News 24 Television
विशेष महाधिवेशन टार्ने प्रचण्ड रणनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रको अन्तरसंघर्ष तीब्र भइरहेकोबेला शुक्रबारदेखि स्थायी कमिटी बैठक शुरु भएको छ । केन्द्रीय पदाधिकारीको बैठकपछि स्थायी कमिटीको बैठक शुरु भएको हो । 

माओवादी स्थायी कमिटी बैठकमा खासगरी उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक गरेको धारणाका विषयमा छलफल हुनेछ । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले बैठकको एजेण्डाहरु प्रस्तुत गरेका छन् । 

पार्टीभित्र गुटगत विवाद चर्किदै गएकाले यसबारे चर्काचर्की पर्ने देखिए पनि पहिलो दिन प्रचण्ड निकै नरमरुपमा प्रस्तुत भएका छन् । 

केही दिनयता नेकपा माओवादी केन्द्रको गुटगत बहस सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालहरुमा समेत निकै चर्किएको छ । साउन ६ गते पुष्पलाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी उपमहासचिव जनार्दन शर्मा आफ्नै पार्टीका अध्यक्षमाथि खरो रुपमा प्रस्तुत भएका थिए । 

उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई असुली धन्दामा लागेको समेत आरोप लगाएका थिए । उनले सार्वजनिक मञ्चबाटै तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीबाहेक सबै प्रधानमन्त्रीहरु असुली धन्दामा लागेको गम्भीर आरोप लगाएका थिए । माओवादी अध्यक्ष प्रचण्ड पनि तीन पटक प्रधानमन्त्री भइसकेका ब्यक्ति हुन् । 

शर्माको यो अभिब्यक्तिले माओवादी केन्द्रमा निकै खैलाबैला मच्चियो । प्रचण्डले जनार्दनकै गृहजिल्लामै गएर जनार्दनविरुद्ध अभिब्यक्ति दिए । प्रचण्डले आफू निकै लचिलो बनेर जनार्दनलाई पार्टीमा सुँगुरी खेल्न दिएको प्रतिक्रिया दिएका थिए । 

जनार्दनविरुद्ध प्रचण्ड मात्रै होइन, उनको सिंगो हेडक्वाटर आक्रामक रुपमा उत्रियो । पार्टी विभाजन गर्नतर्फ लागेको आरोप जनार्दनमाथि लगाए । जनार्दन पक्षका नेता कार्यकर्ताहरु पनि विस्तारै खुल्दै जान थाले । र, हेडक्वाटरविरुद्ध बम बार्डिङ गर्न थाले । 

पार्टी केन्द्रदेखि तल्लो तहका कार्यकर्तासम्म नै गुटगत हमलाहरु भइरहँदा जनार्दनले सामाजिक सञ्जालबाटै विशेष महाधिवेशनको माग गर्दै ४ बुँदे धारणा सार्वजनिक गरेका थिए । 

जनार्दनलाई निषेध गर्ने रणनीतिमा प्रचण्ड 

माओवादी पदाधिकारी बैठकको दृष्यले पनि जनार्दन शर्मा पार्टीको घेराबन्दीमा पर्ने संकेत देखाइसकेको छ । सार्वजनिक मञ्चहरु तथा समाजिक सञ्जालबाटै नेतृत्व विरुद्ध आक्रामक बनेका शर्मा पदाधिकारी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिनसमेत हच्चिकएका थिए । 

प्रचण्ड आफू निकटका नेता कार्यकर्ताहरुलाई जनार्दनविरुद्ध आक्रामक बन्द निर्देशन दिइसकेका छन् । उनकै निर्देशनअनुसार प्रचण्ड हेडक्वाटर जनार्दनविरुद्ध एक साथ आक्रामक रुपमा उत्रिएको थियो । जारी स्थायी समिति बैठकबाटै जनार्दनलाई गम्भीर आत्मालोचना गराउने योजनामा प्रचण्ड छन् । 

नेकपा एससँग एकता प्रक्रिया सकारात्मक 

स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक रहेको ब्रिफिङ गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग दुई चरणको छलफल भएको पनि जानकारी गराएका छन् ।

माधव नेपाल एकताका लागि िसकारात्मक भएको भन्दै प्रचण्डले छिट्टै पार्टी एकता हुने विश्वास ब्यक्त गरेका छन् । तर प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँगको एकता प्रक्रिया अघि बढ्न नसकेको बताएका छन् । यद्यपि विप्लवसँग पनि एकताको पहल भने भइरहेको प्रचण्डले व्रिफिङ गरेका छन् । 

चार दलीय समाजवादी मोर्चालार्य थप प्रभावकारी बनाएर लैजान विषयमा छलफल भइरहेको र मोर्चा मार्फत छलफल अघि बढाउँदै पार्टी एकता गर्न सकिने विश्लेषण प्रचण्डले गरेका छन् ।

विशेष महाधिवेशन टार्ने योजना 

पहिलो दिन शुक्रबार स्थायी समिति बैठकको एजेण्डा प्रस्तुत गरेका प्रचण्डले यसअघि स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट शुरु गरी भदौ मसान्तसम्म सम्पन्न गर्ने प्रस्ताव गरेका छन् । तर केन्द्रीय समितिको बैठक भने कात्तिकतिर मात्रै बस्ने प्रस्ताव उनको छ । जबकी जनार्दनले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

प्रचण्डको यो प्रस्तावले विशेष महाधिवेशन टार्ने योजना देखिन्छ । बैठकको एजेण्डाहरु प्रस्तुत गर्दै समसामयिक विषयमा प्रचण्डले झण्डै डेढ घण्टा धारणा राखेका थिए । शनिवारबारदेखि हुने छलफलमा शर्माले आत्मालोचना गर्छन् कि आफ्नो एजेण्डामा सशक्त प्रतिवाद गरेर अघि बढ्छन्, माओवादी वृत्तमै निकै चासोको विषय बनेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update