News 24 Television
पछि नहट्ने विद्या, च्याप्टर क्लोजमा ओली

काठमाडौं । स्वर्णिम सम्बन्धबाट तिक्ततातर्फ अघि बढेको एमाले अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बन्ध नयाँ मोडमा पुग्ला भन्ने कल्पना र चासो धेरैमा बढेको छ । कुनैबेला माधव नेपाल–झलनाथ खनालको चेपुवामा परेका ओली विद्याले गरेको सहकार्य, विद्यालाई राष्ट्रपति बनाउन ओलीको भूमिका र ओली प्रधानमन्त्री हुँदा विद्याले गरेको सहयोग अब विवादको भुङ्ग्रोमा फस्ने सम्भावना बढ्दै गएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आश्चार्यमा छिन् । नविकरण गरिसकेको पार्टी सदस्यता पेन्डिङमा छ भनेर एमालेले भन्न थालेपछि उनले अब के गर्ने ? निकटस्थसंगको छलफललाई फराकिलो पार्दै पत्रकार बोलाएरै उनले दुखेसो छताछुल्ल पारेकी छन् ।

पहिलो संसद विघटनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्णयलाई प्रमाणीकरण गरेकी भण्डारी अदालतको आदेशपछि समेत पुनः संसद विघटनमा पछि हटिनन् । यतिमात्रै नभई विद्याले ओलीले गर्ने निर्णयमा समेत राष्ट्रपतिको मर्यादा नै बिर्सिएको आरोप खेपिन् । 

जतिबेला उनीहरुबीचको सम्बन्ध बडो रोचक देखिन्थ्यो । यतिमात्रै नभई तत्कालीन नेकपाकालीन सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्रीको सपथ लिँदा ’त्यो पर्दैन’ भन्ने बाक्यांशले उनीहरुलाई अनेक मिम र ट्रोलिङ नै गरियो । 

तर, पनि विद्याले ओलीलाई साथ दिइरहिन् । यस्तोमा ओली सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत बने । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यो बेला पनि नागरिकता संशोधन विधयेकलाई उनले संविधान मिचेरै होल्ड गरिदिएकी थिइन् । तर, यस्तो मिठासपूर्ण सम्बन्ध अहिले खतराको संघारमा मात्रै पुगेको छैन, पत्रकार बोलाएरै भण्डारीले चेतावनी, चुनौति र पछि नहट्ने भन्न थालेकी छन् । यस्तोमा भण्डारीले पत्रकार बोलाएर के के भनिन् त ? 

– माझ किराँतकी छोरी हुँ, पार्टीमा फर्किएको छु । पछि हट्दिन । 

– एमाले अध्यक्ष केपी ओलीले आफूबाहेक अरुलाई केटाकेटी ठान्नुहुन्छ ।

– एमालेमा मेरो पक्षमा बोल्नेलाई धम्की दिन थालिएको छ ।

– राष्ट्रपतिबाट फिर्ता भएको ६ महिनामै पार्टी सदस्यता नवीकरण गरिसकेको हुँ ।

– बैशाख १ गतेको वक्तब्यले ओलीलाई पिरोल्न थालेको रहेछ, नेतृत्वको समीक्षाको कुराले डर पैदा गरिदिएको लागेको छ ।

– विधान महाधिवेशनको तयारी बैठकमा अध्यक्ष घोषणाको चर्चाले मलाई रोक्ने योजना आउनेमा पहिले नै शंका थियो ।

– प्रदेश तहबाटै गुट भेला गरेर मेरो पक्षमा हुनेलाई त्रास सिर्जना गरियो ।

– मदन भण्डारीको हिरक जयन्तीमा पदाधिकारी राख्न गरिएको प्रस्तावलाई ओलीले इन्कार गर्नुभयो । 

– राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्किदा नैतिकताको कुरा उठाइएको छ, नैतिकवान मान्छे राष्ट्रपतिमा जाने र पार्टीमा फर्किदा पनि अनैतिक हुन्न । 

– ७० वर्ष र दुई कार्यकालले ओलीलाई नै असहज बनाएपछि स्थिति अर्कै सिर्जना गर्न खोजियो ।

– ओली आफ्नै विचारबाट पछि फर्किनुभयो । मैले राष्ट्रपति बन्दा नै सक्रिय राजनीतिमा फर्किने प्रष्ट पारेकी थिए ।

– म राष्ट्रपति बन्दा घरमा पनि खुशी थिएनन् । पार्टीले दिएको जिम्मेवारी पुरा गर्न गएँ अनि फर्किए ।

यसरी भण्डारीले थुप्रै विषयमा पत्रकारसमक्ष गुनासो मात्रै पोखेकी छैनन्, ओलीमाथि आक्रोश समेत पोखेकी छन् । जुन कुराले एमालेभित्रको आन्तरिक राजनीति थप ध्रुवीकृत बन्ने सम्भावना बलियो बन्दै गएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update