
काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकामा पछिल्लो समय शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएको छ । स्थानीय पालिका, विद्यालय र शिक्षकहरुको सामूहिक प्रयास र समर्पणले यहाँका सामुदायिक विद्यालयहरू अब निजीस्तरको गुणस्तरमा चम्किन थालेका छन् । शैलुङका सामुदायिक विद्यालयहरुमा देखिएको यो किशिमको सफलताको कथा साच्चिकै प्रेरणादायी छ ।
झट्ट यो प्रार्थना सभा हेर्दा तपाईंलाई लाग्न सक्छ यो कुनै निजी बिद्यालय हो । सुविधासम्पन्न निजी विद्यालय जस्तो देखिने यो दुर्गा माध्यमिक विद्यालय वास्तवमा शैलुङ गाउँपालिकाको एक सामुदायिक विद्यालय हो । भौतिक संरचना मात्रै हैन, अध्ययनको गुणस्तर र अनुसासनमा पनि दुर्गा मावि अब्बल छ ।
दुर्गा मावि त एउटा उद्धाहरणमात्रै हो, सामुदायिक विद्यालय भन्ने बित्तिकै नाक खुम्चाउनेहरुलाई अब सैलुङका सामुदायिक विद्यालयहरुले गतिलो झापट हान्न सक्छन् । यहाँका सामुदायिक बिद्यालयहरुको गुणस्तर र शैक्षिक वातावरण यसरी सुधारिएको छ कि अहिले अधिकांस अभिभावकहरु आफ्ना बालबालिकालाई यीनै सामुदायिक विद्यालयहरुमा पढाउन चाहन्छन् ।
पालिकामा सामुदायिक विद्यालयहरुः
शिक्षामा समृद्धिको आधार खोज्ने अभियान अन्तर्गत शैलुङ गाउँपालिकाले शिक्षा क्षेत्रलाई शीर्ष प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकामा हाल २७ पूर्वप्राथमिक, ३० आधारभूत, र ९ माध्यमिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये माघापौवा, कालिका र विरेन्द्र माध्यमिक विद्यालय उत्कृष्ट मानिन्छन् भने दुर्गा माध्यमिक विद्यालय नेपाल सरकारबाट ‘नमुना माध्यमिक विद्यालय’ को रूपमा चयन हुन सफल भएको छ । दुर्गा माविका शिक्षक बिष्णु बहादुर बस्नेतका अनुसार विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको छ र हाल करिब ४०० विद्यार्थी अध्ययनरत छन् ।
सैलुङका सामुदायिक विद्यालयहरुको ख्याती अन्य जिल्लासम्म फैलिएको छ । सिन्धुपाल्चोकको मुडे लगायतका क्षेत्रबाट समेत बालबालिका गाडी रिजर्भ गरेर दुर्गा माविमा पढ्न आउने गरेको प्रधानाध्यपक बालकृष्ण दाहाल बताउँछन् ।
विद्यालयहरुको स्तरोन्नतीका लागि बालमैत्री प्रबिधि मैत्री, विभिन्न क्लबको गठन अतिरिक्त क्रियाकलापहरुका साथै प्राय जसो बिद्यालयमा छात्रवासको पनि ब्यस्था गरिएको छ । विद्यालयहरुलाई सूचना तथा प्रबिधि मैत्री बनाइएको छ ।
शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले सामुदायिक विद्यालयहरुका लागि यो वर्ष ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप यसरी पुरस्कृत समेत गर्ने गरिएको छ ।
- ४.० जिपिए ल्याउनेलाई १ लाख रुपैयाँ
-३.८० – ३.९९ जिपिए ल्याउनेलाई २० हजार रुपैयाँ
-३.६० – ३.७९ जिपिए ल्याउनेलाई १० हजार रुपैयाँ
त्यस्तै, उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकहरूलाई पनि पुरस्कारस्वरूप ७ हजार रुपैयाँ गाउँपालिकाले दिने गरेको छ ।
सामुदायिक विद्यालयमा किन आकर्षण ?
सैलुङका सामुदायिक विद्यालयहरुमा विद्याथीको आकर्षण बढ्नुको कारण नियमित पठनपाठन र शैक्षिक क्यालेण्डरको पालना मात्रै होइन । शैक्षिक वातावरणसँगै धेरै कुराहरुमा सुधार गरिएको छ ।
भवनदेखि सूचना सञ्चारसम्मको पहुँचको विस्तार विद्यालयहरुमा गरिएको छ । अधिकांश विद्यालयमा सुविधासम्पन्न भवन निर्माण, शुद्ध खानेपानी, शौचालय, इन्टरनेट, कम्प्युटर प्रयोगशाला, स्मार्ट टिभी र क्ष्ऋत् अर्थात् सूचना तथा सञ्चार प्रविधको आक्रामकरुपमा विस्तार गरिएको छ ।
बालशिक्षक, कर्मचारी र लेखापालको तलबमा वृद्धि गरी क्रमशः १९ हजार, १७ हजार र २२ हजार पु¥याइएको छ । तलब शीर्षकमा मात्रै ७४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बालमैत्री शिक्षालाई प्रवद्र्धन गर्न पालिकाले कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजामा ५ रुपैयाँ थप गर्दै २० रुपैयाँ पु¥याएको छ । कक्षा ८ सम्मका सबै विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ ।
नीजि विद्यालय सामुदायिकमा रुपान्तरण
शिक्षामा आधुनिकताको प्रयोग गर्न शैलुङले नयाँ पाइलाहरू चालेको छ । उदाहरणस्वरूप, निजी क्षेत्रको सहयोगमा सञ्चालन भएको टोन मेमोरियल विद्यालयलाई हिल्टन आधारभूत सामुदायिक विद्यालयमा रूपान्तरण गरिएको छ ।
यो विद्यालयमा कक्षा ८ र १० सञ्चालन गर्दा लाग्ने अतिरिक्त कक्षाको खर्च पालिकाले आफैंले व्यहोर्र्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षकलाई आवश्यक पर्ने तालिम पनि नियमित गरिँदै आएको छ । शिक्षामै सुधार भए अन्य क्षेत्रमा पनि स्वतः सुधार आउँछ भन्ने विश्वासले गाउँपालिकाले यसरी शिक्षालाई महत्व दिएको गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठले बताए ।
समस्या पनि...
यति हुँदाहुँदै पनि शैलुङका अझै केही विद्यालयहरुमा सुधारको खाँचो छ । कतिपय विद्यालयहरुमा विषयगत शिक्षकको अभाव, विज्ञान प्रयोगशाला र पुस्तकालयको सुविधा छैन भने सूचना तथा सञ्चार प्रविधिको सीमित प्रयोग हुँदै आएको छ । धुलोरहित कक्षा कोठाको अभाव र कम्युटर ल्याबको न्यून उपयोग जस्ता समस्याहरू पनि यहाँका विद्यालयमा यथावत नै छन् ।
बसाईसराई र नीजि विद्यालयहरुको आकर्षणका कारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ । विद्यार्थीको संख्या कम हुनु पनि ठूलो चुनौतिको रुपमा देखिएको छ । यी बाहेक शैलुङ गाउँपालिकाले शिक्षाका लागि गरेका यो अभ्यास अरु पालिकाहरुका लागि लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
सामुदायिक विद्यालयलाई व्यवस्थित गर्दै समय सान्दर्भिक शिक्षाको अभ्यास गर्दै जाने हो भने निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयहरू पनि सक्षम हुने शैलुङका विद्यालयहरुले पुष्टि गर्दै गइरहेका छन् ।