News 24 Television
कांग्रेस–एमाले फेरि चलाखी मुभतर्फ, सत्ता रटानको खास कुरो के ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा उभिएरै ०८४ को निर्वाचनपछि पनि कांग्रेस एमालेको गठबन्धन रहने दाबी गरेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धी ठानिएका कांग्रेस–एमालेले किन अर्को निर्वाचनपछि समेत सत्ता सहकार्यको प्रस्ताव गर्ने स्थिति बन्न पुग्यो ? तमाम प्रश्न र चासोकाबीच यो विषयमा सोधिखोजी समेत शुरु भएको छ । 

कांग्रेस–एमालेको सत्ता सहकार्य कहिलेसम्म ? दुई प्रमुख प्रतिस्पर्धी दलबीचको सत्ता सहकार्यमा कस्ता विषयले प्रभाव पार्न सक्छ ? यस्ता तमाम राजनीतिक विषयमा विवाद देखिने स्थिति त बन्दैन भन्ने बेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले भन्न थालेका छन्, कांग्रेस–एमाले सरकार ०८४ को निर्वाचपछि समेत निरन्तर जान्छ । 

ओलीले सरकार ०८४ को निर्वाचनपछि समेत कांग्रेस–एमालेको सरकार बन्ने दाबी गर्दै गर्दा कांग्रेसले भने चलाखीपूर्वक भनिरहेको छ, आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको सरकार रहन्छ । 

सरकारको आयुबारेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चमा मात्रै नभई संसदमा समेत जवाफ दिने विषयले कतै सत्ता सहकार्यमा दरारका संकेतहरु देखिन थालेका त होइनन् ? प्रश्न र शंकाहरु भने उब्जिएका छन् । 

यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्ताका लागि कुनै चासो नभएको दाबी गर्दै जाने र ओलीले एकहोरो ०८४ को निर्वाचनपछि समेत सरकार कांग्रेस एमालेकै हुने भन्नुले संसय सिर्जना गरेपनि यो सरकारको नेतृत्व कुरिरहेका शेरबहादुर देउवाको मुडमा समेत भर पर्ने बताइन्छ । यद्यपि, संसदमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दै अन्य विषयमा समेत प्रवेश गरेका छन् । सरकारले कानून निर्माण गर्दा बहुविवाहलाई समेत मान्यता दिन खोजेको भन्ने प्रश्नको जवाफमा समेत उनले संसदमा प्रष्टीकरण दिएका हुन् । 

प्रधानमन्त्री केपी ओलीले संसदमा जवाफ दिने क्रममा छिमेकी मुलुकसंगको सम्बन्धको वियषमा समेत बोलेका छन् । आसन्न भारत भ्रमणको चर्चा चलिरहेको बेला ओलीले सन्तुलित बन्नलाई छिमेक सम्बन्धमा सचेत रहेको दाबी गरेपनि उनले भारतको नाम भने कतै लिएनन् । थाइल्याण्ड र चीन भ्रमणबारे कुरा राखेका ओलीले भारतप्रति लक्षित कुनै सन्देह भने पेश गरेनन् । 

सत्ता समीकरणदेखि मन्त्री फेरबददलका हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेससंगको सत्ता सहकार्यलाई मात्रै जोड दिएनन्, कांग्रेसलाई आश्वस्त तुल्याउन प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि समेत व्यङ्ग्य कसेका छन् । प्रचण्ड र रवि लामिछानेमाथि क्रोध पोखेका ओलीले कांग्रेसलाई आश्वस्त तुल्याउने कुरामा समेत कुनै कसर बाँकी भने राखेनन् । 

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै दिएका अभिव्यक्ति र विषयले पनि कांग्रेसको प्राम्भिक सोचमा केहि फेरबदल ल्याउला ? प्रश्न उत्तिकै छन् । कांग्रेस सभापति शेरबाहदुर देउवाको कार्यकाल अन्तिम सभापतिका निम्ति रहेको बेला ओलीले ०८४ को निर्वाचनपछि समेत सत्ता सहकार्यको रटान लगाउनुमा सत्ता सहकार्यमा शंकाहरु उत्पन्न भएकोदेखि विभिन्न अड्कल भने चल्न थालेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update