News 24 Television
आयुर्वेदअनुसार भोजन कुन बेला सबैभन्दा स्वस्थवद्र्धक ?  

काठमाडौं । आयुर्वेदले भोजनलाई केवल ऊर्जा स्रोत मात्र होइन, स्वास्थ्यको आधार मान्छ । वैज्ञानिक अनुसन्धानहरूले पनि खानाको समय र प्रकृतिले पाचन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले खानपानको समय र शैली नमिल्दा रोगहरु बढेको निष्कर्ष निकालेका छन् । आधुनिक विज्ञान र आयुर्वेदिक सुझावहरूका अनुसार स्वस्थ जीवनका लागि सुर्यको तेज अनुसार खाना खाने समय निर्धारण गर्नुपर्छ । 

आयुर्वेद अनुसार खानालाई तीन भागमा वर्गिकरण गरिएको छ । सात्विक, राजशी र तामासिक । सात्विक भोजन सबैभन्दा श्रेष्ठ मानिन्छ । यस किसिमको खानाले शरीरलाई स्वस्थ्य राख्छ र  मनलाई पनि प्रशन्न राख्छ भनेर आयुर्वेदमा ब्याख्या गरिएको छ । तर चिकित्सकहरु भन्छन् स्वास्थ्य खाना खाएको छु भनेर मात्र हुँदैन, खाने समय र शैली मिल्नुपर्छ । 

खासगरी ठूलो भोजन दिउँसो सूर्यको तेज समयमा गर्दा क्यालोरी घट्ने हुँदा पाचन क्षमता बढ्छ र शरिरमा रक्त संचार राम्रोसँग हुन्छ । आयुर्वेदमा दिउँसो १२ बजेदेखि २ बजे सम्मको समयमा पाचन शक्ति बलियो हुने भएकाले मुख्य भोजनका लागि उपयुक्त मानिन्छ । आयुर्वेद अनुसार रातिको खाना ७ देखि ८ बजेभित्र गर्नुपर्छ । शुद्धीग्राम नेपालमा कार्यरत चिकित्सक लक्ष्मी मण्डलका अनुसार खाना खाने समय हरेक दिन एउटै हुनुपनि आवश्यक छ । आधुनिक पोषणशास्त्रले पनि शरीरको आन्तरिक घडी अनुसार भोजनको समय निर्धारण गर्दा मेटाबोलिक स्वास्थ्यमा सुधार आउँछ ।

आयुर्वेदले खानापछि सय पाइला हिँड्दा पाचन शक्ति र मेटाबोलिज्ममा मद्दत गर्छ । आधुनिक अध्ययनहरूले पनि खाना पछि १५ मिनेटको हिँडाइले रक्त संचारलाई राम्रो गर्ने  देखाएको छ । 

त्यसैले खाना खाँदाको तरिका र खानपिनलाई सही समय, प्रकार र मात्रामा नियन्त्रण गर्नु स्वास्थ्यको लागि अत्यन्त आवश्यक छ । सूर्यको शक्ति र शरीरको पाचन क्षमता अनुसार भोजन गर्नाले दीर्घकालीन लाभ मिल्छ । खानाको स्पष्ट समय सीमामा सेवन  विशेष गरी दिउँसो धेरै र राति हल्का भोजन गर्नाले शरीरको आन्तरिक घडीसँग तालमेल बन्छ, पाचन सुधार्छ र स्वास्थ्य प्रवद्र्धन हुन्छ । 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update