News 24 Television
काँग्रेस सांसदलाई एमालेको जवाफ- कुलिङ पिरियड संशोधनबारे आफ्नै सभापतिसँग छलफल गर्नू

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा कुलिङ अफ पिरियड संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् । 

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले काँग्रेस सांसद लक्षित उक्त टिप्पणी गरेका हुन् । उनले सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरुले फरक संशोधन राखेको भन्दै प्रश्न उठाएकोमा उनीहरुमा विधायिकी ज्ञानको कमि रहेको बताए ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामति विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न पनि उनले अनराेध गरे । बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने भएको कारण सांसदको स्वतन्त्र अधिकार भएको दाबी गरे ।

उनले भने, ‘निजामति विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरुको विशेषाधिकारको कुरा हो । यसमा किन यस्तो संशोधन हालिस् भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो । विधकयिकी कुरामा पार्टीको ह्वीप पनि लाग्दैन ।’

प्रतिनिधि सभाबाट पास भएको संघीय निजामति सेवा विधेयक अहिले राष्ट्रिय सभामा विचाराधीन छ, जसमा कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न भन्दै एमाले सांसदहरुले संशोधन प्रस्ताव हालेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update