
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता नेतृत्वको एक वर्ष पुरा गरेको केहि समयपछिमात्रै भारतले भ्रमण निम्तो दिएको छ । ओलीले भारत भ्रमणको चाँजो मिलाउनकै लागि धेरै मेहेनत गरेको देखिन्छ । तर, किन ओलीको भारत भ्रमण लम्बेतान बन्न पुग्यो ? के यो भ्रमणले दुई देशको सम्बन्धका आयामलाई नयाँ मोडमा लैजाला ?
बल्ल–बल्ल जु¥यो भारत भ्रमणको दिन
प्रधानमन्त्री केपी ओलीलाई मिल्यो राहत, सायद यहिले ओली आनन्दको एक सर्को सास लिँदै होलान्, यस्तो किन पनि भने ओली प्रधानमन्त्री भएको एक वर्ष पुगिसक्यो ।
तर, छिमेकीले बल्ल आउनुन त भेट्न प्रधानमन्त्रीका रुपमा भन्यो । यो अवसर जुराउन एक वर्षसम्म पेलिएको पापड थोरथोरै त छैन । अहिले आएर भारत भ्रमणको दिन जुर्दा ओलीले किन नफेरुन आनन्दको सास !
पुरै एक वर्षको रस्साकस्सीपछि प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्री बनेको एक वर्ष बढि समय वित्दा समेत भारत जाने मेसो नमिलेपछि देखिएको छटपटी भदौ ३१ गते मेटिन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली दिल्लीको दुई दिने भ्रमणमा निस्किनेछन् । यता, मोदी पनि कात्तिक महिनाभित्र नेपाल भ्रमण गर्ने मोटामोटी सहमति जुटेको बताइएको छ ।
नेपालका प्रधानमन्त्रीलाई शुरुमै सम्झिने भारतले यस पटक पाहुँना स्वीकार्न एक वर्ष लगाउनु मोदी सरकारको रणनीतिक अस्त्रका रुपमा देखिन्छ । लामो समय ओली नेतृत्वको सरकारलाई नरुचाएको भारतले औपचारिक निमन्त्रणामा लगाएको समय, ओलीले चीनमा पुगेर गरेको बीआरआई सम्झौता र नेपालको अस्थिर राजनीतिको विषयमा समेत भारतीय पक्षले धेरै चिन्तन गरेको बताइन्छ ।
यसै विषयमा केही रुष्टता नेपालसँग भारतको रहेको देखिन्छ । नेपालमा सरकार फेरिएपछि भारतले पहिलो औपचारिक निमन्त्रणा दिने र आफ्नो मुलुक भ्रमण गराउने गर्छ । यसले भारतले दक्षिण एसिया क्षेत्रमा आफ्नो पकड छ है भन्ने अन्तराष्ट्रिय समूदायमा समेत सन्देश प्रवाह गर्ने गर्छ । तर, ओली नेतृत्वको सरकारलाई भारतले गरिरहेको अनदेखा भने एक वर्षको मौनतापछि तोडिन लागेको हो ।
भ्रमण निम्तो ढिलाका खास कारण के ?
केपी ओली भारतको पक्षमाभन्दा बढि विपक्षमा अभिव्यक्ति दिने गर्छन् । एमाले–माओवादीको तत्कालीन सत्ता गठबन्धन फेरिएपछि उनले दक्षिणले नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।
यतिमात्रै नभई ओलीले नेपालको नयाव नक्सा कार्यान्वयन र नेपालले आफ्नो जमिन प्राप्त गर्ने विषयलाई कूटनीतिक माध्यमभन्दा प्रचारबाजी र राजनीतिक लाभहानीको विषय बनाउने गर्छन् । यस्तो कारण भारत ओलीसंग चिढिन पुगेको देखिन्छ । युएनको महासभाको क्रममा अमेरिका र थाइल्याण्डमा भेटेपनि यसले प्रतिफल दिन सकेको थिएन् ।
अझं, भारतीय संस्थापन पक्षले ओली नेतृत्वको सरकार लामो समय नजाने सम्मका आंकलन गरिरहेका थिए । यस्तोमा अर्को सरकार बन्ने पर्याप्त आधार सिर्जना नहुनु र ओलीलाई लामो समय स्वागत नगर्दा दुई देशको सम्बन्ध थप बिग्रिने स्थिति देखिएपछि भारत ओलीलाई रेड कार्पेट बिछ्याउन तयार भएको देखिन्छ ।
भारत आफ्नै समस्यामा छ ?
भारत केही आन्तरिक समस्यामा समेत छ । भारतीय जनता पार्टी समेत सरकार निर्माणको बहुमतको संकटमा देखिन्छ । एकल बहुमतको अभावदेखि कोलिसन गभर्मेन्टमा आउनसक्ने उतारचढावका साथै बंगलादेश प्रकरणमा समेत समस्यामा देखिन्छ ।
अर्को छिमेकी पाकिस्तानसंग युद्धकै स्थितिमा भारत छ । यस्तो स्थितिमा भुटानको माइक्रो म्यानेजमेन्ट गर्ने गरेको भारतले श्रीलंका, बंगलादेश जस्ता मुलुकबाट आफ्नो प्रभूत्व गुमाउदै गएको छ भने नेपाल पनि भूराजनीतिक परिस्थितिका कारण एकखाले संक्रमणमा छ । भारतले नेपाललाई समेत आफ्नो पक्षमा दह्रो उभ्याउन नसकिरहेको बेला दुई देशको सम्बन्धमा समेत खास नयाँपना नदेखिएपछि दिल्लीले मौनता तोड्दै नयाँ आयामको शुरुवात गर्ने स्थिति बनेको छ ।