
काठमाडौँ । नेकपा एमालेमा आउन खोजिरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नपाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
भण्डारीका लागि एमालेमा ढोका बन्द भइसकेको बताउँदै उनले पहिला राष्ट्रपतिको ललिपप देखेर भण्डारी गएको र अहिले फेरि लाभको पद खोजिरहेको बताए ।
पूर्व राष्ट्रपति भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा प्रस्तुत गरेकी थिइन् । उनले आफ्नो आफ्नो पार्टी सदस्यता विधिसम्मत ढङ्गले नवीकरण भइसकेको दाबी गर्दै कसैले हटाएर नहट्ने बताएकी थिइन् ।
तर भण्डारीले आफू देशको पूर्व राष्ट्रपति रहेको कुरा हेक्का नराखेको भन्दै गौतमले भण्डारीको पार्टी सदस्यता निस्क्रिय भइसकेको दाबी गरेका छन् ।
उनले भने, ‘विधानको धारा ८ र ९ हेरे हुन्छ– सभामुख, उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षित हुन्छ । उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ पार्टी छाड्न पर्दैन। तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ, उहाँ (भण्डारी) केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो । केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो, अब यहाँको लागि पार्टीमा ढोका बन्द भइसक्यो ।’ .