
काठमाडौं । सरकारको कामकारबाहीप्रति लगातार असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक सक्रियताको गति रणनीतिक रुपमै अघि बढाउन थालेका छन् । आफ्नै पार्टी नै सरकारमा रहेका समय पनि सरकारविरुद्ध शेखरका बोली आक्रामक छन् । त्यसमाथि उनले अहिले सरकारका विरुद्ध साँटगाँट गर्न विपक्षी दलका नेताहरुसँग भेटघाट बढाएको चर्चा चलिरहेको छ । खासमा शेखरको यो चालाको राजनीतिक अर्थ के हो ? यता भेट्ने, उता तर्साउने कुटिलताको अस्त्र शेखरले धारण गर्न खोजेकै हुन् त ?
नेपाली कांग्रेसका नेता शेखर कोइराला अर्थात आफ्नै पार्टी र सत्ताका खास विपक्षी । शेखरलाई सत्ताका खास विपक्षी भन्दा फरक नपर्ला किनकि, उनका दिनहुँका सरकारविरोधी र पार्टी विरोधी टिप्पणीले विपक्षी शब्दलाई न्याय नै गर्छ ।
यसअघिसम्म शेखरले सरकारको विरोध गरिरहेका थिए अनि पार्टीभित्र आन्तरिक संघर्ष गरिरहेका थिए । यसलाई सामान्य राजनीतिक अभ्यासकै रुपमा हेरिएको थियो । तर, अब चर्चा फरक कुराले चल्यो र शेखरले के गर्न खोजेका हुन् भनि धेरैले चासो तब राखे जब उनले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट ।
उनी यत्तिमै रोकिएनन्, प्रचण्डसँग भेटको केही घण्टापछि उनले पूर्वराष्ट्रपति समेत रहेकी हालै एमालेको राजनीतिमा पुनः सक्रिय बन्न खोजेकी विद्यादेवी भण्डारीसँग भेटघाट गरे । विहीबार प्रचण्डसँग भेटेका शेखरले शुक्रबार विद्यादेवी भण्डारीलाई भेटेपछि उनले सत्तामा के चलखेल गर्न थाले भन्ने कोणबाट चर्चा बढेको हो ।
अर्कातर्फ केहीले यता भेट्ने, उता तर्साउने अस्त्र प्रयोगमा शेखर उद्दत भएका हुन् अरु केही होइन भन्नेहरु पनि देखिन्छन् । राजनीतिक विश्लेषकहरुले भने विस्तारै सत्ता समीकरण परिवर्तनको चाजोपाजो मिलाउने रणनीति हो पनि भनिरहेका छन् । यद्दपी, अहिले नै शेखरको सक्रियताले सत्ता फेरबदल भइहाल्ने आधार भने देखिदैनन् । यि सबै कोणबाट शंका र अड्कलबाजी गर्दैगर्दा शेखरले खास आफुलाई के फाइदा पाउनका लागि नयाँ–नयाँ प्रयास गरिरहेका छन् त ? यो चर्चाका लागि शेखरको विगत र वर्तमानबीच तुलना गर्नुपर्ने देखिन्छ ।
शेखरका विगतका अभिव्यक्ति र अहिलेका नयाँ–नयाँ प्रयास
शेखर कोइलाला तत्कालीन माओवादी र एमाले गठबन्धन हुँदा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विश्वासको मत लिएको विषयलाई लिएर दुई ठूला दलहरु मिल्नुपर्ने धारणा राख्दै आएका पात्र हुन् । तर सत्ताको समीकरण उही अवस्थामा पुग्दा पनि मुलुकमा सुुशासन र भ्रष्टाचार उत्तिकै छ । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको विषयलाई शेखर कोइराला आफैले पनि सार्वजनिक अभिव्यक्तिमार्फत औँल्याउँदै आएका छन् ।
शेखरले काँग्रेस–एमाले सत्ता सहकार्य हुँदा भएका संविधान संशोधनसहितमा ७ बुँदे समझदारी कार्यान्वयन गर्न नसकेकोप्रति समेत नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् । उनी दुई तिहाइँको शक्तिशाली सरकारले पनि भ्रष्टाचार न्यूनीकरण गर्न नसकेकोमा असन्तोश व्यक्त गर्दै आएका छन् ।
अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत सरकारको कामकारवाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । सरकार गठनको प्रारम्भमै काँग्रेस एमाले नेतृत्वको सरकारप्रति भ्रष्ट्राचार संरक्षकको संज्ञा दिएका प्रचण्डलले अझैसम्म यो आरोप दोहो¥याइरहेका छन् ।
हुनपनि पछिल्ला दिनहरुमा सरकारमै सामेल मन्त्रीहरु एकपछि अर्को भ्रष्टाचारका प्रकरणमा मुछिदै आएका छन् । यही प्रकरणलाई लक्षित गर्दै प्रचण्डले नै संसदबाटै ओलीमाथि तीखो प्रहार गरेका थिए ।
सत्ताको यस्तै बेथितिविरुद्ध एकजुट हुन शेखरले विपक्षी दलका नेताको साथ खोजेको देखिन्छ । अर्कोतर्फ सत्ताको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकै विकल्प बन्ने हेतुले सक्रिय राजनीतिमा आएकी विद्या भण्डारीसँग शेखरले भेट गर्नुलाई पनि सरकारको कार्यशीमाथिको प्रश्नसँग जोड्न सकिन्छ । किनकी सरकार ओली र देउवाबीचको समझदारीकै कारण अहिलेसम्म टिकेको हो ।
ओली–देउवाको विकल्प खोज्ने शेखर प्रयास !
शेखरले विपक्षी दलका नेतासहित विद्या भण्डारीसँग भेट गर्नुलाई ओली देउवाको विकल्प खोजेर नयाँ राजनीतिक वातावरण निर्माण गर्न खोजेको संकेत पनि दिएका छन् । मुख्यतः ओली र देउवा खुला राजनीति र दलीय नेतृत्वबाट पनि किनाराकृत हुने अवस्थामा छन्् ।
यस्तैमा शेखर प्रचण्ड र विद्यासँग भेट गरेर नयाँ राजनीतिक वातावरण निर्माणको प्रयासमा लागेको देखिन्छ । शेखर आगामी काँग्रेस महाधिवेशनमा पार्टी नेतृत्वमा आउने तीव्र आकांक्षामा छन् । तर यो योजनामा उनी कति सफल होलान् ? यो प्रश्नकै विषय बनेको छ ।
तर शेखर तत्कालका लागि भने भावी राजनीतिक सहजताका लागि विपक्षी दलसँग सहकार्य गरेरै अनुकुल बन्ने प्रयासमा देखिन्छन् ।