
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । उनले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे । तिनीहरुलाई सबैले चिन्नुपर्ने र किन गरिरहेका छन् भन्ने बुझ्न जरुरी रहेको थापाकाे जिकिर छ ।
उनले भने, ‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ । आगो बलेको जस्तो भएको छ । जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौँ । त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन् । मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन् । दन्दनी बालिरहेका छन् । कसले गरिरहेको छ, किन गरिरहेको छ ? हामी तिनलाई चिन्छौँ, थाहा छ । कसले, कनि गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ । प्रश्न गर्नुपर्छ । असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रे औंला ठड्याएर हुँदैन । असन्तुटिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ । हाम्रो जिम्मेवारी हो । त्यो तागत हामी राख्छौँ ।’
महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताए । उनले नेपाली काँग्रेसभित्र शुद्धीकरण, जागरण चाहिएको पनि बताए ।