा नेताका अनेक रुप ! कागजमा ‘झुट’ भयंकर ‘लुट’ !

काठमाडौं । यति समूहले देखाएको राज्य दोहनमा अन्तरिम सरकारले कारबाहीको छनक देखाएपछि धेरैले भ्रष्टाचार नियन्त्रणमा राम्रो कामको अपेक्षा गर्न थालेका छन् । यति समूहले राष्ट्रिय निकुञ्जदेखि सरकारी जग्गामा कौडीको भाउमा गरेको रजाईविरुद्ध सरकार सक्रिय हुँदा राजनीतिक नेतृत्व समेत तानिने खतरा बढ्न थालेको छ । 

सरकारी सम्पत्तिमा होस वा सार्वजनिक सम्पत्ति नै, यति समूहको साम्राज्य अत्यन्तै बलियो देखिन्थ्यो । तत्कालीन राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यको नाममा रहेको गोकर्ण रिसोर्ट उनीहरुको हत्याकाण्डसंगै नेपाल ट्रष्टको नाममा आइपुग्यो । 

नेपाल ट्रष्टको स्थापना र यसको उद्देश्य भनेकै पुर्वराजा–रानीको सम्पत्ति खोज्ने र राष्ट्रियकरण गर्ने थियो । तर, यसरी नेपाल ट्रष्टको नाममा गएको गोकर्ण रिसोर्टमा पनि यति समूहले दबदबापूर्ण कब्जा जमायो । तत्कालीन नेपाल ट्रष्टका सह–सचिव शरदराज विष्टले यसको सेयर यति समूहमा सार्न सकिने सुझाव दिए । 

त्यसपछि बन्यो गोकर्ण रिसोर्टलाई ट्रष्टको नामबाट यतिको नाममा ल्याउने कामको शुरुवात । उसोतः तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको नाममा रहेको रिसोर्ट एलएम सुभिर ब्रदर्सले चलाउँदै आएपनि यो सेयर यतिलाई बेचिएको थियो । 

यो रिसोर्टको सेयर किनबेचको कानूनी अड्चन र विवाद समेत लामो समय अल्झिएपछि ट्रष्टले अध्ययन समिति बनाएर यतिको जिम्मा लगाउने विषयलाई माहोल मिलाएको थियो । जसमा ब्रदर्शको नाममा ५१ प्रतिशत सेयर थियो, यसबाफत यतिले ब्रदर्शलाई ५० लाख डलर बुझाउने सहमति समेत बनेको थियो । गोकर्णमा यतिले यसरी कौडीको भाउमा जग्गा लिएको चर्चा चल्ने गर्छ । गोकर्ण धार्मिक दृष्टीकोणले समेत महत्वपूर्ण क्षेत्र रहेकाले यहाँ स्थानीयसंग समेत विवाद पर्ने गरेको देखिन्छ । 

सगरमाथामा रोचक कब्जा !

गोकर्णमात्रै नभएर यति समूहले सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत अनाधिकृत कब्जा जमाएको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा समेत यति समूहले ठूलो बद्मासी गरेको थियो । यसमा अख्तियारले समेत अनुसन्धान गरेपनि राजनीतिक दबाबका कारण स्थिति सामसूम पारिएको थियो । 

जसमा तत्कालीन मालपोतका अधिकृत माओवादी हमलामा मारिएपछि उनको नामको नक्कली हस्ताक्षर गरेर सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यति समूहले कब्जा गरेको अख्तियारले अनुसन्धानमा पत्ता लगाएको   थियो ।  

१० मंसिर ०५८ मा माओवादीले सोलुखुम्बुमा हमला गर्दा तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि मृत्यु भएको थियो । राती हमलामा मारिएका भीमबहादुरले मृत्यु भएको दिनको दिउँसो जग्गा नामसारी गरिदिएको फेला परेको थियो । 

यहि तथ्यले नै यति समूहले गरेको बद्मासी खुलेको थियो । नक्कली कागजात बनाउन यति समूहका जायन्ट स्व. आङछिरिङ शेर्पा र उनका भाईले निकुञ्जको जग्गा कब्जा गरेका थिए । यो जग्गा फिर्ताको प्रयास धेरै चलेपनि सम्भव भने हुन सकेन । कब्जा गरिएको जग्गामा यति समूहले ‘कोङदे भ्यू रिसोर्ट निर्माण गरेको छ । यसमा युनेस्कोले समेत विश्व सम्पदा सूचीबाट हटाउने चेतानी दिदै आएको थियो ।

बन्दै बनेन पाथीभरा केवलकार

पाथीभरा केबलकार निर्माणका लागि समेत यति समूहले आँखा लगाएको थियो । केबलकार निर्माणका लागि इजाजत लिएपनि अन्तिममा यो समूहले आईएमई समूहका अध्यक्ष समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सेयर बेचेको थियो । जबकी केबलकार निर्माण गर्न बनेको कानूनमै सेयर बेच्न नपाइने प्रावधान थियो । 

यसलाई समेत यति समूहले राज्य र नीति निर्माणको तहमा रहेकालाई प्रभावमा पारेर काम फत्ते पारेको थियो । उसोतः यति समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पा सगरमाथामा ट्रेकिङ गाइडदेखि व्वयसायीसम्म पुगेका व्यक्ति थिए । 

उड्डयन क्षेत्रमा समेत अनेक चालबाजी गर्ने गरेका शेर्पाको निधनपछि भने यति एयरलाइन्सले मनग्य आम्दानी गर्न सकेन । यस्तो स्थितिमा यतिले अहिले व्यवसायीक साझेदर समेत भित्र्याएको छ भने हिमालय एयरदेखि सुगम र दुर्गमका लागि हवाई सेवा दिदै आएको छ । 

सरकारी सम्पत्ति दोहनको आरोपमा के भन्छ यति समूह ?

यति समूहमाथि लाग्दै आएका आरोप आजका होइनन्, विगतदेखि नै यो श्रृङखला चल्दै आएको छ । यस पटक पनि सीआईबीले अनुसन्धानमा सक्रियता बढाएसँगै आरोपहरु थप पेचिला बनिरहेका छन् । अहिलेको यस परिस्थितिमा यति समूहले आफुमाथि लागिरहेका आरोपमाथि पुनः खण्डन गरिरहेको छ । 

यति समूहको जिकिर के ?

-    थामसेर्कु ट्रेकिङ प्रालिको भनाई– दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणलाई अनावश्यक विवादित बनाएर भ्रम फैलाइएको 

-   २०७४ सालमा लिजका लिएर कमपनीले बनाएको भवन, लिज रकम,लिज अवधि र क्षेत्रफल लगायतका विषयमा भ्रम सिर्जना गरिएको 

-    सबै प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट ३० वर्षको लागि लिजमा प्राप्त भएको 

-  जग्गाको लिज रकम वापत हालसम्म रु. २१ करोड भन्दा बढी रकम नेपाल ट्रष्टको कार्यालयलाई भुक्तानी गरि सकिएको 

-   थामसेर्कुका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाका अनुसार थामसेर्कु कम्पनीले कित्ता नम्बर ४६ सय ६ मा मात्रै भवन निर्माण गरेको र अनधिकृतरुपमा प्रयोग गरिएको भनिएको कित्ता नम्बर ४६ सय ५ मा कुनै संरचना निर्माण नगरी साबिक झैं बाटोकै रुपमा कायम रहेको 
-  लिज रकम ६ अर्ब रुपैयाँ भनेर गरिएको प्रचारमा पनि सत्यता नरहेको र महालेखा परीक्षकले औंल्याएको भनिएको विषय अख्तियारबाट अनुसन्धान भई निरुण भइसकेको र उच्च अदालत पाटनबाट समेत निरुपण भइसकेको 

-   वक्तव्यमा भनिएको छ– ६ अर्ब रुपैयाँमा आजको मितिमा समेत दरबारमार्ग क्षेत्रमा ३० आना जग्गा खरिद नै गर्न सकिने अवस्थामा ३० आना जग्गा प्रयोगवापत मात्रै ६ अर्ब रुपैया तिर्न कोही मञ्जुर होला ? 

-    यस आधारमा हिसाब गर्ने हो भने जग्गाको मात्रै भाडा प्रति वर्ग फिट प्रति महिना १५ सय रुपैयाँ भन्दा बढी पर्न आउने देखिन्छ । के यो आजको स्थितिमा चलन चल्तीको भाडादर हो ?

यति समूहअन्तरगतको थामसेर्कु ट्रेकिङ प्रालिले आफुमाथि लागेका आरोपमा विज्ञप्तिमार्फत यसरी जिकिर गरे पनि जालझेल र चलखेलका श्रृङखलाले भने यि खण्डनलाई कमजोर नै बनाएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update