News 24 Television
वागमतीका छैटौँ मुख्यमन्त्री बानियाँ,  ९ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौँ । बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका नेपाली काँग्रेस ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । यससँगै उनले ९ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्र । 

मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई  मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराएका हुन् । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बानियाँलाई काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना  सांसदको समर्थन छ । कुल ११० सदस्य रहेको वागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यहरूले मंगलवार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरेका थिए । सोही आह्वान अनुसार बानियाँले हिजो नै दाबी पेश गरेका हुन् ।

निःवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १८ साउनमा राजिनामा दिएपछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । आफ्नै पार्टीबाट राजनितीक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

लामालाई राजीनामा दिन बाध्य पारेर संसदीय दलकाे नेता हुँदै मुख्यमन्त्री बनेका बानियाँको नेतृत्वमा ८ जना मन्त्रीले समेत पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जसमा नेपाली काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुमा शिवराज अधिकारी मन्त्रालय (पछि तोकिने) र कृष्ण कुमार तामाङ (खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय) रहेका छन् ।

त्यसै गरी सत्ता साझेदार नेकपा एमालेबाट ६ जना मन्त्रीले शपथ लिएका छन् । जहाँ किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ । यसैगरी डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

१४ मन्त्रालय रहेको बागमतीमा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्री भाग लाएका छन्, तर कांग्रेसले आन्तरिक किचलोका कारण ५ मन्त्री भने नियुक्त गर्न बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update