
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ ।
भैरहवामा बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दाबी गरेका हुन् । उनले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए । त्यसलाई रास्वपाले नै नेपाली जनताको घरदैलोको मुद्दा बनाएको उनकाे दाबी छ ।
राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको रास्वपाको निष्कर्ष छ ।
परियारले भने, ‘भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो । त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएर नेपाली जनताको घरघरको मुद्दा र राज्यले नीति बनाएर, संरचना बनाएर आफ्ना नागरिकलाई दिएको दुःखको मुद्दा हामीले संसदमा स्थापित गर्यौँ भन्ने हाम्रो ठम्याइ रह्यो । भ्रष्टाचारका अन्य मुद्दाहरु हामीले संसदभित्र उठायाैँ । अहिले पनि आन्दोलनकै क्रममा छौँ ।’
उनले भ्रष्टाचारका अन्य मुद्दाहरु पनि संसदभित्र आफूहरुले उठाइरहेको बताउँदै अहिले पनि रास्वपा आन्दोलनकै क्रममा रहेको दाबी गरे ।