News 24 Television
बैठकमै ओलीलाई दबाउदै नेताहरु, विद्याको शक्ति प्रदर्शन !

काठमाडौं । एमालेको पोलिटब्यूरो बैठकमा विभिन्न सवालमा बहस छलफल भएको छ । पोलिटब्यूरोले गर्ने निर्णयलाई एमालेले केन्द्रीय कमिटीमा लगेर अनुमोदन गर्ने भनेको छ । केन्द्रीय कमिटीबाट अनुमोदित विषय विधान महाधिवेशनले पारित गरेपछि एमालेको विधानले पूर्णता पाउनेछ । तर, विधान छलफल भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका कारण रोचक बनिरहेको छ । 

नेकपा एमालेभित्र अहिले गरम अवस्था छ । एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको इन्ट्री प्रयासको विषयले चौतर्फी धक्का दिइरहेको छ । यसैको परिणाम हो, हाल जारी  पोलिटव्यूरो बैठकमा चर्काचर्कीको वातावरण ।

एमालेको विधान नै संशोधन गरि उमेरहददेखि पदाधिकारी फेरबदलका प्रयास चरणबद्ध हुनखोज्दा एमालेका नेताहरु दुई कित्तामा उभिएर चर्काचर्की गरिरहेका छन् । शनिबारको पोलिटव्यूरो बैठकमा पनि नेताहरु आक्रोशित मुडमा नै देखिए । कोही ओलीको हितकरका लागि आक्रामक बनेका देखिए भने कोही एमालेभित्र विद्या भण्डारीको विषयलाई लिएर आक्रामक बनिरहे । 

शुक्रबारको बैठकमा पनि चर्काचर्की नै परेको थियो । विधान महाधिवेशनबाट केपी ओलीले केहि मुख्य विषयमा हेरफेर गर्ने तयारी गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको देखिन्छ ।

विशेषगरि, ७० वर्षे उमेरहद एक प्रमुख विषय बन्न पुगेको छ भने दुई कार्यकालभन्दा बढि समय नेतृत्व गर्न नपाउने व्यवस्था फेर्ने प्रयासले पनि बबण्डर मच्चाएको छ । यी विषयमा एमाले सचिवालय बैठकले बहुमतको आधारमा दुबै विषय स्थगित गर्ने निर्णय गरिसकेको छ । तर, सचिवालयबाट मात्रै अनुमोदन भएर यो विषय कार्यान्वयनमा आउन भने सम्भव देखिन्न । यस्तोमा अहिले यो विषय पोलिटब्यूरोमा छलफल चलिरहेको हो । शुक्रबारदेखि चलेको पोलिटव्यूरो बैठकमा शनिबार दोस्रो दिन धारणा राख्ने नेताहरुले आक्रामकता देखाएका छन् ।

पदाधिकारी संख्या फेरबदलको प्रस्तावले पनि रडाको

एमालेले विधान संशोधन सम्बन्धी प्रश्तावमा १५ सदस्यीय पदाधिकारीको प्रश्ताव गरेको छ भने २५१ सदस्यीय केन्द्रिय समितिको प्रस्ताव गरेको छ । केन्द्रिय सचिवालय र केन्द्रिय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रिय कमिटी र त्यसको एक तिहाईको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रश्ताव गरिएको छ ।

यो विषयले पनि रडाको नै मच्चाएको छ । अहिले अनेक रुपमा लफडा देखा परेपनि खास चुरो कुरो भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन खोज्नु, नेतृत्वको उमेरहद र कार्यकालको विषयमा देखिन्छ ।  

एमालेभित्रको बहस सदस्यमा भन्दा पनि खास यि नै विषयमा केन्द्रित छ । भण्डारीको पक्ष÷विपक्षमा नेताहरुले बैठकमा चर्काचर्की गरिरहेका छन् । 

शनिबारको बैठक पनि शान्त बन्न सकेन । नेताहरुका मिश्रित धारणाहरु एमालेभित्र केपी ओलीको शक्ति विस्तारै कमजोर बन्दै गएकोतर्फ संकेत गरिरहेको देखिन्छ । यद्दपी, ओलीले भण्डारीको राजनीतिक सक्रियतालाई अस्वभाविक र अरुबाट परिचालितका रुपमा टिप्पणी गर्दै सशक्त प्रतिवाद गर्ने शैली कायम राखेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update