News 24 Television
एमालेले मदन र विद्यालाई पेलेकै हो ? प्रचण्डले किन लगाए यस्तो आरोप ?

काठमाडौं । नेकपा एमाले आन्तरिक रुपमा राजनीतिक परिबन्दमा छ । आन्तरिक विवाद उत्कर्षमा भएपनि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले चलाइरहेको राजनीतिक डण्डामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रहार गरिरहेका छन् । प्रचण्डले ओलीमाथि व्यक्तिगत आरोपदेखि एमालेको पार्टी जीवनमै प्रहार गर्न थालेका छन् । 

यता, एमालेमा पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कसरी ठेगान लगाउने भन्ने विषयले आन्तरिक राजनीति उत्कर्षमा पु¥याइदिएको छ । 

एमालेको आन्तरिक राजनीतिको पछिल्लो परिदृश्य हो, यो । विद्यादेवी भण्डारीले आफूलाई एमालेको पूर्वउपाध्यक्षको रुपमा उभ्याएर पूर्वराष्ट्रपतिबाट कमरेड बन्न चाहेपनि एमालेले त्यो ढोका निर्वाध बन्द गरिदिएको छ । तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिरहेकी छन, मदन भण्डारीले दिएको सदस्यता खारेज गर्ने कुरा कल्पना गर्न सकिन्न । 

भण्डारीले यस्ता अनेक जिकिर गरिरहेपनि एमाले केन्द्रीय समितिले निर्णय नै गरेर उनको सदस्यतालाई निष्क्रिय पारिदिएको छ । जुन विषयले तत्काल भण्डारी एमालेमा हस्तक्षेपकारी भूमिकामा फर्किने सम्भावना छैन् । तर, एमालेको आन्तरिक विवाद भने यसले बढाउदै लैजाने छ । 

नेताहरुबीच ध्रुविकरण बढ्दै जानेछ । एमालेको आन्तरिक राजनीतिको अंकगणित बिग्रिन थालेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सक्रिय भूमिकामा मदन भण्डारी, जनताको बहुदलीय जनवाद र यसको उत्तराधिकारीको बहस छेड्न अघि बढेका छन् । प्रचण्डले विद्यादेवी भण्डारी मदनको उत्तराधिकारी बन्ने देखिएपछि एमाले अध्यक्ष केपी ओलीले छेकबार लगाएको भन्दै धुमिल बनेको माहोलमा राजनीतिक तीर हानेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले पार्टी राजनीतिमा गर्न खोजेको निषेधमाथिको बहस देशव्यापी चर्किएको छ । अधिकांशले राष्ट्रपति भइसकेको व्यक्ति दलको नेता बन्न आउने कुरालाई अस्वीकार गर्दै आएका छन भने कतिपयले यसलाई ठिक भनिरहेका छन् । तर, यी दुबै विषयमा स्वार्थ, राजनीतिक उद्देश्य भने प्रष्टै लुकेको देखिन्छ ।

एमालेको आन्तरिक अंकगणित कसरी बिगार्न सकिन्छ र वामपन्थी जनमत कसरी आफ्नो पोल्टामा पार्न सकिन्छ भन्नेमा राजनीति गर्नु स्वभाविक विषय भएपनि यसका अनेक अवयवहरुमा भने बहस चलिरहेको छ । प्रचण्डले एमालेको आन्तरिक राजनीतिमा मात्रै टिप्पणी गरिरहेका छैनन्, अध्यक्ष केपी ओलीमाथि समेत निर्मम टिप्पणी गर्दै आएका छन् । ओली–प्रचण्डबीचको मित्रता र दुश्मनीको खास सीमा नहुने भएपनि पछिल्लो समय घोचपेच बढ्दो छ । प्रचण्डले ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षणकर्ताको रुपमा समेत उभ्याउने प्रयास गर्दै आएका छन् । 

एमालेमा केपी ओलीले नेतृत्व गरिसकेपछि सम्भवत यहि बेला नै ओली कमजोर देखिएका छन् । एकछत्र राज गर्न चाहेका ओलीमाथि विभिन्न चुनौति दिने काम चल्न थालेको छ । ओलीको निर्देशनमा नेताहरुले अवज्ञा गर्नेक्रमलाई तीब्रता दिएका छन् । यहि परिस्थिति बुझेका प्रचण्डले पनि एमालेको आन्तरिक राजनीतिलाई थप मेहनतसहित अप्ठ्यारो बाटोमा धकेलिदिने प्रयास गरिरहेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीको विषय एमालेमा संवेदनशील बन्ने र यसले आकार लिने चर्चा चलिरहेको बेला प्रचण्डको रणनीतिक मूभ सफल होला ? चासो र प्रश्नहरु भने देखिएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update