
काठमाडौं । आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्ने योजनासहित सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमालेले पार्टी राजनीतिमा प्रतिबन्ध नै लगाएको छ । योसँग अब विद्याले कुन कार्डको प्रयोग गर्लिन् भन्ने चर्चा शुरु भएको छ । के छन्, विद्याले प्रयोग गर्नसक्ने सम्भावित कार्डहरु ? विद्याको राजनीतिक यात्रालाई मलजल गर्न खोज्नेहरुको भविष्य कस्तो होला ? स्वयंम विद्याले पनि आफ्नो साख कसरी जोगाउलिन् त ?
मंगलबार मध्यरातमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा पूर्ण प्रतिबन्ध लगाएसँगै यसले नयाँ बहस सृजना गरिरहेको छ ।
अहिलेको यस अवस्थामा अब राजनीतिक एक्सनमा आउन विद्याले कुन कार्डको प्रयोग गर्लिन् त ? के छन्, विद्याले प्रयोग गर्नसक्ने सम्भावित कार्डहरु ? विद्याको राजनीतिक यात्रालाई पेट्रोल भर्नेहरुको राजनीतिक भविष्य अब के हुन्छ ? स्वयंम विद्याले पनि आफ्नो साख कसरी जोगाउलिन् त ? यि अहिले सर्वाधिक चासोका विषय बन्न पुगेका छन् । पार्टीको विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मापदण्ड र विगतका नजिरहरूका आधारमा भण्डारीको पुनःप्रवेशमा रोक लगाउने निर्णय एमालेले ग¥यो । राष्ट्रपतिजस्तो गरिमामय अभिभावकीय भूमिका निर्वाह गरिसकेकी व्यक्ति सक्रिय दलगत राजनीतिमा फर्कनु लोकतान्त्रिक मर्यादाविपरीत हुने एमालेको ठहर छ ।
एमालेभित्र पुनरागमनका ढोका बन्द भएपछि भण्डारी अब सहज राजनीतिक मोडमा छैनन् । उनले अब दीर्घकालीन रणनीति, आत्ममूल्यांकन र यथार्थ बुझाइका आधारमा आफ्नो बाटो तय गर्नुपर्नेछ। तत्काल प्रभावशाली राजनीतिक पुनरागमनको सम्भावना कम देखिए पनि संयमित र रणनीतिक कदमबाट उनले आफ्नो भूमिका पुनःपरिभाषित गर्न सक्छिन् ।
भण्डारीले आफू नरोकिने संकेत पनि दिइसकेकी छन् ।अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीको ढोका बन्द गरेको संकेत पाएपछि मंगलबार भण्डारीले आफूनिकट पत्रकारहरूसँग कुरा गर्दै आफू माझकिरातकी छोरी भएको र खुट्टा नकमाउने दाबी गरेकी थिइन् ।
एमालेको निर्णयले तत्कालका अवसर बन्द गरेपनि भण्डारीको राजनीतिक प्रभाव र जनाधार शून्य भएको छैन । उनको अनुभव, प्रभाव र स्वर्गीय पति मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को विचारले उनलाई अझै पनि बलियो राजनीतिक खेलाडीको रुपमा स्थापित गराउन सक्छ । तर, त्यो बाटो भने निकै जटिल छ ।
विद्यासँग के–के छन् विकल्प ?
एमालेमै संघर्ष गर्नेः एमालेभित्र अझै पनि भण्डारीप्रति सहानुभूति छ । यस्तो अवस्थामा, उनले तत्काल पार्टीबाहिर नभई संगठित रूपमा आफ्ना समर्थकहरूलाई गोलबद्ध गर्दै एमालेभित्रै प्रभावशाली भूमिका खोज्ने रणनीति अपनाउन सक्छिन् । यो बाटो लामो, कठिन र अनिश्चित भएपनि भण्डारीले सशर्त वैकल्पिक भूमिका खोज्ने सम्भावना छ ।
ओलीलाई मनाउने प्रयासः अहिले एमाले भनेकै केपी ओली हुन् भन्ने मान्यता छ । यदि भण्डारीले ओलीलाई मनाउन सकिन् भने नेतृत्वमा पुग्ने सम्भावना कायमै छ । ओलीसँग प्रत्यक्ष टकराव नगरी विश्वासको वातावरण बनाएर भूमिका खोज्ने बाटो उनले अपनाउन सक्छिन् ।
नयाँ राजनीतिक शक्ति निर्माणः भण्डारीसँग नयाँ राजनीतिक दल गठन गर्ने विकल्प पनि छ । एमालेभित्रको आन्तरिक द्वन्द्व, नेतृत्व हस्तान्तरणको चुनौती र वामपन्थी दलहरूको बिखण्डनले नयाँ शक्तिको आवश्यकता देखिएको छ । नेपालमा कम्युनिष्ट आन्दोलन विभाजनका कारण कमजोर भएको छ ।
नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र अन्य साना वामपन्थी दलहरूको बिखण्डनले कम्युनिष्ट शक्तिलाई एकजुट गर्ने माग बढ्दो छ । भण्डारीको नेतृत्वमा नयाँ शक्ति निर्माणले यी दलहरूलाई एकताबद्ध गर्न सक्छ । तर, जबजलाई मार्गदर्शक सिद्धान्त मानेको एमालेको वर्तमान अवस्थामा सोही विचारमा आधारित नयाँ दल गठन गर्नु वैचारिक र संगठनात्मक चुनौतीपूर्ण हुनेछ ।
वाम गठबन्धनको नेतृत्वः नयाँ दल गठन नगरी भण्डारीले वामपन्थी दलहरूको गठबन्धनलाई नेतृत्व गर्न सक्छिन्। यो गठबन्धनले आगामी निर्वाचनमा बलियो शक्तिको रूपमा उभिन सक्छ। उनको पहिलो लक्ष्य वामपन्थी दलहरूबीच एकता कायम गरी जबजको प्रयोगबाट समाजवादको बाटो तय गर्नु हुनेछ।
उनले आफूलाई कुनै खास पार्टीलाई समर्पित नभई समग्र वाम आन्दोलनलाई वैचारिक रूपमा सशक्त बनाउने स्वतन्त्र शक्तिको रूपमा उभिन सक्छिन् । यदि उनी सफल भइन् भने नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ दिशा पाउनेछ। यद्यपि, यो बाटो जटिलताले भरिएको छ।
सामाजिक–वैचारिक नेतृत्वः सक्रिय दलगत राजनीतिमा नफर्की भण्डारीले मदन भण्डारी फाउण्डेशनमार्फत सामाजिक र वैचारिक नेतृत्व प्रदान गर्न सक्छिन् ।
यो बाटोले उनलाई राजनीतिक मर्यादालाई कायम राख्दै प्रभावशाली भूमिका निर्वाह गर्ने अवसर दिनेछ। नेपालका छिमेकी मुलुकहरू विशेषगरी चीन र भारतको भूराजनीतिक चासोले पनि भण्डारीको सम्भावित नेतृत्वलाई प्रभाव पार्न सक्छ।
यी मुलुकहरूको रुचि र समर्थनले उनको भावी कदमलाई थप जटिल बनाउन सक्छ। भण्डारीले अब कानुनी लडाइँ, वैकल्पिक राजनीतिक मञ्च, गैरराजनीतिक भूमिका वा एमालेभित्रै दबाब बढाउने कुन बाटो रोज्छिन् ? त्यसले उनको भविष्य निर्धारण गर्नेछ। यो घटनाक्रमले नेपालको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने निश्चित छ ।