News 24 Television
मेयरको अनौठो सत्याग्रह, छैन ज्यानको प्रवाह

काठमाडौं । नेपालमा संघीयता लागू भएको एक दशक पुग्नै लागेको छ । २०७२ सालको संविधान अनुरुप नेपाल संघीय संरचनामा प्रवेश गरेको हो । संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ ।

तीनै तहको आआफ्नै महत्व छ । तर संघ, प्रदेश र स्थानीय तहबीच अधिकारका विषयमा विवाद हुने गरेको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु संघले अधिकार नदिएको भन्दै कहिले सिंहदरबार त कहिले सडक हड्तालमै उत्रिने गरेका छन् । 

अधिकारको खोजी गर्दै आइतबारदेखि खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरले काठमाडौंको माइतीघरमा सत्याग्रह थालेका छन् । 

काठमाडौंको माइतीघर मण्डला आन्दोलनको केन्द्र नै हो । जहा विभिन्न किसिमका आन्दोलन, धर्ना तथा अनसन देख्न सकिन्छ । यस्तै, अनौठो शैलीमा देखिएका छन्, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई ।

उनी किरियापुत्री जस्तै कपाल मुण्डन गरी सेतो बस्त्र धारण गरेर आइतबारदेखि माइतघीर मण्डलामा सत्याग्रह सुरु गरेका छन् । स्थानीय उत्पादनका सामग्री बोकेर संघ सरकारसंग अधिकार माग्न आइपुगेका मेयर तीर्थराजको माग आधा दर्जन वढि छ । 

आइतबारदेखि सत्याग्रह सुरु गरेका उनले मंगलबारसम्मको सत्याग्रह घोषणा गरेका छन् । स्थानीय राडीमा बसेर सत्याग्रहमा होमिएका उनको आन्दोलनस्थलमा बाँसबाट बनेका सामग्रीहरु देख्न सकिन्छ । 

मेयर तीर्थराजले संघ सरकारसँग राखेका मागहरु 

–हिमालको अस्तित्व रक्षा,

–बाँस लगायत कच्चा पदार्थहरुलाई प्रयोग गर्न पाउनुपर्ने

–प्लाष्टिकजन्य उत्पादनको नियमन र नीति निर्माण,

–जंगली जनावरको आतंक न्युनीकरण, क्षतीपूर्ति र कानुन निर्माण,

–वातावरणमैत्री सडक निर्माण,

–खोलाखोल्सी, क्रसर र चुरे दोहन नियमन सहितका स्पष्ट कानुन निर्माण

–सडक सञ्जालसहित राजमार्ग निर्माण 

पछिल्लो समय जलवायु परिवर्तनले विश्व आक्रान्त छ । नेपालमा चुरे दोहान, क्रसर तथा ढंगा गिटि उत्खनन् जस्ता कार्यले तराई सहित पहाडी जिल्ला खण्डहर बनिरहेका छन् । 

वर्षाको समयमा समेत पानीको हाहाकार नै मच्चिदा तराईका नागरिक कष्टकर जीवन बाँचिरहेका छन् । नेपालले संयुक्त राष्ट्रसंघ लगायतका विश्व फोरममा आफ्ना समस्या राख्दै आएको पनि छ । तर आवश्यक नीति र पहलको अभाव देखिन्छ । 

जनताको सेवा गर्न कार्यालयमा हुनपर्ने मेयर भट्टराई काठमाडौंमा आएर आन्दोलनमा उत्रिनुपर्दा सेवाप्रवाहमा असर परेको छ नै । तर उनी उपप्रमुखलाई कार्यबाहक जिम्मेवारी सुम्पिएर कार्यपालिका बैठककै निर्णयमा आफू सत्याग्रहमा होमिएको बताएका छन् ।  

२०७९ बैशाख बैशाख ३० मा भएको स्थानीय तहको चुनावमा कांग्रेसबाट नै मेयरमा निर्वाचित भएका हुन् भट्टराई । उनकै पार्टी अहिले सरकारमा छ । भट्टराईले राजनीतिक रुपमा नै समस्या समाधन खोज्न सक्थे । तर किन रोजे त सत्याग्रहका बाटो ? 

आइतबारबाट सत्याग्रह सुरु गरेको भट्टराईलाई अन्य केहि अभियन्ताहरुले पनि साथ दिएका छन् । बनेपा घर भएको बताउने बाँस अभियन्ता बद्री अधिकारी सरकारले यथासक्य बाँसको मुल्य निर्धारण तथा बजारिकरण गर्नुपर्ने बताउँछन् । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update