
काठमाडौं । आयुर्वेद र अन्य वैकल्पिक चिकित्सा पद्धतिमा जडीबुटी, प्राकृतिक खनिज र जीवजन्तुबाट प्राप्त पदार्थहरू व्यापक रूपमा प्रयोग हुने भएकाले धेरैले आयुर्वेदिक औषधिलाई सुरक्षित साइड इफेक्ट नगर्ने ठान्ने गर्छन् । तर, आयुर्वेदिक चिकित्सक र आधुनिक अनुसन्धानको निष्कर्ष अनुसार रोगको सही पहिचान र आफुखुशी प्रयोग गर्दा आयुर्वेदिक औषधि पनि घातक बन्न सक्छ ।
आयुर्वेदिक औषधि पनि दर्ता हुने भएकोले औषधि बिभागमा दर्ता भएका औषधि र आयुर्वेद विशेषज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्ने बिज्ञको सुझाव छ ।
विभिन्न अनुसन्धानहरूले देखाएका छन् कि जडीबुटी र एलोप्याथिक औषधिको एकसाथ प्रयोगले असर घटाउन वा अत्यधिक बढाउन पनि सक्छ । जसले स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ । उद्धाहरणका लागि लसुनयुक्त आयुर्वेदिक औषधि र एन्टिकोगुलेन्ट औषधि सँगै प्रयोग गर्दा रक्तश्रावको सम्भावना बढ्छ । केही जडीबुटी जस्तै टीनोस्पोरा कोर्डिफोलिया, अश्वगन्धा र हल्दी सप्लिमेन्टको मात्रा नमिलाई प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्ने तथ्य पनि अध्ययनले देखाएका छन् ।
वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. लक्ष्मण पौडेलका अनुसार दर्ता नै नभएका आयुर्वेदिक औषधि, उत्पादनमा त्रुटि, विभिन्न औषधिको संयोजन वा आयुर्वेदिक र एलोप्याथिक औषधिको मिश्रणका कारण गम्भीर दुष्प्रभाव हुनसक्छ । त्यसैले आयुर्वेदिक औषधि त हो नी साइड इफेक्ट हुन्न भनेर जथाभावी आफुखुशी प्रयोग गर्न नहुने चिकित्सकहरुको सुझाव छ ।
पहिले विभिन्न ठाउँमा गएर जथाभावी आयुर्वेदिक औषधि सेवन गर्दा त्यसले स्वास्थ्यमा झन् नकारात्मक असर गरेको सर्वसाधारणहरुको अनुभव छ । अहिले वरिष्ठ आयुर्वेदिक चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएर मात्र औषधि सेवन गरेपछि स्वास्थ्यमा सुधार आएको उनीहरु सुनाउँछन् ।
आयुर्वेदिक औषधिहरु पनि औषधि ब्यवस्था बिभागमा दर्ता भएर मात्र बजारमा बेच्न पाउने नियम छ । तर बेच्नेले पनि आफुखुशी बेच्ने र सेवन गर्नेले पनि आयुर्वेदिक औषधि त हो भनेर आफुखुशी सेवन गर्न परिपाटी छ ।
यसले हाम्रो स्वास्थ्यमा दुरगामी असरहरु पारिरहेको हुन्छ । बिरामीहरूले आफ्नो रोगको सही पहिचान नगरी अनुमानको भरमा औषधि सेवन गर्दा रोगको निदान होइन स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । त्यसैले आफुलाई लागेको रोग के हो भन्ने पत्ता लागेर आयुर्वेदिक विशेषज्ञको परामर्श लिएर मात्र औषधि सेवन आवश्यक छ ।
कतिपय आहार संयोजनले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । माछा र दूध वा मह र घ्यू समान मात्रामा सेवन गर्दा विषाक्त असर हुनसक्छ । यस्तै, केही वनस्पति प्राकृतिक रूपमा नै विषाक्त हुन्छन्, जसलाई उचित शोधन गरेर मात्र औषधिमा प्रयोग गरिन्छ । विशेषज्ञहरूका अनुसार प्राकृतिक भएको भन्दै आफुखुशी आयुर्वेदिक औषधि प्रयोग गर्नु खतरनाक हुन सक्छ ।
कुनै पनि उपचार अघि स्पष्ट निदान, योग्य चिकित्सकको सल्लाह र औषधिको गुणस्तर सुनिश्चित गर्नु अपरिहार्य छ । गुणस्तर नियमन, जनचेतना र अनुसन्धानमा जोड दिइए मात्र आयुर्वेदिक उपचार सुरक्षित र प्रभावकारी बन्न सक्छ ।