News 24 Television
जेन्जी आन्दोलनपछि हल्लिएको नेपाली राजनीति, पुराना दलको अस्तित्व संकटमा

काठमाडौँ । जेन्जी आन्दोलनपछि नेपालको राजनीतिक मैदानमा अभूतपूर्व हलचल देखिएको छ। दशकौँदेखि शासन गर्दै आएका ठूला दलहरूको निन्द्रा हराम भएको छ । सत्ताको सिँढीमा लगातार उक्लिरहेका दलहरू अहिले अस्तित्व जोगाउने संघर्षमा छन् ।

विश्लेषकहरू भन्छन्— “देशको राजनीतिक इतिहासमा २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक युवा पुस्ताले पुराना दलहरूलाई यति गहिरो चुनौती दिएको हो।”

नेकपा (एकीकृत समाजवादी) भित्र ठूलो विभाजन

जेन्जी आन्दोलनपछि सबैभन्दा बढी हल्लिएको दल हो— नेकपा (एकीकृत समाजवादी) । अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँग विलय भएका छन्। यस निर्णयलाई अस्वीकार गर्दै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू मिडियामार्फत् खुलेरै विरोध गरिरहेका छन्।

अर्कोतर्फ, घनश्याम भुसाल नेतृत्वमा नयाँ राजनीतिक एकीकृत समाजवादी) शक्ति निर्माणको पहल सुरु भएको छ। उनका निकट स्रोतका अनुसार, माओवादीका असन्तुष्ट जनार्दन शर्मा, राम कार्की र भूमिगत राजनीतिबाट पुनः सक्रिय भएर निर्वाचनमा भाग नै नलिइ सत्ताको स्वाद चाख्ने दाउखोजेर बसेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सहकार्य गर्ने चर्चा तीव्र छ।

राजनीतिक विश्लेषक— “माधव नेपालले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न खोज्दा पार्टी नै भत्काउने स्थितिमा पुगेका छन्। नयाँ शक्ति गठनको प्रक्रिया अब अवरुद्ध हुँदैन।”

माओवादी केन्द्र अस्तित्व संकटमा

एक दशक लामो जनयुद्धको नेतृत्व गरेको माओवादी केन्द्र अहिले आफ्नो धरातल गुमाउँदै गएको छ। पूर्व क्रान्तिकारीहरूको पार्टी आज सत्ता टिकाउने राजनीतिमा सीमित बनेको छ। जनताको विश्वास घट्दै जाँदा, पार्टीले ‘विचार मिल्ने’ सातवटा साना कम्युनिस्ट दलसँग सहकार्य गर्दै नयाँ “नेपाली कम्युनिस्ट पार्टी” गठन गर्ने घोषणा गरेको छ।

तर, विश्लेषकहरूले यसलाई “राजनीतिक नाटक” भनेका छन्। वरिष्ठ पत्रकार भन्छन्—“जनयुद्धको बलिदान आज व्यक्तिगत पद र सत्ता बचाउन प्रयोग भइरहेको छ। यो माओवादीको विचारगत पराजय हो।”

नेपाली कांग्रेसभित्र घमासान, नेतृत्व संकट गहिरिँदै

नेपाली कांग्रेस पनि अहिले दुई धारमा विभाजित छ। विशेष महाधिवेशन गर्ने वा नगर्ने विवादले पार्टीभित्र गहिरो खाडल सिर्जना गरेको छ। संस्थापन पक्ष शेरबहादुर देउवा नेतृत्वमा निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहन्छ भने, इतर पक्ष (गगन थापा, विश्वप्रकाश शर्मा,  तत्काल नयाँ नेतृत्व लिएर जनतामाझ जानुपर्ने माग गर्दैछ।

स्रोतका अनुसार, हालसम्म कांग्रेसका जम्मा तीन लाख सदस्यले मात्र क्रियाशील सदस्यता नवीकरण गरेका छन्, जबकि झण्डै छ लाख सदस्य निष्क्रिय बनेका छन्। यसले पार्टीभित्रको असन्तोषको गहिराइ देखाउँछ।

राजनीतिक समीक्षकको भनाइमा— “यदि कांग्रेसले आन्तरिक लोकतन्त्र पुनर्स्थापित गरी नयाँ पुस्तालाई नेतृत्व दिने साहस गरेन भने, यो पार्टी आगामी निर्वाचनमा ऐतिहासिक पराजय भोग्नेछ।”

एमाले अझै पनि अहंकारमा, आत्ममूल्यांकनको कमी

जेन्जी आन्दोलनका क्रममा दर्जनौँ युवाको ज्यान गएपछि पनि नेकपा (एमाले) नेतृत्वले आत्मग्लानी प्रकट गर्न सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले अझै पनि “यो सरकार मान्दिन, निर्वाचनमा भाग लिन्दिन” भन्ने उत्तेजक बयान दिँदै पार्टीभित्र भ्रम फैलाइरहेका छन्।

एमालेका दोस्रो तहका नेताहरू ओलीकै बोलीमा तालि बजाएर आफ्ना पद सुरक्षित गर्न लम्पसार परिरहेका छन्। विश्लेषकहरू चेतावनी दिन्छन्— “ओलीको दम्भले पार्टीलाई गम्भीर पतनतर्फ धकेल्दै छ। अब मतदाताले घमण्ड होइन, जवाफदेहीपन खोज्नेछन्।”

 रास्वपा: उदाउँदो शक्ति तर अस्थिर नेतृत्व 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेन्जी आन्दोलनपछि नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने रूपमा देखिँदै आएको छ। तर, सभापति रवि लामिछानेमाथि लगातार मुद्धा र राजनीतिक दबाबले पार्टी अस्थिर बनेको छ।

सरकार लामिछानेमाथि सात घण्टासम्म बयान लिँदै बस्छ, तर भ्रष्टाचारमा डुबेका ठूला नेताहरू— जस्तै केपी शर्मा ओली र रमेश लेखक— लाई बोलाएर बयान सम्म लिने आट गर्देन । यसले जेन्जीहरुको अपमान गरेको ठहर हुन्छ । उनीहरुलाई उन्मुक्ति दिने रवैयाप्रति जनआक्रोश बढ्दै गएको छ।

वैकल्पिक शक्तिको निर्माणमा बाबुराम सक्रिय

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि राजनीतिक मैदानमा सक्रिय छन्। उनी जेन्जी आन्दोलनका युवाहरूसँग सहकार्य गर्दै “वैकल्पिक, विचारवान र पुस्तानुकूल शक्ति” निर्माण गर्ने तयारीमा छन्।

उनका अनुसार“पुराना दलहरू जनताको आशा पुरा गर्न असफल भए। अब नयाँ पुस्ताले देशको नेतृत्व लिनुपर्छ।”

 जेन्जी आन्दोलनका बलिदानीको अपमान

जेन्जी आन्दोलनमा ७८ जना युवाको बलिदान भएको थियो। त्यही रगतको जगमा बनेको वर्तमान सरकारले अहिले सोही आन्दोलनका युवामाथि मुद्दा लगाएर जेल हालिरहेको छ।

गोली चलाउने आदेश दिने, निर्दोषमाथि अत्याचार गर्नेहरूलाई उन्मुक्ति दिँदै बलिदानीहरूलाई अपराधी ठहर गर्नु—जनताको दृष्टिमा यो आन्दोलनको अपमान हो।

राजनीतिक विश्लेषक भन्छन्— “सरकारले तत्कालै आत्ममूल्यांकन गर्नुपर्छ। आन्दोलनकारीमाथिको दमन र मुद्दा फिर्ता गर्न नसक्ने हो भने, सरकार नै जनताका आँखामा वैधता गुमाउनेछ।”

पुराना दलहरूको अन्त्यको संकेत ?

जेन्जी आन्दोलनले नेपालको राजनीतिक संस्कृतिमा मूलगामी प्रश्न उठाएको छ— के पुराना दलहरूले सुधारको बाटो रोज्नेछन्, वा इतिहासले तिनलाई विस्थापित गर्नेछ?जनता अब दल होइन, काम माग्छन्।विश्वास होइन, जवाफदेहीता खोज्छन्। यदि सत्तामा रहेका दलहरूले समयमै आत्ममूल्यांकन गरेनन् भने, यो आन्दोलन नेपालको राजनीतिक नक्सा फेरबदल गर्ने निर्णायक मोड बन्न सक्छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update