
काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी घोषणा हुने वित्तिकै शुरु भएको विभाजनको श्रृंखला २०२२ सालमा आइपुग्दा विभाजनले कम्युनिस्ट पार्टी नै तहस नहस बनेको थियो । त्यसपछि पुनः एकताका पहलहरु भए ।
पार्टी नेतृत्वको आकांक्षा पूरा नभएपछि वैचारिक दृष्टिकोण फरक देखाउनै कम्युनिस्ट आचरण नै बनेको छ । कम्युनिष्ट दलहरुमा कहिले एकता र कहिले फुट सामान्य जस्तै बनेको छ । अहिले पुनः केही कम्युनिस्ट पार्टीका नेताहरुले एकताको डम्फु बजाउन थालेका छन् । फुटाउन समय नलाउने कम्युनिष्टहरुले फेरि कस्तो एकता गर्दैछन् त ?
नेपालमा पुष्पलाल श्रेष्ठले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी नेकपाका संस्थापक नेता हुन् । त्यसयता ७ दशकको इतिहासमा नेपाल कम्युनिस्ट पार्टी दर्जनौं टुक्रामा चिरा परेका छन् ।
पहिले हेरौं कम्युनिस्ट पार्टी एकता र विभाजन कहिले कहिले भयो ?
- २०१७ सालमा महेन्द्रको ‘कू’पछि पहिलो पटक विभाजन
- केशरजंग रायमाझीले राजाको कदमलाई समर्थन गरेपछि पुष्पलाल, मनमोहन, मोहनविक्रम र तुलसीलाल
अमात्य अलग
- २०२३ पछि मेची कोशी प्रान्तीय कमिटी र केशरजंग समूहबीच विभाजन
- २४ सालमा पुष्पलालले तेस्रो महाधिवेशन गराए, तुलसीलाल समूह अलग भयो ।
- सीपी मैनाली नेतृत्वको झापा जिल्ला कमिटी (पछि को–अर्डिनेशन केन्द्र) मा रुपान्तरण र मोहनविक्रम सिंहको न्यूक्लियस फरक फरक समूहबाट सक्रिय बन्यो ।
- ३५ सालमा पुष्पलालको निधनपछि मदन भण्डारी, बामदेव गौतमहरुबाट मुक्ति मोर्चा गठन । पुष्पलाल पत्नी साहनाले चलाइन् नेकपा ।
- ३५ सालमा पुनः सीपी मैनालीको समूह नेकपा (माले) मा रुपान्तरण ।
- ३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (मनमोहन) गठन ।
- ४३ सालमा साहना र मनमोहन समूहबीच एकता भई नेकपा (माक्र्सवादी) गठन ।
- उता, मोहनविक्रम सिंहले छुट्टै चौंथो महाधिवेशन गरेर पार्टीको नाम नै ‘चौंथो महाधिवेशन राखे । निर्मल लामाले चौंथो महाधिवेशन विभाजनमा ल्याए र, आफूले नेतृत्व लिए ।
- मोहनविक्रमको नेतृत्वमा छुट्टै नेकपा मसाल बन्यो । पाँचौं महाधिवेशनमा आइपुग्दा मोहनविक्रमको मसालमा पनि विभाजन आयो । मोहन वैद्य नेतृत्व मोटो ‘मशाल’ बन्यो । र, मोटो मशालले सशस्त्र युद्धको बाटो समात्यो ।
- ४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनका लागि बनेको बाममोर्चामा चौथौं महाधिवेशन (चौम समूह) सहभागी भएन । उनीहरुले छुट्टै ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ बनाए । जसमा मोटो मशाल, पातलो मसाल, सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) लगायतका पार्टी सहभागी भए ।
- बहुदलपछि मशाल, चौम, सर्वहारा श्रमिक संगठन, रुपलाल विश्वकर्मा समूह मिलेर नेकपा (एकता केन्द्र बन्यो ।
- ५१ सालमा एकता केन्द्रमा पनि विभाजन आयो । प्रचण्ड, वैद्य लगायतको समूह नेकपा माओवादी बनाउने सशस्त्र जनयुद्धमा लागे भने नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोखरेल लगायतले छुट्टै एकता केन्द्रमै बनाए ।
- माओवादी शान्ति प्रक्रियामा आइसकेपछि नारायणकाजी समूह एकतामा आएसँगै नेकपा एकीकृत माओवादी बन्यो । मोहन वैद्य, विप्लवहरु अलग भई नेकपा–माओवादी अर्थात ड्यास माओवादी बनाए । मोहन वैद्य समूहबाट पनि विप्लवहरु फेरि अलग भए ।
नेकपा एमाओवादीबीच पनि विभाजन भई अहिले दर्जनौं पार्टीमा चिरा परे ।
- २०७५ सालमा प्रचण्ड नेतृत्वको एमाओवादी र एमालेबीच एकता भई सिङ्गो नेकपा बन्यो तर त्यो एकता २ वर्ष पनि टिक्न सकेन । त्यसपछि पनि विभाजनको श्रृंखलाहरु रोकिएको छैन ।
विभाजनसँगै एकताको बहस र चर्चा
६ सालमा स्थापना भएको नेकपा दर्जनौं चिरामा छन् । त्यसमध्येको १० वर्षे सशस्त्र युद्धबाट आएको मध्ये प्रचण्ड समूह र तत्कालिन अवस्थामा नेकपा माले र माक्र्सवादीबीच एकता भई बनेको एमाले मुल पार्टीको अस्तित्वमा छन् । अन्य कम्युनिस्ट घटकहरु अस्तित्वविहिन जस्ता बनेका छन् ।
अहिले पुनः एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी, वैद्यबाट अलग भएका विप्लव लगायतका दलहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँगको एकताको प्रयासमा छन् ।
जो समाजवादी मोर्चाबाट क्रियाशील छ । तर शनिवार नेकपाका संस्थापक पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका नेता झलनाथ खनालले एकतामा संशय ब्यक्त गरेका छन् ।
माओवादी केन्द्र र माओवादी केन्द्रबीच मात्र होइन, विप्लव समूह पनि एकताका लागि खुट्टा उचालिरहेको छ । अहिलेसम्म औपचारिक रुपमा संसदीय निर्वाचन नै बहिष्कार गरेका विप्लव प्रचण्डसँग एकता गर्ने उद्देश्यले नै ८४ को निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । एमालेबाट डिभोर्स गरेका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ७९ को निर्वाचनमा राष्ट्रिय दलसमेत बन्न सकेन । अहिले पनि पार्टीमा पहिरो जाने क्रम जारी नै छ ।
नयाँ दलहरु उदाइरहँदा यी दलहरुबीच एकता बिना आगामी निर्वाचनमा साना कम्युनिस्ट घटकहरुको पत्तासाप निश्चित छ । त्यसैले फुटाउन बेर नलाउने कम्युनिस्ट नेताहरु विचारलाई सहमतिको नाम दिएर संकटमा एकता गर्न पछि पर्दैनन् भन्ने विगतले पनि देखाइसकेको छ । केही दिनअघि मात्रै बामदेव गौतम समूह माधव नेपालको पार्टीमा समाहित भइसकेका छन् ।