News 24 Television
वेद लेख्नु अघि नै आयुर्वेदको प्रचलन, नेपाल कसरी उर्वर भूमि ? 

काठमाडौं । पूर्वीय सभ्यतामा आयुर्वेद जीवनको विज्ञान हो । वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद तथा प्राकृतिक चिकित्सा विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली पनि हो । आयुर्वेदलाई पूर्वीय सभ्यताकै एक अमूल्य निधिका रुपमा लिइन्छ । आयुर्वेदको जननीमध्येको एक नेपालको सांस्कृतिक र ऐतिहासिक परम्परासँग समेत गहिरोरुपमा जोडिएको छ । 

यति गर्विलो इतिहास र विगत बोकेको योउपचार पद्धति पछिल्लो समय ओझेलमा परेको जस्तो देखिएको छ । हुन त राज्यले संरचनागतरुपमा हेर्दा यो उपचार प्रणालीमा पनि ठूलो लगानी गरिहेको  छ । तर त्यही अनुसार प्रतिफल आइरहेको छ कि छैन ? यसको विस्तार र प्रवद्र्धनमा के कस्ता गतिविधिहरु भइरहेका छन् ? यी सबै विषयमा सरोकार राख्ने निकाय, व्यक्ति लगायतसँग वृहत छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले न्यूज २४ टेलिभिजनले आइतवारदेखि आयुर्वेद तथा प्राकृतिक चिकित्सामा केन्द्रीत रहेर विशेष अभियान शुरु गरेको छ । 

केहीबेर अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई स्टुडियोमै बोलाएर हामीले यो अभियानको विधिवत सुरुवात गरिसकेका छौँ । आयुर्वेद तथा प्राकृतिक चिकित्साको इतिहास र नेपालबारेको हेरौँ यो रिपोर्ट । 

आयुर्वेदको इतिहास

आयुर्वेदको उत्पत्ति वैदिककालभन्दा पनि पुरानो मानिन्छ । जुन करिब ५ हजार वर्षभन्दा अघि नै अस्तित्व र प्रयोगमा आइसकेका थियो । आयुर्वेदलाई अथर्ववेदको उपवेदको रूपमा मानिन्छ । वेद र धार्मिक ग्रन्थहरुलाई आधार मान्ने हो आयुर्वेदको ज्ञान ब्रह्माबाट दक्षप्रजापति, अश्विनीकुमार र इन्द्र हुँदै विभिन्न ऋषिहरूमा हस्तान्तरण भएको हो । 

चरक संहिता, सुश्रुत संहिता र अष्टाङ्ग हृदय जस्ता ग्रन्थहरूले आयुर्वेदको सिद्धान्त र अभ्यासलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका छन् । यी ग्रन्थहरूले शरीर, मन र आत्माको सन्तुलनमा जोड दिंदै त्रिदोष वात, पित्त, कफ, सप्त धातु रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, शुक्र र तीन मल मूत्र र पुरीष स्वेदको सिद्धान्तलाई आधार बनाएका छन् । आयुर्वेदले प्राकृतिक उपचारमा जोड दिन्छ । 

यसमा जडीबुटी, खनिज, योग, ध्यान, पञ्चकर्म, क्षारसूत्र र दिनचर्या जस्ता विधिहरू समावेश छन् । प्राकृतिक चिकित्सा बिधिले शरीरलाई रोग लाग्नबाटै बचाएर फुर्तिलो बनाएको सर्बसाधारणहरुको पनि अनुभव छ ।

नेपालमा आयुर्वेदको प्राचीनता र अभ्यास 

नेपालमा आयुर्वेदको इतिहास निकै पुरानो छ । किराँतकाल र महिषपालकालमा पनि आयुर्वेदिक चिकित्सा प्रचलित थियो । मल्लकालमा वि.सं. १७२७ मा सिंहदरबार वैद्यखाना स्थापना भएको थियो । शुरूमा राजपरिवारका लागि औषधि उत्पादन गर्ने उद्देश्यले सिंहदरबार वैद्यखाना खोलिएको थियो । विसं १९७३ मा निःशुल्क औषधालयहरू खुले । 

वीर अस्पतालको स्थापना हुनुअघि नेपालमा राजामहाराजादेखि सर्वसाधारणसम्म यी आयुर्वेद उपचार पद्धतिमा आश्रित थिए । आयुर्वेद नेपालको वैदिक परम्परासँग गहिरो रूपमा जोडिएको छ । ऋषिमुनिहरूको तपोभूमिको रूपमा परिचित नेपाल आयुर्वेदको ज्ञानको पनि केन्द्र थियो । धनवन्तरी, आयुर्वेदका देवता र नेपालमा मनाइने धनवन्तरी जयन्ती लगायतले नेपालको आयुर्वेदसँगको प्राचीन सम्बन्धलाई स्थापित गर्छ । 

आयुर्वेद उपचारको विकासक्रम 

वीर अस्पतालपछि बनेको देशकै दोस्रो पुरानो अस्पताल हो नरदेवी आयुर्वेद चिकित्सालय । वीर अस्पताल स्थापना भएको २७ वर्षपछि बिक्रम संवत् १९७५ मा नरदेवीमा यो अस्पताल खोलिएको हो । २०१० सालमा सरकारी स्तरबाटै पशुपति होमियोप्याथी चिकित्सालय स्थापना गरियो । 

२०१३ देखि बनेका स्वास्थ्यसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तथा योजनामा आयुर्वेद तथा वैकल्पिक चिकित्साका सरकारी नितिमा समेटिएको त छ तर अझै सरकारी स्तरबाट सेवा दिने प्राकृतिक चिकित्सालयहरु प्रयाप्त नभएको बिज्ञहरु बताउँछन् । 

नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा पाइने जडीबुटीहरूले आयुर्वेदलाई समृद्ध बनाएका छन् । यार्सागुम्बा, पाँचऔंले, जटामसी, तुलसी, गुर्जो र अमला जस्ता जडीबुटीहरू परम्परागत उपचार र आयुर्वेदका लागि अत्यन्तै आवश्यक जडिबुटी हुन् । धामी, झाँक्री र ज्योतिषीहरूले पनि परम्परागत रूपमा आयुर्वेदिक ज्ञानलाई सामुदायिक स्तरमा प्रयोग गर्दै आएका छन् । रामायण र महाभारत जस्ता धार्मिक ग्रन्थहरूमा पनि नेपालको भूमि आयुर्वेदका लागि उर्वर भनेर उल्लेख गरिएको पाइन्छ । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update