News 24 Television
नेपाल–चीन सम्बन्धः इतिहासदेखि वर्तमानसम्म  

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । १९५५ अगस्ट १ मा औपचारिक रूपमा शुरु भएको सम्बन्ध आजको दिनसम्म आइपुग्दा व्यापार, पूर्वाधार, सांस्कृतिक आदानप्रदानदेखि रणनीतिक साझेदारीसम्म विस्तार भइसकेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनसँगको सम्बन्ध नेपालका लागि सम्भावनाको विशाल खानी हो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दुई देशका शीर्ष नेताले शुभकामना सन्देश आदानप्रदान गरेका छन् । नेपाल र चीनबीच १९५५ अगस्ट १ मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका समकक्षी सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशबीको सम्बन्ध आपसी विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गरेका छन् । 

त्यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति पौडेललाई पठाएको सन्देशमा चीन–नेपालबीच हिमाल र नदीद्वारा जोडिएको पुरानो र घनिष्ठ सम्बन्ध रहेको तथा दुई देश सधैँ परस्पर सम्मान, समान व्यवहार र द्विपक्षीय सहकार्यमा आधारित सम्बन्धको आदर्श उल्लेख गरिएको छ । यस्तै प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङलाई सन्देश पठाएका छन् । ओलीलाई लीले पनि सन्देश पठाएका छन् ।

ओलीले नेपाल–चीन सम्बन्ध सात दशकदेखि समस्यारहित रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिमा सधैं प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

शुक्रवार काठमाडौँमा नेपाल चीनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित चिनियाँ दुतावासमा विशेष कार्यक्रम आयोजना भयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् पूर्वतयारी, पूर्वसूचना र दिगो पर्वतीय विकासमा नेपाल र चीनले तत्काल संयुक्त प्रयासबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 

विश्वले बढ्दो जलवायु संकटको सामना गरिरहेको बेला, नेपालले हिमालय, पारिस्थितिक प्रणालीहरूको रक्षा गर्न चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै जानुपर्ने जरुरी देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

नेपाल–चीन सम्बन्धको प्राचीनता

नेपाल–चीन सम्बन्धको इतिहास निकै प्राचीन छ । झन्डै २००० वर्षअघि नै चिनियाँ तिर्थयात्री फाइयान र ह्वेनसाङ तथा नेपाली बौद्ध विद्वान् र कलाकारहरू बुद्धभद्र र अरनिकोले दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार गरेका थिए । 

नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रोङ्चन गम्पोसँग विवाह भएपछि बौद्ध धर्म चीनसम्म फैलिएको थियो । यसबाहेक मञ्जुश्रीको काठमाडौँ आगमनको किंवदन्ती लगायतले पनि नेपाल र चीनबीचको सम्बन्ध प्राचीनकालदेखि स्थापित थियो ।  

चीनबाट नेपालले लिन सक्ने फाइदा 

नेपालले विश्व व्यापारमा अग्रणी चीनबाट आर्थिक र प्राविधिक फाइदा लिन सक्छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत सडक, रेलवे र ऊर्जा पूर्वाधारमा लगानी, तातोपानी र रसुवागढी नाकाको पूर्ण सञ्चालन र तेस्रो मुलुकसँग व्यापारका लागि चिनियाँ बन्दरगाह प्रयोगले नेपालको व्यापारिक सम्भावना विस्तार गर्न सक्छ । 

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा २० वटा सम्झौताले यी क्षेत्रमा सहकार्यको आधार तयार पारेको थियो । चीनको प्राविधिक विशेषज्ञता र कोभिड–१९ खोप सहयोगले नेपालको स्वास्थ्य र प्रकोप व्यवस्थापनमा योगदान पु¥याएको छ । यसबाहेक पनि नेपालले चीनबाट यी ५ क्षेत्रमा प्रत्यक्ष फाइदा लिन सक्छ । 

व्यापार र लगानीको वृद्धिः

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । नेपालले चीनसँग व्यापारिक साझेदारी गरेर नयाँ बजारहरूमा नेपाली उत्पादन पु¥याउन सक्छ । चीनबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सम्भावना पनि उच्च छ ।

पूर्वाधार विकासमा सहयोगः

चीनले सडक, रेल, विमानस्थल, जलविद्युत् आदि पूर्वाधार निर्माणमा ठूलो सहयोग गर्न सक्छ । उदाहरणका लागि चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत विभिन्न पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ ।

पर्यटन प्रवद्र्धनः

चीनबाट धेरै पर्यटकहरू नेपाल आउँछन् । चीनसँग सहकार्य गरेर नेपाली पर्यटन क्षेत्रलाई विस्तार गर्न सके नेपालको रोजगारी र आम्दानीमा वृद्धि गर्छ । 

प्रविधि र सीप स्थानान्तरणः

प्रविधिमा निकै अगाडि रहेको चीनबाट नेपालले आधुनिक प्रविधि र सीपहरू सिक्न सक्नेछ । 

नेपाल–चीन सम्झौता र नेपालको भूमिका

नेपाल र चीनबीच सन् १९५६ को मैत्री सम्बन्ध सम्झौता, सन् १९६० को शान्ति तथा मैत्री सन्धि, सन् १९६१ को सीमा सन्धि, सन् २०१७ को बीआरआई समझदारी र सन् २०१८ को यातायात तथा पारवहन प्रोटोकलजस्ता सम्झौताहरू भएका छन् । 

यी सम्झौताले व्यापार, कनेक्टिभिटी र सीमा व्यवस्थापनलाई बलियो बनाएका छन् । तर भौगोलिक र सांस्कृतिक कारणले नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ । सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको तुलनामा चीनसँगको सम्झौताले नेपाललाई स्वतन्त्र व्यापारिक मार्ग प्रदान गर्छ । 

भारतसँगको खुला सीमा र सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै नेपालले दुवै देशसँग परस्पर लाभकारी कूटनीति अंगाल्नुपर्छ । अमेरिकी सक्रियता, विशेषगरी एमसीसी सम्झौतामार्फत नेपालमा भूराजनीतिक जटिलता थपिएको छ । चीनले नेपालमा भारत र अमेरिकाबाट सम्भावित विरोधी गतिविधिप्रति चासो व्यक्त गरेको छ । 

नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै सबै पक्षसँग तटस्थ र स्वतन्त्र कूटनीति अपनाउनुपर्छ । यी अवसर र चुनौतीबीच नेपालले कूटनीतिक कौशल र रणनीतिक योजना मार्फत चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिको आधार बनाउन सक्छ । भारत र अमेरिकासँग सन्तुलन कायम राख्दै क्षेत्रीय स्थिरतामा विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update