
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा वैतनिक वकिल÷निःशुल्क कानूनी सहायता तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । वैतनिक वकिल\निःशुल्क कानूनी सहायता तथा परामर्श केन्द्रको सोमबार औपचारिक उद्घाटन गरिएको हो । यस अदालतमा शुरुवाति समयदेखि नै वैतनिक वकिल र कानूनी सहायता अधिकृतबाट सेवा प्रदानको व्यवस्था मिलाइएको भएपनि उनीहरुको आफ्नै कार्यकक्ष नहुँदा प्रभावकारिता कम रहेको थियो ।
वैतनिक वकिल र कानूनी सहायता अधिकृतलाई भेट्नै मुस्किल परेको भन्ने गुनासो बारम्बार आएपछि काठमाडौं जिल्ला अदालतले विहान १० बजे देखि साँझ ५ बजेसम्म कम्तिमा एक अधिकृत कार्यकक्षमै रहने गरि कानूनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरेको हो ।
यस पहिले कार्यकक्ष नै नभएकाले वैतनिक वकिल र कानूनी सहायता अधिकृतलाई भेट्न नै मुस्किल पर्ने गरे पनि अब यो समस्याको सम्बोधन हुने अपेक्षा गरिएको छ ।
अब पैसा नभएर न्यायालय आउन कोही रोकिनु पर्दैन : प्रमुख न्यायाधीश पोखरेल
केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा सबैको सहज पहुँचका लागि वैतनिक वकिल÷निःशुल्क कानूनी सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको बताए ।
यस केन्द्रले अशक्तहरूका लागि निःशुल्करुपमा कानूनी सहायता प्रदान गर्दै न्यायिक सहायता खोजिरहेकाहरुका लागि राहत प्रदान गर्ने उनको भनाई छ । योसँगै अब पैसा खर्च गर्नै नसक्नेहरुका लागि पनि अदालतसम्म आउने बाटो सहज बनेको प्रमुख न्यायाधीश पोखरेल बताउँछन् ।
प्रमुख न्यायाधीश पोखरेलका अनुसार कानूनी सहायता अधिकृतको व्यवस्था जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ताको संयोजकत्वमा हुने समितिले निर्धारण गर्ने गर्दछ । यस केन्द्रबाट सेवा प्रदान गर्नेहरुको तलबसमेत नेपाल सरकारबाटै प्राप्त हुनेगर्छ । त्यसैगरि, वैतनिक वकिलको तलब पनि अदालतबाटै दिइने भएकाले उनीहरूले सेवाग्राहीसँग सेवा वापत कुनै रकम नलिई काम गर्ने गर्नुपर्छ । यो व्यवस्था र अभ्यासले नागरिकमा न्यायालयसम्म सहज पहुँचलाई थप विस्तार गर्ने अपेक्षा प्रमुख न्यायाधीश पोखरेलको छ ।
आर्थिक अशक्तताका कारण कानून व्यवसायी मुकरर गर्न नसक्ने सेवाग्राहीका लागि प्रत्येक अदालतमा निःशुल्क वहस पैरवी लगायतका कानूनी सेवा गर्न वैतनिक वकिलको व्यवस्था हुने गरेको छ ।
त्यसैगरि, नेपाल बार एशोसिएशनसँगको समन्वयमा जिल्लामा एक जना कानूनी सहायता अधिकृतको समेत व्यवस्था हुने गरेको छ । यी दुवै जना वकिल भएकाले उनीहरूले वहस पैरवी गर्ने, मुद्दा वा फिराद लेख्ने र कानूनी सल्लाह दिने लगायतका काम गर्ने गर्दछन् ।
न्यायमा पहुँच विस्तारका लागि बारको निरन्तर प्रयास
काठमाडौं जिल्ला अदालत बारले विगतदेखि न्यायमा नागरिकको पहुँच विस्तारका लागि विभिन्न कामहरु गर्दै आएको छ । कानूनी सहायता तथा परामर्श केन्द्र स्थापनाका लागि समेत काठमाडौं जिल्ला अदालत बारले सहकार्य गरेको हो । काठमाडौं जिल्ला अदालत बारका अध्यक्ष आरसी विमलका अनुसार कानूनी सहायता कक्ष निर्माण भएसँगै अब असहाय तथा अशक्त सेवाग्राहीले सेवा पाउन सहज हुनेछ ।
पहिले कार्यकक्ष नै नभएकाले कानूनी सहायता अधिकृत र वैतनिक वकिल भेट्टाउन मुस्किल परेपनि अब यो समस्या हट्ने अध्यक्ष विमलको अपेक्षा छ । उनले जिल्ला अदालत र बारको यो सहकार्यले न्यायमा पहुँचका लागि थप सहजता बनाएको र असहाय सेवाग्राहीले अब समयमै सेवा पाउने विश्वास समेत व्यक्त गरे ।
काठमाडौं जिल्ला अदालत देशभरका अदालतमा सबैभन्दा बढी व्यस्त रहने अदालत हो । अन्यत्रभन्दा यस अदालतमा मुद्दाको चाप समेत उच्च छ । यस अदालतमा दैनिक औषतमा ८ हजार सेवाग्राहीको भिड रहने गर्दछ ।
अदालत भित्रै पाइन्छ आकस्मिक स्वास्थ्य उपचार निःशुल्क
काठमाडौं जिल्ला अदालत परिसरमै आकस्मिक स्वास्थ्य सेवा समेत निःशुल्क प्रदान गरिँदै आएको छ । काठमाडौं जिल्ला अदालत बारको समन्वयमा प्राथमिक उपचारका औषधि तथा प्राथमिक उपचारका लागि आवश्यक उपकरण खरिद गरि आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरिएको हो ।
अदालत परिसरमै कोही अचेत भएमा, तत्काल स्वास्थ्यमा समस्या आएमा प्राथमिक उपचार गर्ने उद्देश्यले स्वास्थ्य सेवाको प्रवन्ध मिलाइएको हो ।