
काठमाडौं । मधेस आन्दोलन भिषण रुपमा उठेको बेला थारु समुदायमा राज्यको उपेक्षा गरेको भन्दै ७२ सालमा उर्लिएको थारुहठ आन्दोलनबाटै रेशम चौधरी उदाएका हुन् । टीकापुर काण्डपछि रेशम चौधरीलाई दोषी करार गरिँदा कैलालीका थारु समुदाय राज्यप्रति अझै आक्रोशित बने । र, दोषी करार गरिएका चौधरीलाई नै निर्वाचित गरिदिए ।
थारु समुदायको माया पाउने अपेक्षाले नै आफू संरक्षक रहेर रेशमले घोषणा गरेको पार्टीको अध्यक्ष बन्ने मौका पाएकी थिइन, रञ्जिता श्रेष्ठ चौधरी ।
पार्टीको नेतृत्वसमेत पाएर सांसद निर्वाचित रञ्जिता मन्त्रीसमेत बन्ने मौका पाएकी हुन् । तर उनी विभिन्न प्रलोभन र काण्डहरुमा मुछिएकै कारण पार्टीको सदस्यसमेत बन्ने हैसियत गुमाएकी छन् ।
कुनै समय सुदूरपश्चिम र थारु समुदायको राजनीतिक आकांक्षाको प्रतीक बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) गम्भीर आन्तरिक संकटमा फसेको छ ।
पार्टीका संरक्षक तथा सांसद रेशम चौधरीले आफ्नी पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउँदै आफ्ना बुवा लालबीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष नियुक्त गरेका छन् । राष्ट्रिय भेलाबाट बुधबार साँझ रञ्जिता चौधरीलाई हटाउने निर्णय पारित गर्दै चौधरीले नेतृत्व हस्तान्तरण गरेका हुन् ।
यो कदमसँगै नाउपामा सत्तासंघर्ष, वैचारिक दिशाहीनता र नेतृत्वको द्धन्द्धले चरम रूप लिएको छ । पार्टीभित्रको आन्तरिक कलह गत साता सार्वजनिक रुपमा देखिन थालेको थियो ।
अध्यक्ष रञ्जिताले आइतबार वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । उनले स्वास्थ्य कारण देखाउँदै निर्णय लिएको बताइन् । तर, बहुमत केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र बैठक बोलाउन दिएको अल्टिमेटमबाट जोगिन उनले हतारमा निर्णय लिएको आरोप लाग्यो । यता, रेशम चौधरीले केन्द्रीय समिति बैठक बिना रञ्जिताको निर्णयलाई आफूखुसी ठहर गर्दै उनलाई पदमुक्त गरेका हुन् । रेशम पक्षको भेलाले रञ्जितालाई अध्यक्ष पद र साधारण सदस्यता दुवैबाट हटाउने निर्णय गर्दै नेतृत्व बुवालाई हस्तान्तरण गरेको छ ।
व्यक्तिगत सम्बन्धको विग्रह
यो निर्णयमा रेशम र रञ्जिताको व्यक्तिगत सम्बन्धको बिग्रँदो अवस्था पनि प्रष्ट झल्किन्छ । पछिल्लो समय अर्की पत्नीको साथमा रहेको भनिएका रेशमले रञ्जितालाई मात्र पार्टी नेतृत्वबाट होइन झन्डै सार्वजनिक जीवनबाटै विस्थापित गर्ने निर्णय गरेका छन् ।
राजनीतिक दलमा नेतृत्व परिवर्तन सामान्य प्रक्रिया भए पनि, यहाँ प्रक्रियात्मक पारदर्शिता, आन्तरिक संवाद र संस्थागत निर्णयको अभाव देखिएको छ ।
पहिलो चुनावमै उदाएको पार्टी संकटमा
२०७९ सालको आमनिर्वाचनमा चमत्कारी रूपमा उदाएको नाउपाले प्रतिनिधिसभामा चार सिट जितेको थियो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि पार्टीको प्रतिनिधित्व छ । तर, पार्टीको पहिलो कार्यकालमै आन्तरिक नेतृत्व द्वन्द्व र व्यक्तिगत टकरावले उसलाई अस्तित्वको संकटतर्फ धकेलिरहेको छ ।
रञ्जिता पक्षले पार्टीबाट हटाइएपछि अब नयाँ रणनीति बनाउने संकेत दिएकी छन् । उनले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टिकरण माग्दै असन्तुष्टि प्रकट गरिसकेकी छन् ।
यता, राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दलमा नेतृत्व परिवर्तन भए तापनि त्यसको प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र संवादमैत्री हुन आवश्यक हुन्छ । तर नाउपामा कुनै संस्थागत विधि अपनाइएन् । न त केन्द्रीय समिति बैठकबाट निर्णय गरियो, न त कार्यकर्तासँग संवाद । यसले गर्दा पार्टीभित्र शक्ति सन्तुलन गुम्न थालेको छ र भविष्यप्रतिको विश्वास कमजोर भएको छ ।
नाउपा कुनै समय सुदूरपश्चिम र थारु समुदायको आवाज बनेको थियो । तर, अहिले त्यही पार्टी व्यक्तिगत सम्बन्धको बलिबेदीमा चढिरहेको छ ।
रञ्जिताको चेतावनीका बिचमा अध्यक्ष चयन गरिएपछि नाउपा औपचारिक रुपमा नै विभाजनतर्फ धकेलिएको छ ।