News 24 Television
ओली क्याबिनेट नै छैन भ्रष्टाचारबाट अछुतो, भन्छन्–भ्रष्टाचार नियन्त्रणको पर्याय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार प्रकरणले सबैभन्दा बढी बदनाम छ । भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएका छन् । 

घुस अडियो डिल प्रकरणकै कारण राजकुमार गुप्ताले मन्त्री पदबाटै हात धुनु पर्यो । भूमि ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीमाथि पनि पोखराको लिचिबारी घुसकाण्डमा मुछिएका छन् । भ्रष्टाचारमा मुछिएका आफ्नै क्याबिनेटका मन्त्रीहरुलाई समेत बर्खास्त गर्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको भन्न छाडेका छैनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेट सदस्यहरु नै भ्रष्टाचारमा मुछिएकाहरु छन् । नक्कली कागजात बनाएर सेटिङ मार्फत भिजिट भिसामा नेपाली नागरिकलाई विदेश पठाएको आरोप गृहमन्त्री रमेश लेखकमाथि छ । 

गृहमन्त्री लेखक भिजिट भिसामा प्रकरणमा मुछिएको भन्दै झण्डै संघीय संसदको जारी अधिवेशनभर नै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा उभियो । उच्चस्तरीय छानबिन आयोगको माग  गर्दै ती दुई दलले अहिले पनि प्रतिनिधिसभाको बैठकमा विरोध र बहिष्कार गर्दै आएका छन् । 

यहिबीचमा ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजनीनामा दिनु पर्यो । ७८ लाखको घुस डिल प्रकरणसँगै पोखराको लिचीबारी बगैंचा प्रकरणमा अर्कामन्त्री बलराम अधिकारी मुछिएका छन् । घुस प्रकरणमा मुछिएका मन्त्रीलाई समेत प्रधानमन्त्री ओलीले बर्खास्त गर्न सकेका छैनन् । 

प्रधानमन्त्री ओली आफै मुछिएको गिरिबन्धु टी इस्टेट प्रकरण किनारा लागेको छैन । तर प्रधामन्त्री ओली जहिले पनि आफू भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताउन भने छाड्दैनन् । बुधबार राष्ट्रियसभाको बैठकमा पनि पनि उनले सोही कुरा दोहो¥याए । उनले आफ्नो सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरे । 

बुधबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची भएपछि सोही बैठकमा पनि ओलीमाथि विभिन्न प्रश्नहरु उठे । राष्ट्रियसभा बैठकको सून्य समयमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाए । 

तर प्रधानमन्त्री ओलीले सांसद शर्माको आरोप स्वीकार्न तयार देखिएनन् । सरकारले एकदुई जनालाई कारबाही गर्दा सरकार र भ्रष्टाचार पर्यावाची भन्ने गरेको गुनासो गरे । बरु उनले गम्भीर विषयमा छलफल हुँदा खेरी हामी त्यही गम्भीरता साथ लिनुपर्ने भनी सांसदहरुलाई चेतावनीको शैलीमा प्रस्तुत भए । 

प्रधानमन्त्री ओलीविरुद्ध नै मानव तस्करको उजुरी 

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको भनी राष्ट्रिय सभा बैठकमा सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओलीविरुद्ध नै प्रहरीमा उजुरी परेको छ ।

सिन्धुलीका युवराज पौडेल सफलले प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध हुलाकमार्फत प्रहरीमा उजुरी पठाएका छन् । पदमा हुँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको गम्भीर आरोपसहित ओलीविरुद्ध उजुरी दिएका छन् ।  

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update