
काठमाडौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले अब नेपालमै उपलब्ध भएका जडिबुटीबाट केही रोगमा प्रयोग हुने औषधिको परिक्षण र बिकास गर्ने भएको छ । आयुर्वेदिक जनशक्तिलाई तालिम दिने र आयुर्वेदिक क्षेत्रमा अनुसन्धान र बिकास गर्ने जिम्मेवारी बोकेको आयुर्वेद अनुसन्धान केन्द्रले बजेट सिमित मात्रामा भएपनि स्वास्थ्य मन्त्रालयले आयुर्वेद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको कारण आयुर्वेदिक क्षेत्रबाट प्रत्यक्ष जनतालाई लाभ हुनेगरी कार्य योजना तयार पारेको जनाएको छ ।
चीन सरकारको आर्थिक सहयोगमा स्थापना भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आवश्यक उपकरण सहित आयुर्वेदिक अस्पताल पनि संचालनमा छ । अस्पतालमा अन्तरंग सेवा अन्तर्गत पञ्चकर्म, क्षारसुत्र, स्वस्थ्य सेवा, कौमारभृत्य, योग तथा फिजियोलोजी, टेलिमेडिसिन, एक्स रे, सिटी स्क्यान, निशुल्क औषधि बितरण लगायतका सेवा छ ।
यो बाहेक केन्द्रले आयुर्वेदमा अनुसन्धान र आयुर्वेदिक स्वास्थ्यकर्मीलाई तालिम दिने काम गर्छ । अब यो बर्ष आयुर्वेदिक औषधिमा क्लिनिकल परीक्षण र नेपालमै उपलब्ध जडिबुटीबाट औषधिको बिकास गर्ने लक्ष्य केन्द्रले लिएको छ ।
आयुर्वेदिक चिकित्सक र स्वास्थ्यकर्मीको तालिम अवधिलाई पनि प्रभावकारी ढंगले बढाउने र देशभरका आयुर्वेदिक चिकित्सालयहरुबाट प्रभावकारी सेवा प्रदान गर्नमा जोड दिने सरकारको योजना छ । तर आम मानिसलाई भने सरकारी आयुर्वेदिक अस्पतालको सेवाबारे जानकारी कम छ । त्यहीँ कारणपनि सुबिधा सम्पन्न यस्ता आयुर्वेदिक चिकित्सालयमा बिरामीको संख्या निकै कम देखिन्छ । तर पनि केन्द्रले यसबर्ष आयुर्वेदिक उपचार, अनुसन्धान र तालिममा सेवा प्रभावकारी बनाउने बताएको छ ।
सरकारले देशमा आयुर्वेद बिकासको योजना प्राथमिकताका साथ राखेपनि स्वास्थ्यको कुल बजेटको ३ देखि ४ प्रतिशत मात्र आयुर्वेदिक क्षेत्रमा आउँछ । यसले गर्दा द्रुत गतिमा आयुर्वेद चिकित्साको बिकास हुन नसकेको बिज्ञहरु बताउँछन् । यद्यपि राष्ट्रिय आयुर्वेदिक केन्द्रमा पनि निशुल्क आयुर्वेदिक औषधिहरु दिने फार्मेसी र अस्पतालको फार्मेसी छुट्टाछुट्टै संचालित छन् ।
आयुर्वेदिक सम्बन्धि औषधीहरु चिकित्सकको प्रेसक्रिप्सन अनुसार मात्र दिने गरिएको छ । कोरोना महामारीको बेला स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसमा आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण पनि यस केन्द्रबाट गरेको थियो । आयुर्वेदका स्वास्थ्यकर्मीको तालिम र आयुर्वेदिक अनुसन्धान बाहेक केन्द्रमा हाल शल्य चिकित्सा, स्त्री, प्रसुती सेवा अर्वुद्ध रोग उपचार, रेडियोलोजी, प्याथोलोजी, एक्स रे, सिटी स्क्यान ,डेन्टल लगायतका सेवा उपलब्ध छ ।