काठमाडौं । ७९ को निर्वाचनअघि नेकपा एमालेसँग डिभोर्स गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफै तनावमा छन् । दिनप्रतिदिन पार्टीमा पहिरो गइरहेकाबेला नेपालले पतञ्जली जग्गा प्रकरणका कारण सांसद पदसमेत गुमाउनु परेको छ ।
एमालेमा फर्किन चाहेर पनि नपाएपछि एकीकृत समाजवादीमा आएका बामदेव गौतम महत्वपूर्ण जिम्मेवारीको खोजीमा छन् । पार्टी भित्रैकाले नेतृत्वको आलोचना गरिरहँदा भर्खरै पार्टी प्रवेश गरेका बामदेवले समेत जिम्मेवारी नपाए धेरै दिन पार्टीमा नबस्ने चेतावनी दिइसकेका छन् । यसले नेकपा एसको भविष्य झनै संकटतर्फ मडारिएको छ । माधवले पार्टी अस्तित्व जोगाउन माओवादी केन्द्रदेखि विप्लव नेकपासँगको एकता पहल पनि जारी नै राखेका छन् ।
नेकपा कालमा प्रधानमन्त्री रहेका बेला केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । नेकपा एकीकृत समाजवादी गठन गर्न माधवलाई एमालेकै नेतृत्व गरिसकेका नेता झलनाथ खनाल लगायतले समर्थन जनाए ।
त्यसपछि एकीकृत समाजवादी तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमासमेत सामेल भयो । त्यसलगत्तै सम्पन्न ०७९ सालको आम निर्वाचनमा समेत नेकपा एस काँग्रेस र माओवादीसँग गठबन्धन गरेर चुनावमा सामेल भयो । तर उसले अपेक्षित मत प्राप्त गर्न सकेन । संसदमा प्रत्यक्षतर्फ संसदमा १० सिट जितेको नेकपा एस राष्ट्रिय दल पनि बन्न सकेन । त्यसयता पनि नेकपा एसमा नेताहरु अडिन सकेका छैनन् । धेरैजसो केन्द्रीय सदस्य तथा जिल्ला तहका नेता कार्यकर्ताहरु एमालेमै फर्किरहेका छन् । नेता तथा कार्यकर्ताकै नै नअडिने र बैचारिक रुपमै पनि अन्य दलहरुसँग फाइट गर्न नसक्दा नेकपा एस लगातार संकटमा गुज्रिरहेको छ ।
माधव संकटमाथि रामकुमारीको धावा !
नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले गत असार १४ गते पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मरेको सिनोको संज्ञा दिँदै ‘अर्ली महाअधिवेशन’को माग गरेपछि पार्टीमा तरङ्ग पैदा भएको छ । झाँक्रीले नेकपा एस सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै माधवमाथि आक्रोश र पार्टीमा उनको विकल्प खोजिनुपर्ने भन्दै चर्को अभिव्यक्ति दिएकी थिइन्् ।
खासगरी रामकुमारी झाँक्रीले संसदीय निर्वाचन र पार्टीको महाधिवेशमा पराजय भोगेपछि नेतृत्वमाथि कडा प्रहार थालेको व्याख्या गरिँदै आएको छ । यस्तैमा अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्धा लागेपछि रामकुमारी अझै आक्रामक बनेकी छन् । रामकुमारीले नेतृत्वमाथि नै गम्भीर टिप्पणी गर्दा पनि पार्टीले उनलाई कुनै कारवाही भने गर्न सकेको छैन ।
रामकुमारीलाई असार १७ गते पार्टीको केन्द्रीय अनुशासन आयोगले ३ दिनको म्याद दिएर अभिव्यक्तिबारे स्पष्टिकरण दिन निर्देशन दिएको थियो । तर रामकुमारीले उक्त अवधिमा कुनै स्पष्टिकरण दिइनन् । बरु उनी प्रष्टिकरण नै नदिने भन्दै पार्टी पङ्तीलाई खुलमखुल्ला चुनौती दिँदै आएकी छन् । यसपछि पनि रामकुमारीलाई पार्टी सचिवालय बैठकले अभिव्यक्तिबारे स्पष्टीकरण दिन ७ दिनको म्याद दियो । तर यो समयसीमा नाघिसक्दा पनि झाँक्रीले पार्टीलाई कुनै स्पष्टिकरण बुझाएकी छैनन् । तर पनि रामकुमारीविरुद्ध पार्टीले अझै कुनै निर्णय गरेको छैन ।
बामदेवको अर्को चेतावनी !
नेकपा विभाजनपछि बामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । अभियानका संयोजक रहेका गौतमले केही दिन अघि मात्रै नेकपा एकीकृत समाजवादीमा समाहित भए । वामदेवलाई नेकपा एसले माधव झलनाथपछिको तेस्रो वरियतामा राख्ने शर्तसहित पार्टीमा भित्र्याएको थियो । तर वामदेव एकताको एकसाता नवित्दै पार्टी नेतृत्वमाथि असन्तुष्टि व्यक्त गर्न थालेका छन् । वामदेवले पदका लागि मात्रै पद सृजना गर्ने काम नेकपा एसले गर्न नहुने भन्दै आफूलाई काम नदिए पार्टीमा धेरै बस्न नसक्ने चेतावनी नै दिएका छन् ।
वामदेवको नेकपा एस आगमनले पार्टी अझ सशक्त बन्ने अपेक्षा गरिएको छ । यद्यपि पार्टीमा उचित जिम्मेवारी नदिइनुले बामदेवमा थप आक्रोश पैदा भएको देखिन्छ । अर्कोतर्फ अध्यक्ष माधव नेपाल भने नेताहरुलाई थुमथुमाउने रणनीतिमा उत्रिएका छन् । उनी पार्टीमा समस्या आउँदैमा डराइहाल्नपर्ने अवस्था नरहेको भन्दै कम्युनिष्ट आन्दोलनको भविष्य समाप्त भइनसकेको दावी गरिरहेका छन् ।
तर राजनीतिक जीवनको उत्तरार्धमा पुगेर पनि एमाले पार्टी विभाजन गरेर नेकपा एस गठन गरेका माधवलाई संगठन थप सशक्त बनाउन चुनौती उत्तिकै छ । कार्यकर्ता र नेताको आकर्षणविनै पार्टी चलिरहेको अवस्थामा आफैविरुद्ध चलेको भ्रष्टाचारको मुद्धा, मुद्धापछि नेताहरुकै असहयोग र भर्खरै पार्टी प्रवेश गरेका वामदेवकै घुर्कीले पनि माधव संकटमाथि संकटमा फसेका हुन् । यही कारण उनको भावी राजनीति र नेकपा एसको भविष्यलाई समेत अन्योलतातर्फ धकेलेको व्याख्या हुन थालेको छ ।
