
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको प्रावधानलाई लिएर सत्ता गठबन्धन काँग्रेस–एमालेमा किचलो उत्कर्षमा पुगेको छ । संसदीय समितिमा छलफलकै क्रममा एमालेका सांसदहरु कुलिङ पेरियडको विपक्षमा रहँदै आएका थिए । सत्तारुढ काँग्रेस र विपक्षी माओवादी केन्द्र भने कुलिङ पेरियड राख्नुपर्ने पक्षमा थिए । समितिबाट २ वर्षे कुलिङ पेरियड राख्ने प्रावधानसहित विधेयक पास भएर प्रतिनिधिसभामा पेस हुँदासम्म मुख्यसचिव एकनारायण अर्याल र सचिवहरु उक्त कुलिङ पेरियड हटाउनुपर्ने भन्दै प्रमुख नेताहरु रिझाउन दौडधुपमा देखिएका थिए । यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेर समेत उनीहरुले कुलिङ पेरिरयड फिर्ता लिन माग गरेका थिए । प्रतिनिधि सभामा पेश भएपछि भने विधेयकमा कुलिङ पेरियड निस्क्रिय हुने खालको अर्थ लाग्ने बुँदा थपिएको पाइयो, जसकारण हंगामा मच्चिएपछि सरकारले त्यो चलखेलबारे छानबिन गर्न समिति नै गठन गरेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त चलखेलबाट थप गरिएको बुँदा र शब्द सच्याएर कुलिङ पेरियडको प्रावधानसहित विधेयक पास गर्न आग्रह राष्ट्रिय सभालाई आग्रह गरेको थियो । तर हाल आएर राष्ट्रिय सभामै एमाले सांसदहरुले कुलिङ पेरियड हटाउनुपर्ने भन्दै विधेयकमाथि संशोधन दर्ता गराएपछि यसले सत्ता गठबन्धन दुई पार्टीबीच टकराव ल्याउने देखिएको छ । काँग्रेसले आफू स्पष्टतः कुलिङ पेरियडको पक्षमा रहेको बताएको छ भने एमालेले संशोधन दर्ता गराएर कुलिङ पेरियड हटाउनुपर्ने पक्षमा आफू रहेको सन्देश दिएको छ ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कुनै कम्प्रमाइज गर्न नसक्ने बताएका छन् । राष्ट्रिय सभामा रहेको विधेयकमा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन काँग्रेस संशोधनको विरुद्धमा रहेको उनले बताए । काँग्रेसले कुलिङ पिरियडमा कम्प्रमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतको भनाइ छ । भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरुमा पनि एमालेले एकलौटी लाद्ने काम गरेको आरोप लगाउँदै यनले यने स्वीकार्य हुन नसक्ने बताए ।
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त एमालेसँगको गठबन्धन टुट्नेसम्मको चेतावनी दिएका छन् । राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने भन्दै उनले प्रतिनिधि सभाबाट भएको गल्तीलाई राष्ट्रिय सभाबाट सच्याइनुपर्ने बताए । कुलिङ पेरियडमा भएको चलखेलमा दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनाएको स्मरण गराउँदै उनले सर्वसम्मत भएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने चेतावनी दिए । शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह समेत गरेका छन् ।
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको जनाएको छ । समितिका संयोजक जीवन परियारले समितिको १८ औँ बैठक बस्दासम्म छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा छलफलहरु भएको बताए, थप प्रगति भने हुन सकेको छैन ।
यसरी एकातिर संसदीय समितिमै कुलिङ पेरियडमा भएको चलखेलबारे छानबिन चलिरहेछ भने अर्कोतिर एमालेले राष्ट्रिय सभामार्फत उक्त प्रावधान उट्याउन खोजिरहेछ । काँग्रेसका अधिकांश नेता तथा सांसद एमाले नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट रहेका बेला कुलिङ पेरियड काण्डले गठबन्धनमा थप दरार पैदा गर्नसक्ने देखिएको छ ।