News 24 Television
आफूबाहेकलाई विश्वास नगर्ने प्रवृत्तिः ओली, प्रचण्डदेखि गगनको नालीबेली

काठमाडौं । राजनीतिक दलभित्र नैतिकता, निष्ठा र आदर्श खोजिन्छ । नेतृत्व निर्माणको सवाल पनि आफ्नै किसिमले विकास हुन्छ । तर, राजनीतिमा युवा हस्तक्षेपको विषय चर्को ढंगले उछाल्ने गरिन्छ । पार्टी नेतृत्वमा पुग्नेहरुले आफूलाई अविछिन्न राख्ने प्रयत्न गर्ने र युवाहरुले नेतृत्वमा पुग्नुको सट्टा शीर्षकै सराहनामा समय विताउने गरेको देखिन्छ ।

अझं नेताहरुले त आफूबाहेक अरुलाई विश्वास समेत गरेको देखिन्न । नेपालको राजनीतिमा अहिल चलिरहेको एउटा भाष्य छ, पुरानाले सखाप पार्न खोजे । नयाँलाई माथि उठ्नै नदिने प्रपञ्च गरिन्छ । तर, यसको लेखाजोखा भने खास अर्थमा भएको देखिन्न । यद्यपी शीर्ष नेताहरुका आफ्नै प्रवृत्ति छन् । उनीहरुले आफू नहुँदा देश नै बन्द हुने जस्तो सपना देखिरहेका छन् । आफूबाहेक अरुलाई विश्वास समेत गर्न सकिरहेको देखिन्न । आफू भए सबै ठिक, नभए भत्किहाल्ने ठान्ने प्रवृत्तिका कारण राजनीतिक दलहरुभित्रको उकुसमुकुस बढिरहेको छ । नेताहरुले दिने अभिव्यक्तिबाटै के थाहा हुन्छ भने– उनीहरु आफूबाहेकलाई विश्वास हतपति गर्न चाहन्नन् । 

ओली युवा पुस्ता तयार भए आफू नेतृत्व छाड्न तयार रहेको दाबी त गर्छन्, तर आफ्नै पार्टीभित्र आफूमाथि हुनसक्ने चुनौतिलाई जरैदेखि निमोठ्नमै सक्रिय छन् । यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आफू नभए सबै बिग्रिन्छ कि भन्ने ठान्ने गरेको सगर्व स्वीकार गर्छन् । पुस्तान्त्रणको मुद्दा जति चर्किएपनि नेताहरुमा आफू नेतृत्वबाट बाहिरिन नपाए हुन्थ्यो भन्ने डर मरिसकेको देखिन्न । यस्तो हुनुमा दलहरुकै भूमिका प्रवल देखिन्छ । नेताहरुले नेतृत्वमाथि प्रश्न कम, चाकडी धेरै गर्छन् । एमालेमा प्रश्न खास गर्ने गरिन्न । अध्यक्ष केपी ओलीको विकल्प नभएको घोषणा नै गरिन्छ । हुँदाहुँदा कांग्रेसको आन्तरिक विवादमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाको प्रसंसा गर्न थालिन्छ ।

राजनीतिमा चलिरहेको यस्तो कुरामा नयाँ पुरानाको भाष्यमा समेत चर्को टिप्पणी हुन थालेको छ । राजनीतिक आकार ग्रहण गर्न नसकेका साना दलहरुमाथि घोषपेच गर्नेक्रम पनि चलिरहेका छन् । 

नेतृत्वलाई उक्साउनेदेखि आफूले पद हत्याउने कुरा राजनीतिक रुपमा सक्रिय देखिन्छन् । नेपालमा युवामा चरम निराशा देखिन्छ । राजनीतिक प्रणालीले काम गर्न नसक्दा उठेका प्रश्नको निवारणमा समेत शंका चलिरहेको छ । यस्तोमा कांग्रेस महामन्त्री गगन थापाले अहिलेका शीर्ष नेताहरुले विश्राम लिन वित्तिकै सडकका आक्रोश हट्ने विश्वासमा रहेको देखिन्छन् ।

गगनमा पनि आफूबाहेक अरुलाई विश्वास गर्ने गरेको देखिन्न । यस्ता तमाम राजनीतिक गतिरोधका कारण मुलुक एकखाले संक्रमणमा फसेको छ । नेतृत्वको सवाल अविछिन्न जस्तो बन्न पुगेको छ । पार्टीका विधि विधानहरुमा छेडखानी सामान्य बन्ने र नेताले चाहेको बेला परिवर्तन हुनसक्ने स्थिति छ । यसरी राजनीतिक नेतृत्वमा देखिएको अहंकार र आफूबाहेक अन्यलाई विश्वास गर्नै नसक्ने वातावरणका कारण पनि राजनीतिमाथिका प्रश्न एकपछि अर्को गर्दे पेचिलो बनिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update