News 24 Television
नेपाल–भारत बहुआयामिक सम्बन्ध

काठमाडौं । मुलुकको परनिर्भरताको कारण नै छिमेकी मुलुकको छत्रछायाँ नेपालले सधैं नै खोज्नुपर्ने बाध्यता छ । राजनीतिक परिवर्तनदेखि विभिन्न समयमा पनि भारतले प्रत्यक्ष रुपमा नै भूमिका निभाइरहेको आरोप लाग्ने गरेको अवस्था पनि छ ।

आन्दोलनका बेला नेपाली राजनीतिक दलका नेताहरुलाई आश्रय दिने काम पनि भारतले गरेको इतिहास छ । त्यसैले नेपालको प्रधानमन्त्री हुने वित्तिकै पहिलो भ्रमणको रुपमा भारतलाई नै रोज्ने गरेका छन् । खासगरी यो प्रकरणमा नेपाल–भारतबीच कस्तो आयाम छ त ? 

नेपाल भारतबीचको सम्बन्धका विभिन्न आयामहरु छन् । जनतादेखि जनतासम्मको सम्बन्धमा रहेका दुई देशबीच खुला सीमा नाकादेखि व्यापार, संस्कृतिसम्मका विभिन्न आयामहरु छन् । भारतले नेपालका धेरै क्षेत्रमा गर्ने सहयोग र भारतले नेपाललाई हेर्ने दृष्टीकोणको विषय समेत चर्चामा रहने गर्छ ।

पहिलो भारत भ्रमणको शिलशिला

पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा वि.सं. २००७ सालबाट सुरु भएको हो । राणा शासनको अन्त भई प्रजातन्त्र स्थापनापछि बनेको पहिलो सरकारको प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारत भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्य र बीपी कोइरालाले पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका थिए ।

२०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि पनि राजनीतिक दलहरुहरुले प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतलाई नै बनाउने शिलशिला कायमै राखे । 

४६ सालको अन्तरिम सरकारको तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरे । २०४८ को निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पनि भारतबाट नै आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । त्यसपछिका हरेक प्रधानमन्त्रीले विदेश भ्रमणको सुरुवात भारतबाटै गरे । 

भारतको हाउगुजी 

माओवादी जनयुद्धपछि ६२\६३ को जनआन्दोलन पश्चात प्रधानमन्त्रीको पहिलो भारत भ्रमणलाई संस्कृतिकै रुपमा विकाश गरियो । पहिलो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट शुरु गरेर पनि भारतको हाउगुजीकै कारण चीन भ्रमण अनौपचारिक भएको र पहिलो भ्रमण भारत नै हुने अभिब्यक्ति दिएका थिए । 

२०६७ सालमा प्रधानमन्त्री बनेका झलनाथ खनालबाहेक हालसम्मका सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै भएको छ । हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलो विदेश भ्रमण भारतलाई बनाउन निकै नै कसरत गरेका थिए । त्यो कसरत पूरा नभए पनि ओली भारत भ्रमणको कसरत भने भदौ ३१ गते पूरा हुने भएको छ । 

भारतसँगको सम्बन्ध 

नेपाल भारतबीच दुई छिमेकी देशको मात्रै सम्बन्ध छैन । नेपाल–भारतबीच सबै भन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो । साथै पारिवारिक, आर्थिक, सांस्कृतिक सम्बन्ध भारतसँग छ । 

मधेसमा भारत र नेपालबीचको सम्बन्धलाई रोटीबेटीको सम्बन्धका रुपमा समेत हेरिन्छ । इन्धनदेखि दैनिक आवश्यक पर्ने खाद्य वस्तुको आयातसमेत भारतबाटै हुने भएकाले पनि भारतसँगको सम्बन्ध मजबुत गर्नुपर्ने बाध्यता नेपाललाई छ । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update