News 24 Television
विद्या कम्युनिष्ट एकतामा ब्रेक कि ब्रिज ? विद्याको पुनरागमनमा आशा र शंका

काठमाडौं । नेकपा एमालेमा पुनः सक्रिय राजनीति गरेर पार्टी नेतृत्व हत्याउने पूर्व राष्ट्रपति विद्या भण्डारीले स्वघोषणा नै गरेकी थिइन् । उनको आगमनले फेरि कम्युनिस्ट एकता हुने विश्वासका साथ विभाजित कम्युनिष्ट पार्टीका नेताहरु पनि उत्साहित थिए । तर उनको नवीकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेर एमालेले ‘च्याप्टर क्लोज’ नै गरिसकेको छ । यो अवस्थामा विद्या कसरी एमालेमा पुनः सक्रिय होलिन् त ? 

नेकपा एमालेभित्र मात्रै नभइ अहिले सर्वाधिक चर्चामा छ, पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध । 

आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्ने योजनासहित सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीमाथि एमालेले पार्टी राजनीतिमा प्रतिबन्ध नै लगाएपछि चसो, चर्चा र बहस बढ्दो छ । एमाले नेताकार्यकर्ताहरू विद्या भण्डारी र केपी ओलीको पक्ष र विपक्षमा विभाजित हुँदै गएका छन् । दुवै पक्षका गतिविधिलाई लिएर नेताहरू खुलेर अभिव्यक्ति दिइरहेका छन् । ओली पक्षका नेताहरू भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन राष्ट्रपति पदको गरिमा र संवैधानिक मूल्यविपरित भएको तर्क गरिरहेका छन् ।

एमालेभित्रको यो विवाद उत्कर्षमा पुगेकै बेला ओलीको नेतृत्वकै कारण एमाले फुटाएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाल पनि खुलेरै विद्याको पक्षमा उभिएका छन् ।

माधवको यो समर्थनका पछाडि राजनीतिक र वैचारिक कारणहरू छन् । उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता बारम्बार जोड दिएका छन् । अर्कोतिर ओलीकै कारण एमाले छोड्नुपरेको र अहिले राजनीतिक रूपमा घर न घाटको स्थितिमा पुगेकाले माधव ओलीको पतन र विद्याको उदय चाहन्छन् । 

सम्भव होला त कम्युनिष्ट एकता ? 

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमनसँगै फेरि वामपन्थी एकताको चर्चा–परिचर्चा सुरु भएको छ । नेताहरूले कम्युनिष्ट एकता गर्नुपर्ने कुरा बारम्बार उठाउँदै आएपनि ओली एमालेको नेतृत्वमा रहेसम्म कम्युनिष्ट एकता असम्भव भएको बताउँदै आएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको एमालेको नेतृत्वमा आए कम्युनिष्ट एकतामा नयाँ गतिशीलता ल्याउने धेरैको बुझाइ छ । भण्डारीले पनि सक्रिय राजनीतिमा नफर्किंदैदेखि कम्युनिष्ट एकताका लागि जोड दिँदै आएकी छन् ।

भण्डारीको नेतृत्वमा नयाँ शक्ति निर्माण हुँदै गयो भने विखण्डित वाम दलहरू एकजुट हुने सम्भावना बलियो बन्न सक्छ । यही कारणले धेरै कम्युनिस्ट नेताहरू उनलाई सक्रिय राजनीतिमा पुनः ल्याउने चाहना राखिरहेका छन् ।

त्यसैले एमालेभित्र केही नेता तथा कार्यकर्ताहरू भण्डारीलाई वाम एकताको बलियो ‘मियो’का रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् , तर, यथार्थतः एमालेले स्वयं विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट टाढा राख्ने निर्णय गरिसकेको छ । त्यसैले पनि ‘विद्याको नेतृत्वमा कम्युनिस्ट एकता सम्भव छ कि छैन?’ भन्ने प्रश्नभन्दा पहिले, ‘विद्या एमालेमै पुनः कसरी सक्रिय हुन्छिन् ?’ भन्ने विषय अहिलेको पेचिलो प्रश्न बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update