News 24 Television
दबाब बढाउन चुनाव वहिष्कारको योजना, जनप्रतिनिधि नै रणनीतिक 

रुपन्देही । रुपन्देहीका उद्योगी–व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआए आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचन वहिष्कार गर्ने चेतावनी दिएका छन् । जति पहल गर्दा पनि सरकारले विमानस्थल सञ्चालनमा ध्यान नदिएको जनाउँदै जनप्रतिनिधि र उद्योगी–व्यवसायीले यस्तो चेतावनी दिएका हुन् । 

आइतबार सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा भएको विमानस्थल संचालनार्थ छलफलमा बोल्ने सहभागीले मुलुकका दुई ठूला दल कांग्रेस र एमालेको संयुक्त सरकार हुँदा समेत विमानस्थल नियमित संचालनमा ध्यान नदिएको गुनासो गरेका छन् । मुख्यमन्त्री, विभागीय मन्त्री, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइसक्दा र जति पहल गरे पनि सरकारले नसुनेको जनप्रतिनिधि र व्यवसायीको गुनासो छ ।

यहाँका जनताको भविष्यसँग जोडिएको विमानस्थल भएकाले निर्वाचन बहिष्कार गरेर भए पनि विमानस्थल चलाउन दवाव बढाउनुपर्नेमा जोड उनीहरुको छ । उपनिर्वाचनलाई भनेर अहिले धमाधम सबै पार्टीका नेताहरु भैरहवा आइरहेको तर विमानस्थलका बारेमा वास्तै नगरेको निजी क्षेत्रको गुनासोे छ ।

विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएको पनि साढे तीन वर्ष पुग्न लागेको छ । तर, विमानस्थल नियमित संचालन हुन सकेको छैन । ४० अर्ब हाराहारी खर्चेर बनाएको विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडानबिहीन छ । संचालनको लामो समयसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र चरम निराशामा छ ।

विमानस्थल लक्षित गरेर व्यवसायीले सानाठूला दर्जन होटल खोलेका छन् । कति निर्माणकै क्रममा छन् भने विमानस्थल संचालनमा नआएकै कारणे निर्माण रोकिएको छ । विमानस्थल बनाउनुको मुख्य उद्देश्य बौद्धिष्ट मुलुकहरुमा कनेक्टिभिटी बढाउने र बौद्ध मार्गीहरुलाई लुम्बिनी ल्याउने हो । तर यसतर्फ सरकारले ध्यानै दिएको छैन । 

व्यवसायीले प्रधानमन्त्री भारत भ्रमणमा जान लागेकाले विमानस्थलको विषयलाई पहिलो एजेण्डा बनाएर लैजानुपर्ने बताएका छन् ।  यस्तै, काठमाडौंका केही ट्राभल व्यवसायीले महंगोमा टिकट बेचेर मन्त्रालयसम्म कमिसन पुर्यारहेकाले भैरहवा विमानस्थल चलाउन नदिन भूमिका खेलेको यहाँका व्यवसायीको बुझाई छ ।
 
विमानस्थलमा उद्घाटन यता अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न भन्दै अवतरण, गृह आश्रय, पार्किङ, संचार तथा उड्डयन सहाय शुल्क, सुरक्षा शुल्क, इन्धनमा छुट दिइएको   छ । तर, अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । 

सरकारले दुई वर्ष पहिला घोषणा गरेका भीसा सेन्टर, स्वास्थ्य जाँच, म्यानपावर एजेन्सी, बीमा लगायतका अध्यावक कार्यालय समेत अझै भैरहवामा खुल्न सकेका छैनन् । निजी क्षेत्रको लगानी नै डुब्न थालेको भन्दै गौतमबुद्ध विमानस्थल नियमित संचालनका लागि सरकारलाई दवाव सिर्जना गर्न सिद्धार्थनगरका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update