
काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण स्वतः निश्क्रिय भएको प्रष्ट्याएको छ । पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेसँगै सदस्यता स्वतः निश्क्रिय भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सक्रिय राजनीतिमा आउन ढोका बन्द गरिएपछि विद्याको आगामी बाटो कस्तो रहला त भनेर खोतल्दैछन्, हाम्रा टीभी जर्नलिष्ट विनोदविक्रम भण्डारी ।
नेपालको राजनीतिमा पछिल्लो साता पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने कुराले चर्चा बटुल्यो ।
भदौ २० देखि २२ गतेसम्म एमालेको दोस्रो विधान महाधिवेशन हुने भएपछि पूर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको र आफू एमालेको सक्रिय राजनीतिमा आउने घोषणा मात्र गरिनन्, पूर्व राष्ट्रपतिको हैसियतमा पाउने सरकारी सेवा सुविधासमेत नलिने घोषणा नै गरिन् । योसँगसँगै पार्टीको आगामी नेतृत्व नै लिने गरी सक्रिय भएको भन्दै विद्या सार्वजनिक हुन थालेपछि झस्किएका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भिटो प्रयोग गरेर निषेधको राजनीतिमा ओर्लिएका हुन् ।
एमाले केन्द्रीय समिति बैठक विद्यामै केन्द्रित
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओली र ओली पक्षधर नेता कार्यकर्ता शुरुदेखि नै भण्डारी विरुद्ध विखवमनमा उत्रिए ।
अन्ततः राष्ट्रको गरिमामय पदमा रहेको ब्यक्तिले पदमा रहँदा र अवकाशपछि पनि दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले नै परिकल्पना नगरेको निश्कर्ष ओलीले निकाले ।
ओलीको यो निश्कर्षलाई बहुमतले पारित गरियो । फलस्वरुप मंगलबार मध्य रातमा सकिएको बैठकले भण्डारीलाई एमाले प्रवेशको ढोका नै बन्द गरिदियो । केन्द्रीय कमिटी बैठकमा बोल्ने ९० प्रतिशत नेताले भण्डारी राजनीतिमा आउन नहुने तर्क राखेपछि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको राजनीतिक यात्रामा पुर्णविरामको वाण चलाइदिए । त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमले एमाले भित्र ठुलै विस्फोटको खतरा बढेको छ ।
ओलीको हातमा पुगेको विद्याको राजनीतिक यात्रामा रामवाण लागेपछि विद्या आफ्नो निजी निवास भंगालमा घायल छिन् । यस्तो अवस्थामा एमाले भित्रको शक्ति संघर्षले ठुलै पहिरो जाने त होइन भन्ने आम चासो बढेको छ । तर एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा ओली निकटका महासचिव शंकर पोखरेलले भण्डारीलाई सम्मानित हैसियतमा बस्न सुझाए ।
केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन पुगेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र पार्टी विधानको धारा पल्ट्याउँदै विद्याको सक्रिय राजनीतिमा ब्रेक लगाइएको प्रष्टीकरण दिए ।
गत वर्ष नै सदस्यता नवीकरण गरेर असार १४ मा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा कालो बादल मडारिन पुगेको छ । केन्द्रीय कमिटिमा बोल्ने अघिकांश नेताले विद्या रोक्ने र ओली सर्वोपरीको भजन गाए । सातवटै प्रदेश मातहतका नेताहरुलाई नेतृत्व विरुद्ध बोल्न नहुने ह्वीप नै जारी गरियो ।
सचिवालय, पोलिटब्युरो हुदै केन्द्रीय कमिटि बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णयले एमालेमा ओलीराज चल्ने पक्का भएको छ ।
अन्ततः च्यासल पुगेर पार्टी नेतृत्वमा कब्जा जमाउने महत्वकांक्षा बोकेकी भण्डारीको पाइला भंगालमै रोकिएको छ । भंगालबाट भण्डारीले चाल्ने चालले एमाले र उसको राजनीतिक भविष्यमा समेत ठुला अर्थ राख्ने सम्भावना बढेको छ ।
तर ओली निकटका नेताहरु भने संविधानको र पार्टी विधान आकर्षित हुने विश्लेषण गरिरहेका छन् । भण्डारीलाई पार्टीले पूर्व राष्ट्रपतिको हैसियतमा उच्च सम्मानका साथ हेर्ने भने थम्थम्याउन खोजिएको छ ।
७० वर्षे उमेरहद र दुई कार्यकालमा निरिह नेतागण
नेकपा एमालेमा नेतृत्व परिवर्तनको चर्चा र बहस भने भित्र भित्रै सल्किरहेको छ । अध्यक्ष ओलीको बढ्नो उमेर र पछिल्ला राजनीतिक भुमिकाले उनलाई विश्रामको बाटो राज्नुपर्ने धेरैको मत देखिन्छ । तर ओलीले पार्टीमा यस्तो माहोल खडा गरिदिए कि अव ओली आजिवन पार्टी अध्यक्ष हुन् ।
जसलाई आगामी विधान महाधिवेशनले बैधता प्रदान गर्नेछ । ओलीले पार्टीको सचिवालय, पोलिटब्युरो बैठक हुँदै केन्द्रीय कमिटीसम्म नै ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने निर्णय गराएरै छाडेका छन् ।
पुर्वराष्ट्रपति विद्यालाई रोक्न संविधानको पाना पल्टाएको एमाले ७० बर्षे उमेर हद र दुई कार्यकालमा सति गएको घाम झै छर्लङग भएको छ । तर ओली पक्षका एमाले नेताहरु भने यस्तो कुरा स्वीकार गर्न तयार देखिदैनन् ।
एमाले केन्द्रीय कमिटि बैठकमा आफ्नो पक्षमा बोल्ने नेतालाई असहज परिस्थिति सिर्जना भएपछि विद्याले भंगालबाटै चेतावनी दिनु परेको थियो । आफु निकटका सम्पादकसँग गफिएकी विद्याले आफु माझकिँरातकी छोरी भएको र कसैसंग नडराउने व्रिफिङ गरेकी थिइन् ।
मंगलबार अबेर राति ओलीले भण्डारीको अभिव्यक्तिलाई निमोट्ने गरी सक्रिय राजनीतिको ढोका बन्द गरिदिएका हुन् । भंगालमा विद्या तोपको तयारी पड्किन नपाउँदै ओलीले रामबाण मार्फत् उनको राजनीतिको यात्रा अन्योलतातर्फ धकेलिदिएका छन् ।
ओलीको कदमविरुद्ध विद्यापुत्री उषाकिरण मैदानमा
एमाले अध्यक्ष ओलीले गरेको निषेधको राजनीति विरुद्ध विद्यापुत्री उषाकिरण पनि मैदानमा उत्रिएकी छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै पुष्पलाललाई समेत स्मरण गरेकी छन् । यहि कारणले पुष्पलाल परिवार राजनीतिमा नआएको भन्दै रोष प्रकट गरेकी छन् ।
एमालेको नैतिक समर्थन गर्न नसकिने तहसम्म पु¥याएको उनको प्रतिक्रिया छ । ओलीको काउन्टरमा पार्टीको आगामी नेतृत्व हत्याउने दाउमा अघि बढ्न खोजेकी विद्याको पाइला अब कसरी अघि बढ्छ ? यस्तो अवस्थामा एमाले भित्रको राजनीतिक संकट कसरी व्यवस्थापन हुन्छ ? त्यो प्रतिक्षाकै विषय बनेको छ ।