News 24 Television
डोलेश्वर महादेवको मन्दिरमा भब्य मेला, श्रावण महिनाभरी लाग्ने !

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो । नेपाल भाषामा यसलाई ‘सिपारे माद्यो’ भनिन्छ । यस मन्दिरलाई केदारनाथको शिरभागको रूपमा पनि मानिन्छ । २०६६ साल भदौ ६ गते भारतको केदारनाथ मन्दिरका रावल अर्थात मुख्य पुजारी भीमशंकर लिंग शिवाचार्यले स्वयम् उपस्थित भई डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेका थिए ।

महाभारतसँग जोडिएको यस मन्दिरको कथा निकै रोचक र आस्थाले भरिएको छ । कथा अनुसार, महाभारत युद्धपछि पाण्डवहरूले भगवान शिवको दर्शन गर्न चाहे तर पापी ठहरिएका कारण शिवजीले उनीहरूलाई दर्शन दिन चाहनुभएन। भगवानले राँगोको रूप धारण गरेर जंगलमा लुक्नुभयो । 

ध्यानमार्फत पाण्डवहरूले त्यो कुरा थाहा पाएपछि उहाँको पछि लागे र पुच्छर समातेर तान्न खोज्दा भगवान शिव पृथ्वीमा धस्सिनु भयो र आफ्नो शरीरलाई तीन भाग पार्नुभयो। तीमध्ये ढाड भारतको केदारनाथमा, पुच्छर अर्को स्थानमा, र शिर भाग नेपालतर्फ आएको मानिन्छ । त्यही बेला आकाशवाणी भयो—यदि साँच्चै मेरो दर्शन गर्न चाहन्छौ भने नेपाल जाऊँ । त्यसपछि पाण्डवहरू पूर्वतर्फ यात्रा गर्दै डोलेश्वर आए भन्ने जनविश्वास रहेको छ।

डोलेश्वर महादेव मन्दिरको इतिहास करिब सात–आठ सय वर्ष पुरानो मानिन्छ । वि.सं. १६२९ मा राजा भूपतिन्द्र मल्लले मन्दिरको जीर्णोद्धार गरी सुनको कलश चढाएको ऐतिहासिक अभिलेख मन्दिर परिसरमै पाइन्छ । मन्दिर पहिले तीनतले प्यागोडा शैलीमा निर्माण गरिएको थियो । तर वि.सं. १९९० को महाभूकम्पले मन्दिरलाई क्षति पुर्याएपछि पुनःनिर्माण गरेर हालको गुम्बा शैलीको रूप दिइएको हो । 

मन्दिरको मूल शिवलिङ्ग कालो पत्थरको विशाल र आकर्षक आकारको छ, जुन राँगोको शिर जस्तो देखिन्छ र दायाँतिर ढल्किएको छ । यस शिवलिङ्गको उत्पत्ति द्वापरयुगको अन्त्य र कलियुगको प्रारम्भसँग जोडिएको मानिन्छ ।

हरेक वर्ष श्रावण महिनामा यहाँ ठूलो मेला लाग्दछ । धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावण महिनाभर ठूलो मेला लाग्ने गर्छ । हरेक वर्षझैँ यस वर्षपनि श्रावण १ गते देखि श्रावणी मेला सुरु भएको छ । ३८ दिनसम्म चल्ने मेलामा देश विदेशबाट हजारौँ भक्तजनहरू दर्शन र पूजा गर्न आउने गर्दछन् । मन्दिरका मूल पुजारी बच्चुराम जङ्गमका अनुसार, यहाँ दर्शन गरेमा भक्तजनको मनोकामना पूरा हुने विश्वास रहिआएको छ । 

विगतका वर्षहरु जस्तै यसपाली पनि साउन महिनाभरी मन्दिरका चारै वटा ढोका खुल्ला हुनेछन् । मन्दिर परिसरमा दर्शनार्थीको भिड बढ्ने भएकाले मेला व्यवस्थापन व्यवस्थित, सुरक्षित र सव्य बनाउन विभिन्न उप समिति गठन गरिएको केदारनाथको शीर डोलेश्वर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेत बताउनुहुन्छ । साथै, भक्तजनलाई सहज सेवा पु¥याउन स्वयंसेवक परिचालन गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

मन्दिर परिसरमा ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्ती मिलाइएको समिति सदस्य हरिहर ढुंगानाले बताउनुभयो । शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update