
काठमाडौं । धिमे र नेवारी नृत्यको तालमा ठेचोका युवाहरू उत्साहका साथ अघि बढिरहेका छन् । परम्परागत कला जोगाउने उद्देश्यले गरिएको प्रशिक्षणमा सहभागी युवाहरूले धिमे मात्र होइन, आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकेका छन् । यो पहलले स्थानीय समुदायमा सांस्कृतिक चेतना थप बलियो बनाएको छ ।
नेवारी समुदायको सांस्कृतिक जीवनशैली धिमे बाजा र नृत्यबिना अधूरो देखिन्छ । धिमे बाजाको गहिरो ताल र नेवारी नृत्यको लयले हरेक उत्सव, जात्रा र चाडपर्वलाई जीवन्त बनाउँछ । नेवारको सांस्कृतिक पहिचानको आत्मा नै धिमे बाजामा लुकेको हुन्छ । यो बाजा केवल एउटा संगीत उपकरण मात्र होइन, नेवारी समुदायको जीवनशैली, इतिहास र परम्पराको धड्कन हो । नेवार समुदायका लागि धिमे बाजा सांस्कृतिक जीवनको एक अभिन्न अंग हो ।
तर आधुनिकता र बदलिँदो जीवनशैलीका कारण युवापुस्तामा परम्परागत बाजा र नृत्यप्रति आकर्षण घट्दै गएको छ । यसै सन्दर्भमा, ठेचोस्थित सरस्वती धिमे खलः ले युवापुस्तालाई धिमे बाजा र नेवारी नृत्यतर्फ आकर्षित गर्ने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रशिक्षणमा ८५ जनाको सहभागिता रह्यो । यसले सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण प्रयास उजागर गरेको छ ।
परम्परागत नेवारी संस्कारअनुसार ‘नाथ गुरु’ को पूजा गरी धिमे प्रशिक्षणको शुभारम्भ गरिन्छ । यो पूजा धिमे बाजा र नेवारी संस्कृतिप्रतिको सम्मानको प्रतीक मानिन्छ । यसअघि धिमे प्रशिक्षण प्रायः बाजाका गुठियार (गुठी सदस्य) मा मात्र सीमित हुने गथ्र्यो । तर, सरस्वती धिमे खलः ले यो परम्परा तोड्दै सबैका लागि प्रशिक्षण खुला गरेको छ । यसले नयाँ पुस्तालाई सहभागी गराउने नयाँ ढोका खोलिदिएको छ ।
धिमे बाजासँगै नेवारी नृत्यको पनि तालिम दिइएको छ । प्रशिक्षकहरूका अनुसार धिमे बाजा र नृत्यको संयुक्त प्रशिक्षण सामान्यतया कम्तीमा ६ महिनासम्म चल्ने गर्दछ । तर यो कार्यक्रमलाई समयानुकूल र व्यावहारिक बनाउन ३ महिनाको छोटो अवधिमा सम्पन्न गरिएको हो । छोटो अवधिमा पनि धिमे र नृत्य सिकाउन प्रशिक्षणलाई व्यावहारिक र उत्साहपूर्ण बनाइएको छ ।
नेवार समुदायमा धिमे बाजा मात्र संगीतको साधन नभएर संस्कृतिको आत्मा हो । यसले नेवारी जात्रा, गुठी, बिहे र चाडपर्वलाई जीवन्त बनाउँछ । यही कारण, यस्तो प्रशिक्षणले युवा पुस्तामा आफ्नै संस्कृति र परम्पराबारे गर्वको भावना जगाउने अपेक्षा गरिएको छ ।
सरस्वती धिमे खलः का अनुसार, यस किसिमको प्रशिक्षण केवल बाजा बजाउने सीप सिकाउने मात्र होइन, संस्कृतिको इतिहास, अर्थ र गहिरो भावना बुझाउने माध्यम पनि हो । युवाहरूमा आधुनिक संगीतसँगै परम्परागत बाजाको महत्व बुझाउने र सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्य यस प्रशिक्षणको मूल ध्येय हो ।
यस्तो कार्यक्रमलाई समुदायले पनि उत्साहपूर्वक स्वागत गर्ने गरेको छ । ठेचो र आसपासका बस्तीका अभिभावकहरू आफ्ना सन्तानले धिमे र नेवारी नृत्य सिकेर सांस्कृतिक सम्पदा जोगाउने काममा हातेमालो गरेकोमा गर्व व्यक्त गर्छन् ।
यसरी, धिमे बाजा र नेवारी नृत्य केवल मनोरञ्जनका साधन मात्र नभई, नेवार समुदायको सांस्कृतिक पहिचान र आत्मसम्मानको धरोहर हो । सरस्वती धिमे खलःले गरेको यस्तो प्रशिक्षण पहलले भविष्यमा नेवार सांस्कृतिक जीवन्तता पुनःस्थापित गर्नेमा आशा जगाएको छ ।