News 24 Television
पूर्वराजाको हृदयेन्द्र कार्ड !

काठमाडौं । पूर्वनवयुवराज हृदयेन्द्र शाहको जुम्ला यात्रा र भ्लग अहिले यही छ चर्चाको केन्द्रमा छ । विकट हिमाली जिल्ला जुम्लाको संस्कृति, सौन्दर्य र साधारण जनजीवनलाई प्रस्तुग गरिएको भ्लगमा पूर्वनवयुवराज निकै शालिनशैलीमा प्रस्तुत भएका छन् । 

सामाजिक सञ्जालदेखि मिडियासम्म हृदयेन्द्रको शालीनता र सौम्य व्यवहारको प्रशंसा भइरहँदा राजनीतिक वृत्तले खासै प्रतिक्रिया नदिएपनि सामान्यरुपमा भने लिएको छैन । यो भ्लगलाई निर्मल निवासको हृदयेन्द्र कार्ड मानिएको छ । 

 
केही दिनयता देशमा केही कुराको चर्चा छ भने त्यो हो पूर्वनवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको हालैको जुम्ला भ्रमणको भ्लग । पूर्वनवयुवराजलाई केन्द्रमा राखेर निर्माण भएको भ्लगले सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चा बटुलेको छ । उनको भ्लगमार्फत जुम्लाको प्राकृतिक सौन्दर्य, संस्कृति र स्थानीय जीवनशैलीको अनुभव प्रस्तुत गरेका छन् । 

भ्लग सार्वजनिक भएलगत्तै सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया आएको छ । कर्णाली प्रदेशको सुन्दर गन्तव्यमध्ये एक जुम्लामा हृदयेन्द्रले स्याउ फार्म, कर्णाली प्राविधिक शिक्षालय र बौद्ध गुम्बाको भ्रमण गरे । 

स्थानीय युवतीसँगको भेटमा उनले जुम्लाको मौलिक गीत सुने । हृदयेन्द्रको शालीनता, भद्रता र शिष्ट हाउभाउको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । 

राजसंस्थाको नयाँ कार्डः हृदयेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र सार्वजनिक जीवनबाट टाढै थिए । अन्तरमुखी स्वभावका भनेर चिनिने उनको व्यक्तिगत स्वभावको बारेमा खासै सार्वजनिक भएको छैन । उच्चशिक्षाको क्रममा अमेरिकामा रहेका उनी केही समयअघि नेपाल फर्किएका हुन् । राजवादी प्रदर्शन चर्किरहेको बेला उनको स्वदेश आगमनलाई अर्थपूर्णरुपमा हेरिएको थियो । 

उनको व्यक्तिगत जीवनी धेरै नबाहिरिए पनि उनी चासोमा भने थिए । राजसंस्था विस्थापित नहुँदै पनि उनी विभिन्न कारणले चर्चामा आइरहन्थे । राजसंस्था विस्थापन गर्न चलेको २०६२÷०६३ सालको आन्दोलनताका राजा संस्था हटाउने कि राख्ने भन्ने बहस चल्दा बेबी किङको चर्चा उच्च थियो । 

राजसंस्थालाई राख्ने गरी ल्याइएको अवधारणाको बेबी किङको परिकल्पना उनैलाई लिएर गरिएको थियो । त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्रले देउवा नेत्तृत्वको सरकारलाई विस्थापित गरेपछि विस्तारै बदनाम हुँदै गइरहेका थिए । 

दरबार हत्याकाण्डको प्रसंग चल्दा पनि उनलाई आशंकाले हेरिन्थ्यो भने तत्कालिन युवराज पारश शाहको सार्वजनिक छवि एकदमै नराम्रो थियो । पारसलाई युवराज घोषणा समेत ज्ञानेन्द्र शाहले दशैको विदाको अवसरमा काठमाडौ सुनसान भएको मौका छोपेर गरेका थिए । यस्तो अवस्थामा राजसंस्थालाइ जिवित राख्ने वैकल्पिक उपायको रुपमा बेबी किङको अवधारण आएको थियो । 

त्यहीबेलादेखि अहिले राजसंस्था पूनस्थापनाको प्रदर्शन चल्दै गर्दा उनै हृदेन्द्र विशेष चर्चामा छन् । पछिल्लो पटक पूर्वराजा पोखराबाट काठमाडौँ फर्कदा उनको स्वागतमा देखिएको भीडले गणतन्त्र पक्षधरलाई नै झस्काएको थियो । यही भीड देखेर उत्साहि बनेको राजावादी प्रदर्शन चैत १५ गतेको घटनाले नराम्ररी पछारियो । त्यसयता राप्रपा लगायतका दल र समूहरुको प्रयासमा विभिन्न चरणमा प्रदर्शन भए । तर, ती प्रदर्शनहरुले उल्लेख प्रभाव छोड्न सकेन । वर्षाको बहाना दिदै स्थगित प्रदर्शन फेरि कहिले हुने हो टुंगो छैन । तर यही बीचमा हृदेन्द्र यसरी भिडियोमार्फत् प्रस्तुत भएकी त्यसैको सर्वत्र चर्चा र चासो बढेको छ । 

विशेषगरी युवतीहरुमाझ सामाजिक सञ्जालमा लोकप्रिय रहेका हृदयेन्द्रलाई भिडियोमार्फत सार्वजनिक गरेर युवा पूस्तामाझ राजसंस्थाको बारेमा जानकारी दिने उद्देश्यले नै यो भ्लग बनाइएकोमा कुनै शंका छैन । हृदयेन्द्रको जुम्ला भ्रमणलाई धेरैले पूर्वराजपरिवारको रणनीतिक कदमको रुपमा लिएका छन् । 

भ्लग कस्तो छ ? 

हृदयेन्द्रलाई फिचर गरिएको जुम्ला भ्लग उनी आमा हिमानीसँग गएको जेठमा जुम्ला जाँदा निर्माण गरिएको हो । भ्लगमा देखिएको उनको हाउभाउ, बोल्ने शैली, उनले फिचर गर्न खोजेको विषय लगायतलाई हेर्दा यो पूर्वतयारी अनुसार नै बनाइएको हो । 

क्यामेरा सट, एंगल, सिनेमेटोग्राफी, सम्पादन, अडियो, ड्रोन फुटेज लगायतको प्रयोग हेर्दा भ्लग निकै मेहनत र तयारीका साथ बनाइएको देखिन्छ । हृदयेन्द्रलाई बोल्न पनि त्यही अनुसार तयार गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रको योजना अनुसार नै उनलाई जुम्ला पठाएर भ्लगमार्फत् युवापूस्ताको सेन्टिमेन्ट क्यास गर्न खोजिएको जानकारहरु बताउँछन् । 

जुम्ला भ्लग : निर्मल निवासलाई ५ उपलव्धि ! 

हृदयेन्द्र वीरविक्रम शाहको जुम्ला भ्रमणको भ्लगले पूर्वराजपरिवारलाई मुख्यगरी ५ किशिमले फाइदा पु¥याएको देखिन्छ । ः

युवा पूस्तासँगको सम्बन्ध विस्तार

हृदयेन्द्रको शालीन, युवामैत्री र सरल शैलीले उनलाई विशेषगरी युवा पूस्तामाझ लोकप्रिय बनाएको छ । उनको जुम्ला भ्लगमा स्थानीय संस्कृति, स्याउ खेती र कर्णालीको प्राकृतिक सौन्दर्यसँगको अन्तरक्रियाले जनतासँग भावनात्मक सम्बन्ध जोड्ने अवसर प्रदान गरेको छ । सामाजिक सञ्जालमा उनको क्रेज र सकारात्मक टिप्पणीहरूले पूर्वराजपरिवारको छविलाई नयाँ पुस्तामाझ सकारात्मक बनाउन मद्दत गरेको छ ।

राजसंस्थाप्रति सकारात्मक धारणा निर्माणः

पछिल्लो समय राजसंस्था पुनस्र्थापनाको मुद्दा चर्चामा छ । तर चैत १५ को हिंसात्मक प्रदर्शनले राजावादी आन्दोलनको छविमा नकारात्मक प्रभाव परेको थियो । 

यस्तो अवस्थामा हृदयेन्द्रको भ्लगले राजपरिवारलाई नरम र जनउत्तरदायी छविको रूपमा प्रस्तुत गरेको छ । उनको भ्रमणलाई राजपरिवारले सकारात्मक सन्देश प्रवाह गर्न र जनमतलाई प्रभावित गर्न सफल भएको छ । 

जुम्लाको प्रवद्र्धनः 

भ्लगले जुम्लाको प्राकृतिक सौन्दर्य, स्याउ खेती र स्थानीय संस्कृतिलाई उजागर गरेको छ । सम्भवत यो भ्लगपछि कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग नै पुग्छ । दुर्गम स्थान रोजेर पूर्वराजपरिवारले सामाजिक र सांस्कृतिक गतिविधिमा संलग्न भएको सन्देश दिएको छ । 

राजनीतिक रणनीतिक लाभः

राजसंस्था पुनस्र्थापनाको माग उठिरहेको बेला हृदयेन्द्रको भ्रमणलाई पूर्वराजपरिवार नयाँ पुस्तामार्फत राजसंस्थाको महत्व प्रस्तुत गर्ने रणनीतिका रूपमा प्रयोग गर्न सफल भएको छ । राप्रपाजस्ता राजावादी दलहरूको अभियानलाई अप्रत्यक्ष रूपमा बल पुग्ने गरी यो भ्लगले जनतामाझ सकारात्मक भाइब्स सिर्जना गरेको छ ।

मिडिया र सामाजिक सञ्जालको ध्यानः

भ्लगले सामाजिक सञ्जालमा ठूलो चर्चा बटुलेको छ भने पूर्वराजपरिवारलाई मिडियाको केन्द्रमा ल्याएको छ । यो चर्चाले राजसंस्थाको मुद्दालाई पुनः सतहमा ल्याउन र नयाँ पुस्तासँग जोडिन मद्दत गरेको छ ।

आक्रोशित माओवादी सांसद !

हृदयेन्द्रको भ्लग सार्वजनिक भएपछि माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा निकै आक्रोशित बनेकी छन् । उनले यो भ्लगले राजतन्त्रको झल्को दिएको र जुम्लाको वास्तविक पहिचानलाई चिनाउन नसकेको आरोप लगाएकी छन् । 

उनले फेसबुकमार्फत व्यक्त गरेको असन्तुष्टि सहितको लामो स्टाटसमा शाह वंशले नै देशलाई कंगाल बनाएको आक्रोश पोखेकी छन् । 

हृयदेन्द्रको भ्लगलाई अपवित्र षड्यन्त्रको हिस्सा भएको दाबी गर्दै उनले गणतान्त्रिक नेपालमा यस्ता गतिविधिले सामन्ती सोच अझै कायम रहेको संकेत गरेको बताएकी दाबी गरेकी छन् ।

जुम्लालाई चिनाउन अन्य धेरै भ्लगरहरु रहेको तर मिडियाले राजपरिवारको पृष्ठभूमिका कारण हृदयेन्द्रको भ्लगलाई बढी प्राथमिकता दिएकोमा पनि आपत्ति जनाएकी छन् । उनले राजतन्त्रले नभई गणतन्त्रले जुम्लामा बाटो, इन्टरनेट र स्वास्थ्य सेवा जस्ता सुविधा जिकिर गरेकी छन् । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update