
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अन्तर संघर्ष निकै उत्कर्षमा छ । पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नेतृत्वविरुद्ध धावा बोल्दै विशेष महाधिशन गर्नुपर्ने औपचारिक माग अघि सारेपछि माओवादी गम्भीर मोडमा पुगेको छ । पार्टीभित्रको विवाद छताछुल्ल भएपछि साउन १६ गते पार्टी स्थायी समितिको बैठक डाकेको छ । प्रचण्ड र जनार्दनबीच उत्पन्न भएको टसल सहजै समाधान हुने देखिदैन । तर नेताहरुले सबै समस्या समाधान हुने दाबी गरेका छन् ।
बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई चासोपुर्वक हेरिएको थियो ।
किनभने, पछिल्लो साता यता माओवादी भित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच पानी बाराबारको स्थिति सिर्जना भएको चर्चा थियो । कारण के भने अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर जनार्दन खुलेरै सार्वजनिक मञ्चबाट आलोचनामा उत्रिएका छन् । प्रचण्डले पनि सार्वजनिक फोरमबाटै जवाफ फर्काउने गरेका छन् ।
अहिले माओवादीभित्र दुई नेता बिचको बिवाद सतहमा छ । परिस्थिति कहाँसम्म पुग्यो भने प्रचण्ड हेडक्वाटर र प्रभाकर पक्षले एक अर्कालाई दोषारोपण गर्न समाजिक सञ्जालमै उत्रिएका छन् ।
त्यसकारण बुधबारबारको बैठक महत्वपुर्ण मानिएको थियो । तर डेढ घण्टामै सकिएको बैठकले साउन १६ गते स्थायी कमिटि बैठक तय गर्नु बाहेक अन्य कुरामा प्रवेश गर्न सकेन । बैठकको निर्णय सुनाउन पुगेका प्रवक्ता अग्नि सापकोटा प्रचण्ड–प्रभाकर ‘वार’ बारे बोल्न चाहेनन् ।
माओवादी प्रवक्ता सापकोटा मात्र होइन, उपमहाचिव जनार्दन पनि पत्रकारको प्रश्नबाट भाग्न खोजे । मतलव बुधबारको पदाधिकारी बैठकमा सार्वजनिक मञ्चमा गरिएको पार्टीको अन्तरसंघर्षबारे राम्रैसँग बहस भएको थियो । उनी पदाधिकारीको घेराबन्दीमा परेको प्रष्ट झल्एिको छ । त्यसैले प्रचण्डको कार्यशैलीमा प्रश्न उठाएका शर्मा नै पेरिडाँडामा पत्रकारसँग बोल्न चाहेनन् ।
उसो त पत्रकारसँग नखुलेका शर्माले सामाजिक संजाल फेसबुक मार्फत पार्टी नेतृत्व माथि प्रश्न उठाउँदै विशेष महाधिवेसनको आह्वान गरिसकेका छन् । विकसित राजनीतिक परिस्थितिका विषयमा चार बुँदामा स्पष्ट पारेका उनले विशेष महाधिवेशनको माग गरेका छन् ।
१.विशेष महाधिवेशन गरिनुपर्ने ।
२. आत्म समिक्षा र एजेण्डा केन्द्रीत बहस गर्नुपर्ने ।
३. संविधान संशोधन, अर्थतन्त्रको पुर्नसंरचना र पार्टी पुर्नगठनमा जोड ।
४.हेडक्वाटरबाट पार्टी फुट्ने भनी गरेको प्रचार बन्द गरिनुपर्ने ।
अध्यक्ष प्रचण्डको आलोचनाले पार्टी भित्र दुई तीर सिर्जना भएको विश्लेषण भइरहेको छ ।
एक हेडक्वाटर पक्ष र अर्काे प्रभाकर पक्ष । तेस्रो पक्षका नेताहरुले पार्टी भित्रको समस्या आन्तरिक रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । प्रचण्ड–जनार्दन विवादबारे बोल्दै उपमहासचिव बर्षमान पुनले समस्या भए पार्टीको आन्तरिक फोरमका छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
माओवादी भित्रको विकसित राजनीतिक घटानाक्रम हेर्दा पार्टी फुट्ने त होइन् भन्ने चासो ब्याप्त छ । जनार्दन शर्मासंग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेको भेट पश्चात् विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।
यसले माओवादीमा झन डर पैदा गरेको छ । माओवादी नेता राम कार्की भने पार्टी बैचारिक र सांठनिक रुपमा बलियो बनाउन यो भन्दा ठुलो विस्फोट आवश्यक देखिएको बताउँछन् । तर पार्टी फुट्ने चर्चा हल्ला मात्रै रहेको उनको निष्कर्ष छ ।
महासचिवमा जनार्दनको नजर
नेकपा माओवादी केन्द्रमा संस्थापन इतर पक्षको भुमिकामा देखिएका उपमहासचिव प्रभाकर अध्यक्ष बन्ने होडमा नरहेको उनी आफै बताउँदै आएका छन् । बरु महासचिवमा उनको नजर रहेको स्वीकारोक्ती उनी निकट नेताको छ । उसो त यसअघि महासचिवका लागि अर्का उपमहासचिव बर्षमान पुन र शर्मा विच टकरावको स्थिति बनेपछि अध्यक्ष प्रचण्डले मध्यमार्गी बाटो रोज्दै देव गुरुङलाई महासचिवको जिम्मेवारी सुम्पिएका थिए ।
प्रभाकर प्रचण्डको विकल्प भन्दा पनि नेतृत्वलाई घुर्कि लगाएर महासचिव पोल्टामा पार्ने दाउमा रहेको विश्लेषण भइरहेको छ । तर पार्टी भित्र भने जर्नादनले आफ्नो शक्ति बलियो बनाउँदै लगेका छन् । अहिले उनीसँग ९० हाराहारी केन्द्रीय सदस्य र १० जना सांसद रहेको दावी गरिएको छ ।
नेपाली राजनीतिमा पार्टीको आन्तरिक कलह रोग जस्तै बनेको छ । कुनै न कुनै मुद्धामा नेताहरु विच कलह सिर्जना हुन्छ, अनि राजनीतिक स्पेस बढेर जान्छ । विशेषगरी पुराना राजनीतिक दल कांग्रेस, एमाले र माओवादीमा यस किसिमको रोग विकराल बन्दै गएको छ ।
यतिबेला एमालेमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रकरण, कांग्रेसमा मुख्यमन्त्री प्रकरण र माओवादीमा प्रचण्ड–जनार्दन प्रकरणले स्थान पाएको हो । माओवादीको आन्तरिक कहलको थप चर्चा साउन १६ को स्थायी कमिटि बैठकमा हुनेछ । उक्त बैठकले निकास तर्फ लैजान्छ कि बहस तलसम्म नै पुग्छ, प्रतिक्षाको विषय बनेको छ ।