
काठमाडौं । कात्तिक १७ गतेका लागि तय रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को उपनिर्वाचनलाई राजनीतिक दलहरूले ‘मिनी जनमतसंग्रह’को रूपमा लिएका छन् । उपचुनावमा उनीहरुले प्राप्त गर्ने मतले धेरै कुराको संकेत गर्ने भनिएको बेला दलहरुले कसरी अभ्यास गर्न खोज्दैछन ? साना दलको गठबन्धन र ठूला दलको डरकाबीच हुने चुनाव कस्तो बन्ला ?
२०८४ को आम निर्वाचनकै मानकका रुपमा लिइएको रुपन्देही– ३ को उपनिर्वाचनलाई ‘मिनी जनमतसंग्रह’को रुपमा लिइएको छ । उपनिर्वाचनमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले नै एकअर्काविरुद्ध प्रतिस्पर्धामा जाँदै गर्दा उनीहरु पनि नजिता आफ्नो पक्षमा आउने जिकिर गरिरहेका छन् । यद्यपी प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित कांग्रेस एमालेले उपनिर्वाचनका लागि उम्मेदवार भने टुंग्याउन सकिरहैका छैनन् । तर उता रास्वपासहित विभिन्न साना दलहरु भने रुपन्देही– ३ को उपनिर्वाचनको तीव्र तयारीमा देखिएका छन् ।
रास्वपाले उपनिर्वाचनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म उम्मेदवार बन्नेहरुका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ९ जनाले उम्मेदवारी दिन दरखास्त दिएको रास्वपाले जनाएको छ । उम्मेदवारी दाबी प्रस्तुत गर्नेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल छन् ।
रास्वपाको नयाँ अभ्यास र ठूला दललाई चुनौती !
रुपन्देही उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार छनौटमा प्रारम्भिक निर्वाचनको अभ्यास नै गर्ने भएको छ । निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने आकांक्षा बोकेको रास्वपाले यो पटक प्रारम्भिक निर्वाचनको अभ्यास गरेर नयाँ प्रयोग थालेको हो । जसका लागि रास्वपाले उम्मेदवारका लागि दरखास्त दिने ९ जनाबीच नै प्रतिस्पर्धा गराउने र एक उम्मेदवार छान्ने भएको हो । उसले दरखास्त दिनेमाथि नै साउन २४ गतेसम्म दावी विरोध गर्न सकिने तालिका सार्वजनिक गरेको छ ।
त्यस्तै साउन २७ देखि भदौ ११ सम्म पार्टीको उम्मेदवार छनौट विधिले तय गरेअनुसार लिडरशीप एकेडेमी, पोलिटिकल अपच्र्युनिटी र समावेशीताको मापन गर्ने र भदौ १२ बिहान देखि १३ गते विहानसम्म प्रारम्भिक निर्वाचन गर्ने रास्वपाको तयारी छ । प्रारम्भिक निर्वाचनमा रुपन्देही – ३ कै मतदाता रहेका पार्टी सदस्य र केन्द्रीय कमिटि सदस्यहरुले मतदान गर्न पाउनेछन् ।
रास्वपाले यसपटक थालेको फरक अभ्यास र पद्धतिले पार्टीबाटै योग्य उम्मेदवार चयन हुने र निर्वाचनमै पनि जित हासिल हासिल गर्नेे अपेक्षा राखेको छ । हुनत पछिल्लो समय पुराना दलहरुप्रति मतदाताको वितृष्णा र नयाँको खोजी हुनुलाई रास्वपाले जितको आधार मान्दै आएको छ ।
६ दलिय मोर्चा पनि उत्तिकै सशक्त !
अघिल्लो पटक एमाले र जसपा नेपालको साथ रहँदा रुपन्देही – ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरा निर्वाचित भएका थिए । तर अहिले राप्रपा र एमाले एक्लाएक्लै निर्वाचनमा होमिदैछन् ।
अर्कोतर्फ जसपा ६ दलिय संघीय लोकतान्त्रिक मोर्चाबाट निर्वाचनमा सहभागी हुँदैछ । यो अवस्थामा मुख्य दलहरु काँग्रेस, एमाले तथा राप्रपाकै हारहारीमा मोर्चालाई जनमत प्राप्त हुने अनुमान गरिएको छ ।
जसले ६ दलिय मोर्चा मुख्य प्रतिस्पर्धी दलहरुका लागि पनि चुनौतीका रुखमा खडा भएको छ । यो मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नै साझा बन्ने लगभग निश्चित छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई लोसपा नेपाल, जसपा नेपाल, जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दलको समर्थन रहनेछ । जसमा मोर्चा आबद्ध चार दलको समानुपातिक मत नै करिब १८ हजार हारहारी पुग्ने देखिन्छ ।
– नागरिक उन्मुक्ति ६ हजार १०
– जसपा नेपाल ५ हजार २९१
– लोसपा नेपाल ५ हजार ५३
– राष्ट्रिय जनमुक्ति पार्टीे एक हजार ९२७ मत
र, अन्य मोर्चा आबद्ध थप दुई दलको मत पनि गणना गर्दा समग्रमा ६ दलीय मोर्चाको मत ०७९ को निर्वाचनमा काँग्रेस र एमालेले प्राप्त गरेको समानुपातिक मत हारहारीकै हुनेछ ।
जनमत भने मैदानमा एक्लै !
जनमत पार्टी पनि सुरुमा मोर्चामै समाहित भएर चुनावी प्रतिस्पर्धामा जाने चर्चा थियो । तर पछिल्लो पटक पार्टीले गरेको निर्णय अनुसार अब उसले एकल उम्मेदवारी दिनेछ । यद्यपि जनमतको मधेशमा जस्तो रुपन्देहीमा प्रभाव नरहेकाले निर्वाचन जित्ने उसको आधार बलियो नभएको टिप्पणी हुँदै आएका छन् ।
जनमतले तत्काललाई नाफा–घाटा नहेरी दीर्घकालीन राजनीतिक सोचका कारण एकल उम्मेदवारी दिने निर्णय गरेको दावी गरिरहेको छ । जनमतले ०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ ३ हजार ७३२ मत प्राप्त गरेको थियो । तर जे होस् ०८४ कै मानकका रुपमा लिइएको रुपन्देही – ३ को उपनिर्वाचमा ठूला दलहरुका लागि रास्वपा र लोकतान्त्रिक मोर्चा खतरा बनेको छ । यही खतराका कारण सत्तारुढ दलहरु काँग्रेस र नेकपा एमाले नै पनि गठबन्धन गरेरै चुनावमा होमिनसक्ने आशंका गर्न थालिएको छ ।