
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भित्र यतिबेला अन्तरविरोध उत्कर्षमा छ । पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमा उपमहासचिव जर्नादन शर्माले प्रश्न उठाएपछि विवाद चुलिएको हो ।
विवाद दुई नेता विच मात्रै सीमित छैन । पार्टी केन्द्रीय नेतादेखि पार्टीको जनवर्गीय मोर्चासम्म नै पुगेको छ । यतिबेला सार्वजनिक मञ्चमा नै पार्टीको आन्तरिक राजनीतिमा असहज परिस्थिति सिर्जना भएको देखिन्छ । राजनीतिक बृतमा माओवादी पुनः फुट्न लागेको चर्चा चलिरहँदा प्रचण्डले माधव नेपालसँग एकताको कार्ड फ्याकेका छन् ।
टुटफुट र छिन्नभिन्नले गतिलो झापड भेटेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रमा पुनः हलचल मच्चिएको छ । प्रचण्ड–जनार्दनबीच एक वर्षअघि विवाद चुलिएको थियो ।
त्यतिबेला जनार्दनलाई प्रचण्डले थामथुम पार्ने काम गरे । तर प्रचण्डको पुरानै रवैया कायमै रहेपछि नेतृत्वकै विरोधमा उत्रिएका हुन् जनार्दन शर्मा उर्फ प्रभाकर । शर्माको यो टकरावले माओवादी केन्द्रमा यतिबेला उकुसमुकुसको परिस्थिति सिर्जना भएको छ । शर्माले प्रचण्ड ब्रान्डको खुलेरै आलोचनामा उत्रिएपछि तीन दशक यता पार्टीको मुल नेतृत्वमा रहेका प्रचण्डले दबाब तथा असहज महसुस गरिरहेका छन् । दुई नेता विचको विवाद उच्च विन्दुमा पुग्दा पार्टी भित्र केन्द्रीय नेताको हिसाबकिताव भइरहेको चर्चा छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा नेता तथा कार्यकता पंक्तिसम्म नै गुटगत बहस चर्किएको छ । भ्रातृसंगठनका नेताहरु समेत कित्ता किलियर गर्न र आफ्ना नेताको रक्षामा उत्र्रिएका छन् । दुबै पक्ष आरोप प्रत्यारोपमा उत्रिदा माओवादी भित्रको कलह छरपष्ट मात्रै भएको छैन, पार्टी फुटको चर्चा समेत भइरहेको छ ।
विवादले सर्वत्र स्थान पाएका बेला उपमहासचिव शर्माले सामाजिक संजाल मार्फत् कार्यकर्तालाई सम्हालिन र अध्ययन गर्न आह्वान् गरेका छन् । यसविचमा शर्मालाई राहत मिल्नेगरी अर्का नेता सुदन किरातीले प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । चाकडी र चाप्लुसी प्रवृत्ति अन्त्य गर्नुपर्ने किराँतीको विश्लेषण छ । यता प्रचण्डको रक्षार्थ अर्का उपमहासचिव बर्षमान पुन उभिएका छन् ।
माधवसँग प्रचण्डको एकता वार्ता
पार्टी भित्रको अन्तरसंघर्षमा कुनै न कुनै नेतालाई काखी च्यापेर शक्ति सन्तुलनमा राख्ने माओवादी अध्यक्ष प्रचण्ड विगतदेखि प्रवृत्ति हो । बाबुरामलाई ठीक पार्न मोहन वैद्य र वैद्यलाई ठीक पार्न भट्टराईलाई बोक्ने काम प्रचण्डले जनयुद्धदेखि नै गर्थे । पछिल्लो पटक महासचिव पदमा वर्षमान र जनर्दनको लडाईँमा देव गुरुङलाई महासचिवको पदरी गुथाएका हुन् ।
अहिले पनि प्रचण्डको ध्यान उही शैलीको शक्ति सन्तुलनमा छ । फलस्वरुप नेकपा एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने ध्याउन्न छ । एमालेबाट टुक्रिएर बनेको नेकपा एस अध्यक्ष माधव नेपालसंग प्रचण्डले भेटवार्ता बाक्लिएको छ । आइतबार यता तारान्तार प्रचण्ड–माधवको भेटले पार्टी एकतामा गम्भिर छलफल भएको बुझिन्छ ।
नेकपा एसले साउन २ गते बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसंग एकता गरेको थियो । माओवादीले यसअघि नेपाल समाजवादी पार्टीसंग एकता गरेको थियो भने महेन्द्र राय नेतृत्वको समुहसंग एकताको अन्तिम चरणमा पुगेको छ । यस्तोमा प्रचण्डले नेकपा एसलाई एकता कार्ड फ्याकेका हुन् त ?
उसो त माओवादी अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसंग समेत पार्टी एकताको बहस नचलेको होइन । प्रचण्डले दिएको पार्टी एकताको आश्वासनले गर्दा नै ८४ को चुनावमा जाने निर्णय गरिसकेका विप्लवलाई एकतामा ल्याउन प्रचण्डले नै रोकिरहेका छन् । एकता हुने छाँट नदेखिएपछि विप्लवले पनि जनर्दन समूहसँगको छलफल अघि बढाएका छन् । विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि तत्काल एकताको कुनै वातावरण नबनेको स्वीकार्छन् ।
विप्लवको धम्की पश्चात् मोर्चाको बैठक
चार दल सम्मिलित नेपाल समाजवादी मोर्चा निस्कृय जस्तै बनेको छ । नेपालमा समाजवाद स्थापनाको उदेश्य सहित अघिल्लो बर्ष असार ४ मा गठन भएको मोर्चा गति र दिशा विहिन बनेको देखिन्छ । गत बर्ष चैत १५ मा राजावादी रोक्न काठमाडौँमा शक्ति प्रदर्शन गरेको मोर्चा सेलायो । मोर्चा औपचारिकतामा सिमित हुँदा कमाण्डर विप्लवले मोर्चाबाट बाहिरिने संकेत गरेपछि प्रचण्ड झस्किएका थिए ।
उसैको परिणाम स्वरुप मंगलबार मोर्चाको बैठक नेकपा एसको केन्द्री पार्टी कार्यालय आलोकनगरमा बसेर छलफल गरेको हो । नयाँ रणनीति सहित अघि बढ्ने बारे घनीभुत छलफल भएको नेताहरुले दाबी गरेका छन् ।
माओवादी विगतदेखि बर्तमान उस्तै
१० बर्षे शशस्त्र द्घन्द्घको अन्त्य गर्दै शान्तिपुर्ण राजनीतिमा फर्किको माओवादीले २०६४ को संविधानसभा चुनावमा झण्डै दुई तिहाई जनमत सहित एकल सरकारको नेतृत्व गर्ने अवसर पायो । तर त्यो धेरै लामो समय टिक्न सकेन । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड पार्टी एकतालार्य जोगाउन सकेनन् ।
त्यसपछि माओवादी छिन्नभिन्न भयो । अहिलेसम्म आइपुग्दा माओवादी विभिन्न टुक्रामा विभाजित छ । विभाजनकै असरका कारण माओवादी त्यसयताका चुनावमा तेस्रो शक्तिमा खुम्चिदै आएको छ । कांग्रेस एमालेसँग विगतमा भएको गठबन्धन जस्तो आगामी निर्वाचनको सम्भावना कम भएकाले आगामी निर्वाचनसम्म प्रचण्डले कस्तो कार्ड प्रयोग गर्छन्, प्रतिक्षाको विषय बनेको छ ।