News 24 Television
विश्वकै पुरानोमध्येको एक नरदेवी आयुर्वेदिक अस्पतालः सरकारी वेवास्तामा 

काठमाडौं । नेपालमा आयुर्वेद उपचारको अभ्यास प्राचीनकालदेखि हुँदै आएको भए पनि पछिल्ला दशकमा सरकारी प्राथमिकता र जनशक्ति व्यवस्थापनमा कमी देखिएको छ । स्वास्थ्यको कुल बजेटको करिब १० प्रतिशत मात्र आयुर्वेदमा विनियोजन हुन्छ र ३० वर्षदेखि आयुर्वेदिक स्वास्थ्यकर्मी दरबन्दीमा कुनै वृद्धि भएको छैन ।  तर चुनौती र अभावकै बीच पनि पछिल्लो समय नरदेवी आयुर्वेदिक अस्पतालमा बिरामीको चाप र भरोसा दुइटै बढेको छ । 

काठमाडौँको नरदेवी आयुर्वेद अस्पताल पछिल्लो समय सेवामा सुधार र विस्तारसहित पुनर्जीवित बन्दै गएको छ । केही समय अगाडिसम्म सुनसान हुने अस्पतालमा अहिले २ सय ५० जनाभन्दा बढीले दैनिक ओपीडीमा आएर उपचार गराइरहेका छन् । दैनिक आयुर्वेद पद्धतिबाट क्षारसूत्र चिकित्सा अन्तर्गत दैनिक आयुर्वेद शल्य चिकित्सा सेवा दिइएको छ । 

पञ्चकर्म सेवा डिलक्स सुविधासहित स्तरोन्नति गरिएको छ ।  अकुपन्चर, जेरियाट्रिक केयर अल्जाइमर, पार्किन्सन, पक्षघात, फिजियोथेरापी, लगायतका सेवा लिने बिरामीको चाप बढेको छ । २१ प्रकारका आयुर्वेदिक औषधि निशुल्क बितरण पनि नरदेवी आयुर्वेदिक अस्पतालले गरिरहेको छ । अत्यन्त सुलभ मुल्यमा उपचार र निशुल्क आयुर्वेदिक औषधि पाएपछि नरदेबी पुग्ने आम सर्वसाधारण खुशी देखिन्छन् । सिमीत स्रोत साधन र चुनौतीबाट पनि नरदेबी आयुर्वेदिक अस्पतालले उल्लेख सेवा दिरहेको चिकित्सक बताउछन् । 

नेपालमा आयुर्वेद उपचारको धेरै पुरानो इतिहास भएपनी सरकारी प्राथमिकता र आयुर्वेदका जनशक्ति व्यवस्थापनमा सरकारी बेवास्ताले गर्दा बरिस्ठ आयुर्वेद शल्य चिकित्सक रमेश पौडेल आफै १२ बर्षदेखि आठौं तहमै छन् । ३० वर्षदेखि आयुर्वेद स्वास्थ्यकर्मी दरबन्दीमा सरकारको ध्यान गएको छैन ।

स्वास्थ्यको कुल बजेटको करिब १० प्रतिशत मात्र आयुर्वेदमा विनियोजन हुन्छ भने बाँकी सबै अन्य आधुनिक चिकित्सा मै जान्छ । तर देशका ८० प्रतिशत जनसंख्याको आयुर्वेदिक उपचारमा बिश्वास रहेको छ । 

अन्तर्राष्ट्रियस्तरमा पनि आयुर्वेदबाट हुने पञ्चकर्म, अकुपन्चर र जडीबुटी उपचारका अभ्यासहरू अमेरिका, जर्मनी, अष्ट्रेलिया, श्रीलङ्का लगायत मुलुकमा फैलिएका छन् । विभिन्न अनुसन्धानहरूले पञ्चकर्मले प्रतिरक्षा प्रणाली बलियो बनाउन, तनाव घटाउन र शरीरको विषाक्त पदार्थ सफा गर्न मद्दत गर्ने प्रमाणित गरेका छन् ।

वि.सं. १९७४ मा स्थापना भएको नरदेवी आयुर्वेदिक अस्पताल हाल ११८ शय्याको केन्द्रीय आयुर्वेदिक स्वास्थ्य संस्था हो । यहाँको जनरल वार्डमा १०० बेड र १८ विशेष कक्ष र  एउटा शल्यक्रिया कक्ष पनि सञ्चालनमा छ । 

छुट्टाछुट्टै रोगका बिरामी उपचार गर्ने यहाँ पनि सबै बिभागहरु छन् । संसारकै पुरानो स्वास्थ्य संस्थाहरुमा पर्ने नरदेबी आयुर्वेदिक अस्पताललाई थप  विस्तार गरि अनुसन्धानमा आधारित उपचार सेवा प्रदान गर्ने  हो भने नेपालमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि आयुर्वेद उपचारको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सकिन्छ । तर देशकै प्रतिष्ठा बोकेको यस अस्पताललाई सरकारले जति प्राथमिकता दिनु पर्ने हो त्यति नदिएको बिज्ञहरुको भनाई छ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update