मुगु । दुर्गम क्षेत्रका नागरिक अझैपनि आधारभूत उपचारबाट वञ्चित छन् । मुगु जिल्लाको खत्याड गाउँपालिका–११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन । उपकरण भएर पनि जनशक्ति नहुँदा एक्स–रे, इसीजी, फिजियोथेरापी जस्ता सेवा पूर्ण रूपमा ठप्प छन् ।
नेपाल सरकारले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि संविधानमा नै स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि विभिन्न नीतिहरु अघि सारेको छ । तर हिमाली जिल्ला मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका ११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भने लामो समयदेखि चिकित्सक नहुँदा उपकरण प्रयोगबिहीन हुनुका साथै विरामीले सामान्य उपचार पाउन समेत कठिनाइ भएको छ ।
स्वास्थ्य केन्द्रमा चिकित्सक अभावका कारण बिरामीहरू सामान्य उपचारका लागि गमगढी, नजिकका निजी मेडिकल तथा बाजुरा जिल्ला लगायतका स्थानमा पुग्नुपर्ने अवस्था छ । अन्यत्र उपचार गर्न आर्थिक अवस्था कम भएका बिरामीहरुलाई निकै समस्या भएको छ ।
यसअघि स्वास्थ्य केन्द्रमा डाक्टर विकास धिताल काजमा खटिएका थिए । उनको काज अवधि सकिएपछि हाल स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ । चिकित्सकको अभाव हुनुका साथै अन्य प्राविधिक कर्मचारी नहुँदा टेलिमेडिसिन, एक्सरे, भिडीयो एक्सररे, फिजीयो थेरापी, ईसीजि जस्ता उपकरणहरु पनि प्रयोगविहीन भएका छन् ।
सीमित स्रोतसाधन र जनशक्तिले सबै बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको भनाई छ । स्थानीय तहले छिट्टै डाक्टर व्यवस्थापन गर्ने आश्वासन भने दिएको केन्द्रका सिनियर अहेव नारायण कार्कीले जानकारी दिए ।
रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा खत्याडका मात्र नभइ छिमेकी जिल्ला हुम्ला र बाजुराबाट समेत बिरामी आउने गर्दछन् । तर सेवा नपाउँदा नागरिकहरू उपचारविहीन फर्किन बाध्य छन् । दुर्गम क्षेत्रमा स्थायी रूपमा स्वास्थ्यकर्मी खटाउन स्थानीयले माग गर्दै आएका छन् ।
