News 24 Television
मधेसमा शक्ति आर्जन गर्ने प्रयत्नमा मधेसवादी दलहरु 

काठमाडौं । मधेसवादी दलहरुबीच एकता र विभाजन सामान्य जस्तै बनेको छ । मधेसको साझा मुद्दामा एक देखिए पनि यी दलहरु सत्तामोहले गर्दा विभाजित बन्ने गरेका छन् । पछिल्लो समय मधेसवादी दलहरुले मोर्चाबन्दीदेखि पार्टी एकताको प्रयासलाई भने तीब्र पारेका छन् । मधेस केन्द्रीत राजनीतिको प्रारम्भ ७ सालको प्रजातन्त्र स्थापनापछि भएको हो । 

२००८ सालमा वेदानन्द झाले ‘तराई कांग्रेस’ पार्टीको स्थापना गरेका थिए भने गजेन्द्रनारायण सिंहले ‘नेपाल सद्भावना पार्टी’ स्थापना गरेका थिए । गजेन्द्रनारायणले स्थापना गरेको सद्भावना पार्टीले ४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि मधेसका नेताहरुलाई स्थापित मात्रै गरेन, सत्तामा समेत पु¥यायो । सत्तामोहकै कारण सद्भावना पार्टी सग्लो रहेन । 

६२\६३ को जनआन्दोलनपछि मधेसी दलहरुबीच एकता

६२÷६३ को जनआन्दोलनपछि मधेस राजनीति नयाँ शिराबाट अघि बढ्यो । तत्कालिन माओवादी युद्धमा समाहित भएका उपेन्द्र यादवले ‘मधेसी जनाधिकार फोरम’ स्थापना गरी मधेसको क्षेत्रीय राजनीतिमा अग्रपंक्तिमा देखा परे । 

संविधानसभाबाट पहिलो पटक नयाँ संविधान लेखिने र मुलुक संघीयतामा अघि बढ्ने भएपछि मधेस आन्दोलन उत्कर्षमा पु¥याउने सबै मधेसवादी दलहरुलाई एउटै कित्तामा उभ्यायो । मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जस्ता दलहरूले ‘मधेसी मोर्चा’ गठन गरे । त्यही मोर्चाले थालेको मधेस आन्दोलनले मधेसी समुदायको पहिचान, स्वायत्तता, र समावेशीकरणको मागलाई राष्ट्रिय स्तरमा स्थापित गरायो । 

राज्य पुर्नसंरचनाका क्रममा पहिचानको मुद्दामा ठूलै शक्ति संघर्ष चर्किए पनि मधेसवादी दलहरु भने आफ्नो पहिचानका आधारमा प्रदेशको नामाकरण गराउन सफल भए । तर उनीहरु सत्तामोहकै कारण एक ठाउँमा रहिरहन भने सकेनन् । मधेसवादी दलहरुको एकता र विभाजन सामान्य जस्तै बन्यो । जसले गर्दा मधेसका मुद्दाहरु ओझेलमा पर्दै गयो । संविधान संशोधनदेखि पुनर्लेखनका मुद्दाहरु धुलिसात बन्न पुगे । 

फेरि पनि मोर्चाबन्दी र एकताको प्रयासमा मधेसवादी दलहरु 

मधेसवादी दलहरुले फेरि पनि एकताको प्रयासहरु जारी नै राखेका छन् । संविधान संशोधनदेखि मधेसी, थारू, र जनजातिका एजेन्डालाई सशक्त रूपमा उठाउने लक्ष्यका साथ गत चैतमा ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन भयो । यही मोर्चाको माध्यामबाट रुपन्देही ३ मा हुन लागेको उपचुनावको उपयोग गर्ने प्रयत्न मधेसवादी दलहरुले गरिरहेका छन् ।  

मधेसवादी दलहरुको मोर्चाबन्दीका साथै विभिन्न मुद्दा मिल्ने पार्टीहरुबीच एकताको प्रयास जारी छ । ७९ सालको निर्वाचनमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी एकताको नजिक पुगेका थिए । तर त्यो एकता भाँडियो । 

नयाँ शक्ति निर्माणको प्रयासमा दलहरु 

सबैजसो मधेसवादी दलहरु नयाँ शक्ति निर्माणको प्रयासमा छन् । त्यही प्रयास स्वरुप मधेसवादी दलहरुमा एकता र ध्रुवीकरण तीब्र बनेको छ । उनीहरु विभिन्न दल तथा समूहसँग एकता र ध्रुवीकरणको प्रयासमा लागेका हुन् ।

बहुमत सांसदसहित अलग भएका अशोक राई नेतृत्वको जसपा र लोसपाबाट छुट्टिएर मुक्ति मोर्चा बनाएका राजेन्द्र महतोबीच विहीबार मात्रै पार्टी एकता उन्मुख कार्यगत एकता घोषणा गरेका छन् । 

महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालको बरिष्ठ नेता रहेका अलिकुमार झा पार्टीबाट अलग भएर हालै मात्र पुरानो दल ‘नेपाल सद्भावना पार्टी’ पुनर्गठन गरेका छन् । 

मधेसवादी दलहरूले संविधान संशोधन, स्वशासन, र पहिचानका मुद्दामा एकजुट हुने प्रयास पटक पटक भए पनि सत्तामोह र व्यक्तिगत स्वार्थका कारण साँच्चिकै मधेसी जनताको हितका लागि एकाकार भएर अघि बढ्लान् भनेर विश्वास गर्ने आधार भने देखिदैन । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update