
रुपन्देही । आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनका लागि साना–ठूला सबै राजनीतिक दलहरुले तयारी तिव्र पारेका छन् । उपनिर्र्वाचन मिति घोषणा पछि कांग्रेस, एमाले, रास्वपा, राप्रपा, संयुक्त लोकतान्त्रिक मोर्चाले सभा सम्मेलन तथा मतदाता भेटघाट सहितका गतिविधिलाई बढवा दिएका हुन् ।
तर निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नै दर्ता नभएको भन्दै उपनिर्वाचनबाटै आउट गरिएपछि लोकतान्त्रिक मोर्चालाई नै धक्का पुगेको छ । के कसरी अघि बढ्दै छ त रुपन्देही ३ को चुनावी माहोल ?
कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा ठूला दल र गत निर्वाचन जितेको राप्रपाले प्रतिष्ठा बनाउँदै आएका छन् । केही स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नै सुरु गरिसकेका छन् । काँग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका मुख्य दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा छन् । पुराना राजनीतिक दलका लागि चुनौती बनिरहेको रास्वपा पनि उपनिर्वाचनमा केन्द्रित छ । उसले यस निर्वाचनलाई मिनी जनमत संग्रहका रुपमा हेर्न थालेको छ ।
निर्वाचनलाई लिएर सहरका मुख्य बजारमा चुनावी चर्चा र अड्कलबाजी भइरहेका छन् । रुपन्देही–३ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा जस्ता दल मात्र होइन, मधेशीवादी दलहरुको प्रभावसमेत राम्रो छ । यसअघि एमालेसँगको गठबन्धनमा राप्रपाका दीपक बोहोराले चुनाव जितेका थिए । उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
एमालेसँगको गठबन्धनमा जितेको राप्रपा आफ्नो विरासत जोगाउने प्रयासमा छ । रास्वपाकाले आफ्नो अधिकांश कार्यक्रम क्षेत्रमा केन्द्रित गरेको छ । राप्रपा र मधेशी मोर्चाले क्षेत्रमा क्षेत्रीय भेला गरिसकेका छन् । अधिकांश दलले आगामी २०८४ को आम निर्वाचनमा प्रभाव पार्ने उपनिर्वाचन भएकाले पपुलर उम्मेदवारको खोजी गरिरहेका छन् ।
तर अघिल्लो निर्वाचन जितेको राप्रपासँग मुख्य दल गठबन्धनमा जोडिने सम्भावना न्यून छ । त्यसैले आफ्नो विरासत जोगाउन राप्रपाको लागि चुनौतिपूर्ण छ ।
मधेसवादी दलहरुलाई धक्का
मधेसवादी दलहरुको प्रभाव राम्रै मानिएको यो क्षेत्रको उपचुनावमा साझा उम्मेदवार बनाउने कसरत उनीहरुले गरेका थिए । त्यही प्रयास स्वरुप लोसपा, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, लगायतका दलहरु सम्मिलित लोकतान्त्रिक मोर्चाले नाउपाको साझा उम्मेदवार बनाउने सहमति गर्दा जनमत पार्टीले सहमति जनाएन । उता निर्वाचन आयोगले पनि नाउपालाई दल दर्ता नै नभएको भन्दै उपचुनावबाटै आउट गरिदियो । निर्वाचन आयोगको निर्णयले नाउपालाई मात्र होइन, मधेसवादी दलहरुलाई नै झस्काइदिएको छ । यो अवस्थामा मोर्चाको नयाँ सहमति जुट्न बाँकी छ ।
दलहरु भेलादेखि मतदाता भेटघाटमा
यतिबेला उपनिर्वाचन केन्द्रित रहेर सबैजसो दलले क्षेत्रीय भेला, पार्टी प्रवेश, मतदाता भेटघाट तिव्र पारेका छन् । यस्तै, केही दलले मल अभावलाई एजेण्डा बनाएर धर्ना तथा विरोधका कार्यक्रम र ज्ञापन पत्र बुझाउने काम गरिरहेका छन् ।
घरघर र संघसंस्थाका आन्तरिक छलफलमा पनि उपनिर्वाचनको चर्चा हुने गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणको भुटानी शरणार्थीको मुद्दा किनारा नलागेको हुँदा पूर्वजिल्ला सभापति रामचन्द्र ढकाललाई उमेदवार बनाउने तयारी गरेको छ । यस्तै, एमालेबाट खिमलाल भट्टराई अहिलेसम्मका बलियो दावेदार छन् । यद्यपि एमालेबाट भट्टराईसँगै सिद्धार्थनगरका पूर्वमेयर हरिप्रसाद अधिकारी, शशी पौडेल र यज्ञजित शाहको नाम चर्चामा छ ।
रास्वपाले नौं जनाको प्रारम्भिक नाम सार्वजनिक गरेर उनीहरुबाटै एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार सन्तोष गिरी, भैरहवाका युवा अजयकुमार गुप्ता, बुटवलका लेखनाथ गैरे स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । सोहीअनुसार मतदाता भेटघाटलाई उनीहरुले अगाडि बढाएका छन् । स्वतन्त्र उम्मेदवारहरुले अहिले धमाधम क्षेत्रका समस्या उठान गर्दै मतदाता भेटघाट तीब्र पारेका छन् ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७ सय ६४ मतदाता छन् । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९ सम्म क्षेत्र फैलिएको छ । स्थानीय तहको परिणाम अनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ भने कांग्रेसपछि एमाले दोस्रोमा छ । तर, अघिल्लो स्थानीय तहको निर्वाचनपछि गठन भएको रास्वपा देखि नयाँ दलहरुको कारण मत परिणाममा उतार चढाव आउने सम्भावना बलियो छ ।