काठमाडौं । ७९ सालको संघीय निर्वाचनबाट उदाएको पार्टी हो, रास्वपा । पुराना र ठूला राजनीतिक दलहरुको विकल्पमा स्थापना भएपनि पार्टी नेतृत्व रवि लामिछाने आफै विवादमा मुछिँदा पार्टीले गति लिन सकेन ।
सहकारी ठगी मुद्दामा सभापति लामिछाने अहिले पनि कारगारमै छन् । जेनजी आन्दोलनले सबै दलहरुमा पार्टी पुर्नगठन र रुपान्तरणको बहस पेचिलो बने पनि रास्वपामा लामिछाने नै नेतृत्वमा निर्विकल्प रहने निश्कर्षमा पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति छन् डोल प्रसाद आर्याल (डीपी) । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएकाले डीपीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका हुन् । तर अर्याल कार्यबाहक सभापति भए पनि लामिछानेले नै नख्खु कारागारबाटै पार्टी सञ्चालन गरिरहेका छन् । जसका कारण महत्वपूर्ण घडीमा पनि रास्वपा नयाँ स्प्रिटका साथ अघि बढ्नै सकेको छैन ।
बैकल्पिक बन्ने बाटोमा रहेन रास्वपा
भदौ २३ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थितिकाबीच रास्वपाका केही नेताहरुले वैकल्पिक पार्टीै निर्माण गर्ने बहस चलाएका थिए । रास्वपा नेता पुकार बमले यसको अगुवाई गर्दै जेनजी आन्दोलनका अगुवादेखि नयाँ राजनीतिक दलहरु तथा विभिन्न राजनीतिक शक्तिहरुसँग छलफल चलाएका थिए । जुन छलफलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ समेत सहभागी थिइन् ।
डा.बाबुराम भट्टराईदेखि वृहत्त ‘नेपाली कम्युनिस्ट पार्टी’ एकता अभियानबाट अलग भएका जनार्दन शर्मा, घनश्याम भुसाल, वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, लगायतका नेताहरु पनि रास्वपासहितको वैकल्पिक शक्ति बनाउने बहसमा सहभागी थिए ।
जेनजीदेखि चर्चित विभिन्न ब्यक्ति तथा समूह रास्वपासहितको वैकल्पिक शक्ति निर्माणमा सकारात्मक नै देखिएका थिए । त्यसका लागि तत्कालका लागि रास्वपा नेतृत्वको विकल्प खोज्नुपर्नेमा थिए । तर नेतृत्वमा रविको विकल्पका विषयमा तयार नहुँदा रास्वपा वैकल्पिक शक्ति बन्ने बाटोबाट टाढिएको छ ।
रास्वपामा तत्कालका लागि महाधिवेशन ट¥यो
नयाँ परिस्थितिकाबीच आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय रास्वपाले यसअघि नै गरेको थियो । रास्वपाले फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने भनी निर्णय गरेको थियो । तर आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय भइसकेको भन्दै रास्वपा महाधिवेशनबाट पनि पछि हटेको छ ।
शुक्रबार र शनिबार चितवनमा बसेको रास्वपाको विस्तारित केन्द्रीय समिति बैठकले निर्वाचनको ६ महिनापछि पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रास्वपाको महाधिवेशन पनि तत्कालका लागि टरेको छ । जेनजी आन्दोलनपछिको नयाँ परिस्थितिमा भएको विस्तारित केन्द्रीय समिति बैठकमा नै नेताहरुबीच मतैक्यता देखिएको छ ।
वैठकमा कार्यवाहक सभापति अर्यालदेखि तासिमा कार्की समेतले पुरक प्रस्तावहरु पेश गरेका थिए । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा. बुद्धि शर्मा, मधु अर्याल, तोशिमा कार्की र रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुसालले समेत छुट्टाछुट्टै पुरक प्रस्ताव वैठकमा पेश गरेका थिए । तर पार्टी पुर्नगठन र रुपान्तरण गर्नुपर्ने भनी राखिएका ती अधिकांश सुझावहरु समेत ओझेलमा परेका छन् ।
विशेष परिस्थितिमा पनि बैकल्पिक नेतृत्वको खोजी नगरी कारागारमा रहेका लामिछानेलाई नै निर्विकल्प नेतृत्वको निश्कर्षसँगै रास्वपा पनि अन्य दलहरुकै पदचापमा रहेको संकेत मिलेको छ ।
